नौरङ्गी फुली (१०२ लधुकथ सरण राई





 
नौ
ङ्गी फुली 
(१०२ लधुकथा)



                     सरण राई 

मोबाइल नं.९८४२०५५२६२, 
                        धरान १९/१३९

कृति        ःनौरङ्गी फुली
विधा        ःलघुकथा
लघुकथाकार    ःसरण राई
( ९८४२०५५२६२, धरान)

आवरण    ः सरण राई
 सर्वाधिकार    ः © कथाकारमा




समर्पण


लक्ष्मी राई 

तिनीजस्तै अल्पायुमै दिवङ्गत भएकाहरूलाई

पीर, वेदना र दुःखमा झुल्सिरहेका जिउँदाहरूलाई...






नौरङ्गी

मानिस दुःखविहीन हुँदा सप्तरङ्गी रङ्गीन दुनियामा भुलिदो रैछ । सप्तरङ्ग त इन्द्रेनीका रङ्गहरू हुन् । अरू दुई रङ्ग ? नौरङ्गी डाँफे । डाँफेका रङ्गहरू हुन् भनि दिँदा हुन्छ । तर ति के कस्ता हुन्छन ?
सात रङ्गभन्दा अर्को दुई रङ्गहरू हुन्— असह्य शोक जब मानिसको जीवनमा घट्छ रङ्गविहीन अनुभूतिका साथ एउटा सून्य अनुभव हुन्छ । रोइरहेको आँखाले देखिने रङ्ग आठौं हो । नवौ रङ्ग अनेकौं दुःख दर्द कष्ट रिक्तता अभाव पीडा आघात सन्ताप यातना विछोड बियोगका असह्य परिस्थितिमा पनि मानिस बाँच्न चाहन्छ । त्यो जिजीविसाको अद्भुत रहस्यमयी अदृश्य रङ्ग नवौं हो ।
यसरी जीवन नौरङ्गी हुन्छ ।
र, नौरङ्गी जीवनमा सबथोक सब सब नौरङ्गी हुँदा रहेछन् !

विषयसूची
१.फुली
२.सानो घटना ः ठूलो प्रभाव
३.नौलो अनुभूति 
४.घर
५.ती दिनहरू
६.सुखका दिनहरू 
७.पिपल चौतारी
८.हतियारको शक्ति 
९.बेमज्जा 
१०.आँसु
११.अमर कल्पना 
१२.नक्कली बचाइ
१३.ममता
१४ं.अभिप्रेरणा
१५ं.अंशभाग
१६. आफ्नो आफ्नो अंशभाग
१७.अन्तिम निष्कर्ष     
१८.दृष्टि
१९.अन्तरचक्षु
२०.कुवा र हात्ती
२१.आत्मसमर्पण
२२.अलप
२३.काँडावाली
२४.अम्रिसो  
२५.गुण
२६.कुकुर 
२७.पाल्तु
२८.पशु र पूmल
२९.भोट र कटुस
३०.अजम्बरी माया 
३१ दोस्रो जीवन
३२.मुर्खता
३३. दुई मुर्खता
३४.अन्तिम दिन
३५.डङ्गुर 
३६.रूपान्तरण
३७.दुःखको मुहान 
३८.सहन
३९.भोको पेट
४०.इच्छा मरण
४१.व्यावसायिक ज्ञान 
४२.भल–बाढी
४३.शौख
४४.श्रद्धा
४५.शङ्काको पहरा
४६.व्यवस्थापन
४७.स्वर्ग
४८.नरपशु
४९.झट्का 
५०.अन्तिम थोपा
५१.सय वर्ष पछि धरान 
५२.व्यस्तता 
५३.बाकसमा किताब    
५४.सुनको औंठी
५५.हार
५६.आज पनि ब्युझेँछु 
५७.दुर्घटना 
५८.साक्षी 
५९.प्राप्ति 
६०.अवसान जीवनको
६१.साहित्यको गरिमा
६२.साथीभाइबहिनी
६३.पोखरी
६४.समयको साथ
६५.समकालिन बचाइ 
६६.मनोलोक 
६७.मिलिक्कै
६८.जुत्ता र जुत्ताहरू
६९.सम्भव÷असम्भव
७०.अमूर्त प्रतीक्षा
७१.सन्तोषप्रद अन्त्य
७२.नमस्ते सम्मान
७३.सुनको पखेटा
७४.चिन्ताको भुँमरी
७५.रोपेको फल
७६.सार्थक÷निरर्थक
७७.परोपकार
७८.मतियार
७९.बाँच्नुको आनन्द
८०.हातेमालो
८१.चुलबुले मन
८२.अवस्थिति 
८३. आनन्दानुभूति
८४.अनमोल मुस्कान
८५.धोको
८६.मन बुढो हुँदैन
८७.सपनासँगसँगै भत्किरहने पलपल
८८.बहकिने पापी मन
८९.विलयन
९०.कालकोठरी
९१.भेन्टिलेटर
९२.क्षण क्षणको जीवन
९३.साथ सहकार्य
९४.मेरो वर्तमान
९५.कस्तो सन्देश ?
९६.सुनसान सृष्टि
९७.जीवन
९८.सुन्दर जीवनहरूका ताँती
९९.सफा धरती
१००.छ्याके
१०१. युगको अप्रिय हार.
१०२ सबैलाई समान छहारी
















१.
फुली


लकरमा राखेको गहनाहरू मध्ये फुली देखेर मुटु चसक्क दुख्छ ।
फुली मेरी पत्नीको नाकमा जीवनभरि रहेको थियो । मैले विवाह गर्नु अगाडि, विवाह पछि पनि र जीवनको अन्तिम कालसम्म पनि ।
अरू गहनाहरू कहिले धितो राखियो । सारो गारो टारियो । कति गहनाहरू सावा ब्याज तिर्न नसकेर पच पनि भयो । तर फुली सदैव तिनको नाकमा नै रह्यो ।
सिकिस्त बिरामी हुँदा आइ.सी.यु.मा नाकको फुली नभएको प्वालबाट इरिगेसन पाइप छिराएर खाना खुवाएर राखियो । बेहोसीकै हालतमा पाइप थुतेर तिनले फालिन् । त्यो समयमा फुली झिकेर इरिगेसन पाइप राख्न खोज्दा पनि फुली झिक्न सकिएन । र, मृत्युपर्यन्त फुली सदैव तिनको नाकमा नै रह्यो ।
मैले त्यो फुलीको सट्टा ‘हिराको फुली बनाइदिन्छु’ पनि भनेको थिएँ । तर बनाएर दिन सकिनँ । तिनले पनि कहिल्यै मागिनन् । र, त्यो फुली सदैव तिनको नाकमा नै रहिरह्यो ।
फुली ! नाकमा फुलीजस्तै म र तिनी एकाकार भएका थियौँ । मलाई तिनी छोड्न चाहन्नथिन् । म पनि तिनलाई छोड्न । तर छुट्टिन प¥यो ...
मृत्युपश्च्यात त्यो फुली सजिलै नाकबाट निकालियो । अहिले पनि त्यो फुली... तिनी र तिनको प्रतिविम्ब भएर उभिएको देख्दा–सम्झदा गह भरिएर आउँछ । मुटु चसक्क दुख्छ ।
तर.. फुलीजस्तै अन्तिममा सब चिज छोडेर जानु पर्ने रहेछ । सब छोडेर तिनी गइन्, मात्र सम्झना छोडेर ...। त्यो सम्झना ताजा गराइरहने सानो फुली ..!
२०७६जेठ १४, धरान

२ 
सानो घटना ः ठूलो प्रभाव

 
बैंकको पैसा लिने लाइनमा उभिरहेको छु । दुईजना सुन्दरी युवतीहरू मेरै पछाडि उभिएका छन् । खासखुस कुराकानी गर्छन् । मलाई नै केही भनेका हुन् कि भनेर सोध्छु— “के भन्नु भयो ?”
तिनले भनेको नबुझेर फेरि सोध्छु । कानछेउमै मुख ल्याएर सुन्दरी केटी सुस्तरी भन्छिन्— “स्वीटरको प्याटर्न नमुना हेर भनेर साथीलाई भनेको ।”
मैले मेरो दिवङ्गत पत्नीले हातले बुनेकी स्वीटर लगाएको छु । बुट्टा सुन्दर छन् । मेरो मन हर्षले गद्गद हुन्छ, गौरवानुभूति गर्छु पत्नीको सिपप्रति ।
तर अकस्मात मन हुडलिएर आउँछ स्वीटर बुन्ने पत्नी कहाँ छिन् र... पत्नीलाई बचाउन सबथोक गरेँ । आयु तिनको वशमा थिएन, छोडेर गइन् । माया तिनको वशमा थियो, दिएर गइन् । मायाले मिहिनत साथ तिनले बुनेकी स्वीटर अहिले पनि लगाईरहेको छु ।
तिनलाई बाँच्ने कति मन थियो तर मरीन् । भर्खरै १० कक्षामा पढ्दै गरेको १६वर्षका भतिजोले झु्ण्डिएर आत्महत्या गरेको सम्झदा मन एक तमासको भएर आउँछ । कसैलाई आयु धेर, कसैलाई केही दिन बाँच्न पाए...
सम्झन्छु सानो पीरले त मानिसले आत्महत्या रोज्दैन । म पो जीवनभर अनेकौं दुःख कष्ट भोगेर परिपक्व भएको छु । साना ठूला पीर पचाउन सक्ने भएर पनि कुनैकुनै पीर सहन मलाई पनि कति गाह्रो हुन्छ । टिनेजर, सानै पीर ठूलो लाग्यो होला ।
पीर... पीर ! आँखा टिलपिल हुन्छ तर सार्वजनिक स्थलमा आँसु झार्न भएन ।
२०७७ माघ २४

३.
नौलो अनुभूति


मोबाइलमा गेम खेलिरहेको दानवीरले पछाडी उभिएर चाख मानेर हेरिरहेको रहरबहादुरलाई “यो मोबाइल दिन्छु, लैजाउ ।” भनेर मोबाइल दियो ।
मोबाइल पाएर अत्यन्त खुसि हुँदै आठवर्षे रहरबहादुर घर गयो । आमालाई नदेखाई सिरानीमुनि लुकाएर राख्यो । रहरबहादुर बिउझ्यो । सपनामा देखेको मोबाइल सिरानी पल्टाएर खोज्यो । केको मोबाइल हुनु ?
कुनै कुनै सपनाहरु बिपनामा समेत झुक्याउने किसिमका हुँदा रहेछन्  । रहरबहादुरलाई नौलो अनुभव अनुभूति भयो ।


मदुस — लघुकथा सङ्ग्रह, सम्पादक खेमराज पोखरेल, प्रकाशक– स्वदेश प्रकाशन प्रा.लि., बागबजार, काठमाडौंं २०७६ 



४.
घर

भव्य कार्यक्रममा सहभागी भएर मनमा प्रसन्नताको कुम्लो बोकेर अबेला साँझमा फर्किरहेको छु । प्रसन्नताको कुम्लो कसलाई दिने बुझाउने ?
मनमै गुम्सिएर डुसी परेर तुहुने भयो !
४१वर्षको बानी, घरले तान्ने । हतार हतार घर फर्कने । तर अब घर पुगेर दिनभरको सुखदःुख बिसाउने लिने थाम्ने पत्नी छैन । एकल जीवन...
घर पुग्न हतारिएको खुट्टा अनायास लर्बरिन्छ । मनभित्र के के भुक्लुक्क उम्लिन खोज्छ । स्वर्गवासी पत्नीको चाहना “म सदैव सुखी र प्रसन्न होउन् र रहुन् ।” भन्ने थियो । त्ससैलाई म जति दिन बाँच्छु, कार्यान्वयन गर्छु भनेर नयाँ लुगा लगाएर चिटिक्क परेर प्रसन्न र खुसी देखिने प्रयासको थालनी गर्ने अठोट बोकेर बिहानै हिँडेको थिएँ । दिनभर मानिसहरूको माझमा खुसी र प्रसन्न पनि देखिएँ ।
तर अहिले घर जान मन लाग्दैन । पत्नी नभएको तर तिनको सम्झनाले पोतिएको घर ...
खुट्टा र मन लर्बरिन्छ कता जाऊ ? जता गए पनि घर नभएको मानिस ...
हो, कि के हो ? जीवन साथी नभए पछि घर पनि घर हुँदैन कि !
२०७६।६।१२, धरान



५.
ती दिनहरू

बुढासुब्बा मन्दिरमा पुग्नासाथ पुराना सम्झनाहरू एकाआपसमा तँछाडमछाड गर्दै अटेसमटेस ओइरिन थाल्छ ।
त्यतिबेला म बसेको घर छेउमा बुढासुब्बा मन्दिरका पुजारीको घर थियो । बुढासुब्बामा पुजा गरेर पुजारीको भागमा परेको कुखुराको टाउको २५पैसा गोटा पाइन्थ्यो । खुब खाइयो ।
त्यतिबेला साइकल पूरा दिनभरिको दुइ रुपियाँ भाडामा पाइन्थ्यो । एकजना साथी र मैले एक एक रुपिया मिलाएर दिनभरको लागि साइकल बुढासुब्बा मन्दिर अगाडि रहेको सानो चौरीमा दिनभर सिक्यौँ । दिनभर साइकल चढ्न सिक्दा हामी दुवैको हातखुट्टा भरि चोटैचोट लागेको भए पनि साइकल चढ्न सिकेका थियौँ । त्यो कुखुरे वैंश ताकाको कुरा थियो । ती दिनहरू सुखद थिए । सम्झदा आनन्द लाग्छ ।
बिहे गरेपछि म, पत्नी लक्ष्मी र बाजे ससुरा बुढासुब्बा मन्दिर गएका थियौँ । बाजे ससुराले ‘यहाँ त प्रसादको रूपमा रक्सी खानु पर्छ’ भने । बिहानै कसरी खानु ? दोधारमा परेर पत्नीतर्फ हेरेको थिएँ । आँखाकै इशारामा तिनले सहमति दिएपछि बाजे ससुरा र मैले एक बोटल खोयाबिर्के बिहानै बजाएका थियौँ ।
पत्नीको देहान्त भइसकेपछि पनि म बाँचुन्जेल बिर्सन नसकिने ती दिनहरू .. । म बाजे ससुरा र म त्यतिबेला बसेको स्थानमा बस्न पुग्छु । अनायास त्यतिबेला तिनी बसेको ठाउँतिर हेर्न पुग्छु । रित्तो ... !
अत्यन्त रमणीय विलुप्त ती दिनहरू...
ब्लाष्ट टाइम्स  दैनिक पत्रिका, वर्ष २५, अङ्क १०  (२०७६ असोज ११ गते शनिबार)
६.
सुखका दिनहरू

दिनभर काम गरेर लखतरान भई घर आउँदा पत्नीले पर्खिरहेकि हुन्थिन् । जेजस्तो हुन्थ्यो भएको खानेकुरा मृदु मुस्कानसाथ खान दिन्थिन् । खाजाभन्दा मुस्कान मीठो लाग्थ्यो । सोध्थिन्— दिन कसरी बित्यो ?
आफूले दिनभर बेहोरेको दिनचर्या सुनाउदा सन्तोषको अनुभूति हुन्थ्यो । मेरो सुखदुःख बारे चिन्ता लिने उनी छिन् ।
आमा बुबा, बहिनी, साना छोराछोरीहरू सहित एउटा ठूलो परिवार । केटाकेटी बढ्दै पढ्दै जाँदा खर्च बढ्ने नै भयो । कोही बिरामी भए भने त झन् खर्चले डाँडो काट्ने नै भयो । अझ पाहुना नटुटेको दिन हँुदैनथ्यो त्यति बेला ।
पाहुनालाइ मासुभात खुवाउने चलन साँझमा थप रक्सी । थोरै आम्दानीले धान्न नसकेर रीन काढेर इज्जत धानिरहेका थियौँ ।
दशैं तिहार चाडपर्व कहिल्यै भनेजस्तो लुगाफाटो परिवारलाई हाल्न सकिएन । चित्त बुझ्दो गरि कहिल्यै खर्च गर्न पाइएन । दुखैमा दिनहरू काटियो ।
सुखका दिनहरू कहिले आउला भन्दै प्रतीक्षा गरिरहेका थियौँ ।
आजभोलि आजभोलि गर्दै तिनीसँगको मेरो दाम्पत्य जीवनका ४१ वर्ष बितेको पत्तै भएन । ६६वर्षको अल्पायुमा मलाई छाडेर तिनको देहान्त हुँदा म ७१ वर्षको थिएँ ।
अब त सुखका दिनहरू आउने कुरै रहेन ।
हामी जुन दिनहरूलाई दुःखका सम्झन्छौँ तर ती दिनहरू कालान्तरमा सुखका दिनहरू सावित हुँदा रहेछन् ।
अहिले मलाई थाहा भएको छ तिनीसँग मैले बिताएका ती दुःखका दिनहरू नै मेरा सबैभन्दा बढि सुखका दिनहरू थिए ।
२०७६।४।१४, धरान
७.
पिपल चौतारी


आफू जन्मेको गाउँघर पुग्न पनि निकैसमयपछि मात्र सम्भव भयो । पहिला सडक गाडि थिएन । कहि कतै जानू प¥यो भने हिड्नु बाहेक अरु उपाय थिएन ।
अहिले गाउँघर पनि सडक र गाडि पुगेकोले गाडिबाटै गाउँ पुगियो । गाउँघरले पनि काँचुली फेरेछ । सबै केटाकेटीको हातमा मोबाइल, आधुनिक बन्दै सबैजना । विदेशमा सबै घरका मान्छे गएका । झन्डै झन्डै गाउँघर युवाविहीन ।
आफूले बाल्य र युवाकालमा घाँसदाउरा गाइवस्तु चराउदा र कतै अरु ठाउँ घुमेर आउदा उकालीमा थाकेर बिसाएको पिपल चौतारी हेर्ने इच्छाले त्यहाँ पुग्छु ।
ठाउँ त उहीँ हो । खोइ त्यो पहिलाको रौनकता ? बाटो बनेपछि कोही त्यहाँ पुग्दैनन् । कोही बिसाउने हिड्ने नहुँदा त्यो चौतारी घाँस र झाडि उम्रेर निर्जन बनेछ । वर पिपलको शितल छहारी छ तर बस्ने कुनै यात्री हुँदैन रहेछ । उजाड र सुनसान ।
अकस्मात मभित्र पनि त्यो देखेर उजाड सुनसान खल्लोपन व्यप्त हुन्छ । यो चौतारीमा सँगसँगै बसेर गफ गरेका, सुसेली लगाएर बतास बोलाएका दौतेरी साथीभाइबहिनीहरू छैनन् । म पनि यस्तो सुन्दर गाउँभन्दा टाढा बस्न पुगेको छु । दौतेरी साइली छैन । कति फस्र्याइली थिई, घन्टौ यहाँ लोकगीत गाएर अनेकौ कुरा गरेर बसेको सम्झनाले अनायास तिनको सम्झनामा आँसु खस्छ ।

मुन्धुम  (मासिक)पूर्णाङ्क १७८ (माघ, २०७६)
८.
हतियारको शक्ति

हामी दुईजना लोग्ने स्वास्नी मात्रै त्यो बिरानो सहरमा भाडामा बसेका थियौँ । दिनभर हामी काममा कोठा बाहिर नै हुन्थ्यौँ ।
एक दिन म नभएको बेला भान्साबाट चामल, दाल तरकारी घरबेटिको बुहारीले चोरेको भेटेर पत्नीले बुहारीलाई कुटेछिन् । बेलुकि म आएपछि तिनले सो कुरा भनिन् “सधैं दाल चामल चोर्ने बुहारीलाई कुटि दिएँ । उसको ससुराले त ठीक गर्नुभयो चोर्नीलाई भने ।”
घरबेटीको छोरो बिग्रेको र बेरोजगार भएकोले छोराबुहारीलाई बेग्लै एउटा कोठा दिएर छुट्टयाइएको थियो । बुहारी त्यही भएर चामल दाल तरकारी चोर्नुपर्ने बाध्यकारी अवस्थामा परेकी थिई ।
त्यो कुरा सुनेर मलाई त्यो बिरानो सहरमा कतै घरबेटिको छोराले राति हुल ल्याएर हामीलाई आक्रमण गर्ने हो कि ! डर लाग्यो । यदि त्यस्तो भयोभने ...
खुकुरी ! सम्झे मेरो नयाँ खुकुरी । छेउमा त्यो खुकुरी राखेर सोचेँ— “आजसम्म कसैको कुटाई खाइएको छैन । मेरो पत्नीलाई मेरै अगाडि म असुरक्षित हुन दिन्नँ । जस्तै हुल हुल्याहाहरू ल्याए आए पनि हामीलाई आक्रमण गर्न खोजे त्यो धारिलो खुकुरीले छप्काई दिने छु ।”
पत्नीलाई भनेँ— “डर मान्नु पर्दैन । म छु । यदि आक्रमण गरेभने म यहि खुकुरीले ...”
हतियारले दिने विश्वास र तागत मैले त्यतिबेला थाहा पाएँ । प्रतिरक्षाका लागि पनि हतियार आवश्यक रहेछ ।            औजार  दैनिक, २०७६ पौष  २६, शनिबार

बेमज्जा

बैशाख अन्तिमतिर बिरामी पत्नीलाई उपचारको लागि काठमाडौं लगियो । उपचार गर्दागर्दै झन्झन् सिकिस्त हुँदै गइन् । बैशाख महिनामा गएकोले जाडोमा लगाउने ज्याकेट स्वेटर एक दुइ वटा मात्र बोकियो ।
निको होला भन्दाभन्दै गर्दा मङ्सिर लाग्यो । अस्पतालमा नै भर्ती गर्नु प¥यो ।
जाडो सुरु हुन थाल्यो । घरमा दराजमा तिनलाई भाइले दिएको मन परेको ज्याकेट थन्क्याएर राखेका थियौँ । दराजको चाबी मैसित थियो ।
सिकिस्त बिरामी तिनलाई छोडेर ज्याकेट, कोट, स्वेटर लिन घर जाने कुरै भएन ।
मन परेको ज्याकेट ओड्ने तिनको चाहना थियो । मान्छे एकातिर ज्याकेट अर्कातिर ! भान्जीले नयाँ ज्याकेट किनी दिइन् तिनको ज्याकेटको गुनासो सुनेर । नयाँ ज्याकेट मन पराइन् तर उठनै नसक्ने बिरामी । बसाएर ज्याकेट ओढायौँ । फुकाएर सिरानीमा सधै राख्थिन् । निको भएर ओढौला भन्ने रहर थियो ।
अकस्मात तिनी गइन् । न घरमा छोडेको मन परेको ज्याकेट, न भान्जीले किनी दिएको नयाँ ज्याकेट ओढ्न पाइन् !
तिनी त गइहालिन् तर त्यो ज्याकेटको कुरा सम्झदा अझै मलाई बेमज्जा लागि रहन्छ !
जीवन यस्तै बेमज्जाले भरिएको हुँदो रहेछ कि !
२०७६ माघ १९, धरान
 १०.
आँसु


तन्ना र सिरानीको खोल फेर्दा म दिवङ्गत पत्नीलाई सम्झन्छु । मन कस्तोकस्तो हुन्छ ।
बिद्यार्थी हुँदा स्टोबमा खाना पकाउनु, लुगा धुनु, कोठा सफासुग्धर गर्नु र आफ्नो बिस्तारा मिलाउने काम सबै गरिन्थ्यो ।
विवाहित भएपछि ४१वर्ष  यी सबै केही गर्नु परेन । पत्नीको देहावसानपछिभने फेरि यीमध्ये केही काम गर्नु पर्ने बाध्यकारी अवस्था  आएको छ । आत्मनिर्भर  हुन मन पराउने म आफ्ना सानामसिना काम आफै गर्छु । साढे तीन वर्षको एकल जीवनमा बानी पनि भईसकेको छु । तर यी कामहरू गर्दा नसम्झौँ भन्दा पनि तिनको सम्झना आईहाल्छ । कहिले काहीँ त आँसु आई नै हाल्छ ।
आँसु कसको लागि आएको हो ?  मरेकालाई केही चाहिँदैन । मरिसकेकाको केही हुँदैन । मरिसकेकीको लागि नभएर आँसु म आफ्नै  लागि पो चुहाईरहेको छु कि ! तिनी भएकी भए मेरो सेवा सुश्रुषा गर्थिन् !  म ठाँटसित आराम जिन्दगी  बिताईरहेको हुन्थेँ ।
एकान्तमा मेरो आँखाबाट अनायास चुहुने आँसु दिवङ्गत पत्नीको लागि हो कि  मेरो आफ्नै लागि हो ? बेला कुबेलाको आँसु कसका लागि हो ? केका लागि र किन हो ?

११
अमर कल्पना

‘यी साना छोराछोरी यत्रै रहिरहुन् र यीनीहरूसँग सदैव यसरी नै खेलिरहन पाउँ । हामी पति पत्नी पनि यत्तिकै जवान र सुन्दर रहिरहौँ र हाम्रो प्रेम र परिवार सदैैव यस्तै सुखी र आनन्दित रहिरहोस् ।’ हामीले चाहेका थियौँ ।
....
चिटिक्क सानो घर, वरिपरी सुन्दर फूलबारी, चराहरूको चिरबीर, पुतलीहरू उडिरहेका । कति आनन्ददायक दिनचर्या, अत्यन्त प्रसन्न हामी चार जनाको सानो सुखी परिवार !
कहिलेकाहिँ हामी घुम्न जान्छौँ । साथीभाइ आफन्तहरू भेटेर सुख दुःखका कुराकानी गरेर आनन्दित हुन्छौँ । प्रायजसो घरमै बसेर नानीहरूसँग खेल्दै, टि.भि. हेर्दै अनि संसारभरिका खबर सुन्दै मानव जातिले गरेको उन्नतिबारे टिप्पणी गर्दै दिन बिताउछौँ । नानीहरू निधाएपछि हामी पति पत्नी झन् रमाइलो साथ रात बिताउछौँ ।
कैयौं दिन त्यत्तिकै बित्छ । हामी गाउँघर घुम्न निस्केका हुन्छौँ । हाम्रा समकालिन कोही भेटिदैनन् । उनीहरूका बारे सोधखोज गर्दा थाहा हुन्छ उनीहरू सबैको देहावसान भइसकेको रहेछ । उनीहरूका सन्तानहरूले हामीलाई चिन्दैनन् ।
आवश्यक सामानहरू इन्टरनेटमार्फत अर्डर गरेपछि घरैमा आइहाल्छ । कतै गएर किनमेल गर्नु परेन, हाइसन्चो जमाना । फुर्सदै फुर्सद ! हेर्दाहेर्दै हाम्रो घर कम्पाउण्ड भन्दा बाहिरका बिरूवा रूखहरू बढे, ठूलो भए र बुढो भएर मरे । नयाँ बिरूवाहरू हुर्कदै छन् । तर हाम्रो कम्पाउण्डभित्रको बोटबिरूवा पूmल पात भने जस्ताका तस्तै रहिरहेका छन् । हाम्रो कम्पाउण्डभित्र मौसम सधै एकनासको रहन्छ ।
हाम्रा समकालिनका सन्तानका सन्तानहरू पनि जन्मेर मरिसके । तर हाम्रो परिवार भने जस्ताको तस्तै । म तन्नेरीको तन्नेरी नै । मेरो पत्नी पनि तरूनीको तरुनी नै । हाम्रा छोरा छोरी उत्राका उत्रै । घटबढ छैन । कति सय वर्ष बितिसकेछ, हामीलाइ ती वर्षहरूले छोएकै छैन । सधैं हाम्रो एकै प्रकारको दिनचर्या !
म फूल सुँघ्छु, बास्ना छैन । पत्नी केटाकेटीसँगको प्रेममाया उत्तिको उत्तिकै घटबढ छैन । हामी परिवार सबैको रूप आकार सौन्दर्य उस्ताको उस्तै, घटबढ छैन । दाम्पत्य प्रेममा पनि घटबढ केही छैन ।
‘यो के भएको ? सधैं उस्तै ...’
पत्नी अचम्म मान्दै मलाई सोध्छिन् ।
मैले यस्तै चाहेको थिएँ र मेरो चाहना पूरा भएको छ ।
आ ...यस्तो एकरसको जीवन !
...
(म यो कथा कल्पनामै बाँचेकी तिनलाई सुनाउँछु । ‘यस्तो पनि हुन्छ र ?’... सोध्छिन् ।
‘कल्पनामा जे पनि हुन्छ ।’ भन्छु ।

मैले मेरो पत्नीको देहान्तले पोलेको मन बुझाउन यस्तो कथा कल्पेको हुँ । हामी पतिपत्नी सधैं तन्नेरी तरूनी भएर बाँचेको कल्पना मेरो व्यथित मनले गरेको थियो र कल्पनामा नै हामीले सयौं वर्ष दाम्पत्य सुखभोग गरेको कल्पना... 
साँच्चै यस्तो भयो भने श्रृष्टिको क्रमिकता नै रोकिने रहेछ । जीवनको नियम ! )
२०७६।८।१६, धरान
१२.
नक्कली बचाइ


प्रौढावस्थाको आगमनसँगै असली चिजहरूले छोड्दो रहेछ ।
आँखा कम देखिने भएपछि चस्मा, कान कम सुनिने भएपछि नचाहँदा नचाहँदै पनि इयर फोन, असली दाँतले छाडेपछि नक्कली दाँत आदि आदि ... बाँच्नका लागि नक्कलीहरूको सहारा बुढेसकालको बाध्यता रहेछ ।
साच्चैको सक्कली जीवन त पत्नीको देहावसान पछि नै सकिएको हो । एकल जीवन ! साथ दिने, सँगै हाँस्ने रूने बाँच्ने कोही छैन । एक्लैएक्लै बाँच्नुपर्ने ! हाँस्न त सकिदैन नै, एक्लै रुनुपर्ने ।
भएतापनि जीवनको ‘फिनीसिङ टच’ बिट मार्नका लागि बाँच्नु पर्ने ।
बाँच्ने क्रममा साथीभाइसँग मिसिनै पर्याे । एक्लै बाँच्ने कुरा भएन ।
हाँस्न बिर्सिसकेको उसले साथीको छाडा जोक “कहिल्यै हात्ती नदेखेको मान्छेले हात्ती पहिलो पल्ट देखेर चारवटा खुट्टा, पुच्छर, सुढ र मत्ता हात्तीको लिङ्ग समेत गनेर ‘हात्तीको सातवटा खुट्टा हुँदोरहेछ’ भनेछ ।’’
सबै हाँस्छन् । ऊ पनि हाँस्छ थाहै नपाई । हाँसे पछि सोच्छ ‘यसरी त मेरी पत्नीसँग पो हाँस्थे ।’ स्वर्गीय पत्नीको सम्झनाले आँसु चुहुन्छ ।
अरूहरू सोच्छन् उसको हाँसोको आँसु ।
‘पत्नी नभएपछि हाँस्न पनि बिर्सेको रहेछु ।’ ऊ सोच्छ— यो कस्तो फोकटिया नक्कली बचाइ !
निमेषमै फोकटिया नक्कली हँसाइ रोदनमा परिणत हुन्छ । हिक्का छोडेर ऊ रुन थाल्छ !
२०७६ पौष २८, धरान
१३.
ममता

१२ वर्षको माइला छोराले भात खान छाडेको पनि डेढ महिना भइसक्यो । हामी आमा बाबुले अनेक युक्ति, धामीझाक्रीबाट उल्टि काट्ने, फकाएर फुलाएर खुवाउने अनेक उपायहरू ग¥यो । केहि लागेन ।
“यसरी भात नखाने हो भने कसरी बाँच्छ ? सधैं जङ्क फुडले कति थाम्छ ? राम्ररी फकाएर सोधौँ !’’
माइला छोरालाई सोध्छौँ फकाउछाँै । केही भन्दैन । अन्तमा छोराभन्दा ठूलो हाम्रा लागि के हुन्छ र !
“भात खान्छस् भने तलाई साइकल किन्दिन्छौँ ।’’ आमा भन्छिन् ।
ऊ खुसी देखिन्छ ।
“पक्का बाचा गर् ।’’
“हुन्छ’’ भन्छ ।
जहिले पनि पैसाको अभाव । बजार लाँदा केही मन परेको सामान देख्यो कि ‘किन्दिनु’ भनेर लडिबुढि गथ्र्यो । किन्दिनै पथ्र्यो । पैसा नहुँदा लाजैमर्दाे पाथ्र्यो । पैसा नहुँदा केहि माग्दैनस् भने मात्र लान्छौँ भनेर वाचा गराए पछि उत्रै उत्रै तीन जना छोराहरूलाई बजार घुमाउन लान्थ्यौँ । वाचा गरे पछि आफ्नो वाचा पूरा गथ्र्याे । केही माग्दैनथ्यो ।
जिन्दगीमा जहिल्यै पैसाको अभाव । पैसा कतैबाट आउने सम्भावना थिएन । बल्ल छोराले ‘साइकल किन्दिए भात खान्छु’ भनेको छ । आमाको माया ! आखिर आमाले “छोराभन्दा गहना ठूलो होइन । मेरो सुनको गहना धितो राखौँ ।’’ भनि ।
धितो राखेर आएको पैसा लिएर भोलिपल्ट नै छोरालाई साथ लिएर जोगबनी गयौँ र ‘बेबी साइकल’ किन्यौँ ।
२०७६ पौष ४, धरान

१४
अभिप्रेरणा

कुनै खोलाको छेउमा रहेको धारामा पानी पिउन खोज्छु   । टुटि बन्द छ, खोल्छु केही बेर पछि थोरै आउँछ । परतिर सिडीमा एकजना महिला लुगा धोईरहेकी हुन्छिन् । धाराबाट यथेष्ठ पानी नआउनाले नै तिनी सिडीछेउ सायद पानी भएकोले त्यता लुगा धोईरहेकी होलिन,् सोच्छु । धारामुनिको स्थानमा पानी जमेको हुँदा जुत्ता भिज्ला भनेर प्यास पूरा नमेटिएको भए पनि घरमै गएर मेटौला सम्झदै ढुङ्गै ढुङ्गाको उकालो सिडी चढ्न थाल्छु ।
अलिकति उकालो चढे पछि स्कुल हो कि निकै मानिसहरूको जमघट थियो । एकजना चिनेकै भाइ पैसा गन्दै थियो । चन्दा उठाएको होला । पत्रिकाको बण्डल देखेपछि थाहा भयो, पत्रिका बेचेको पैसा गनेको रहेछ । पत्रिका मलाई पनि पढ्न मन लागिरहेको थियो । “पत्रिका लिनोस्” भनेर मेरो पछिपछि आईरहेकी मेरी पत्नीलाई उसले पत्रिका दिन्छ । पत्नीसित पैसा छ, छैन सोचेर म पाँच रूपियाको नोट भाईलाई दिन्छु ।
उकालो सिडी हामी (पत्नी र म) चढ्न थाल्छौँ । एउटा अग्लो डिल आउछ, म तिनलाई कम्बरमा समातेर उचाल्दै डिल उक्लन मदत गर्छु । तिनी अलिकति मुस्कुराउछिन् ।
सम्झिरहेको हुन्छु— सिकिस्त बिरामी पत्नी निको हुने रहिछिन् र यो उकालो सजिलै चढ्न सकिन् । म खुसी भईरहेको हुन्छु ।
“भरै कता घुम्न जानू ?”
झल्यास्स ब्युझन्छु । बिहानीपख सपना देखिरहेको रहेछु । आज पनि तिनलाई सपनामा देखेकोमा म प्रसन्न हुन्छु । पत्नीको देहावशान पछि जबजब म एकल जीवनमा हतोत्साहित हुन्छु ,सपनामा तिनलाई देख्छु । यसरी सपनामै भए पनि तिनलाई देख्दा यो मलाई दुःख सुखमा तिनको साथ हो भन्ने सम्झेर केही दिन बाँचेर जीवनको अन्तिम फिनिसिङ टच दिन अभिप्रेरित हुन्छु ।
अहो, दिन कति चाडो बित्दोरहेछ, तिनको मृत्युु भएको पनि आज एक वर्ष तीन महिना पन्द्र दिन भईसकेछ !
मेरै छेउमा तिनी बसिरहेकीझैँ भन्छु— “अरु सबैले बिर्से पनि म कसरी तिमीलाई बिर्सन सक्छु ! तिमी छैनौ तापनि बाँच्न अभिप्रेरित गरिरहेकी छ्यौ !”
 चैत १० मंगलबार, धरान
१५.
अंशभाग


दार्जिलिङको प्रशिद्ध साहित्यकार ८५वर्षिय पति र ८१ वर्षिया पत्नीको प्रेमिल युगल जोडिलाई देख्दा हामी दम्पति पनि त्यो उमेरसम्म बाँच्न पाए हुन्थ्यो भनेर कल्पिएका थियौँ ।
नभन्दै समयक्रममा ६९ वर्षिय म हेमोडायलाइसिस गरिरहनु पर्ने ६४ वर्षिय पत्नीलाई बारम्बार अस्पताल लगेर कुरुवा भई स्याहारीरहेको छु । यस्तो आफ्नो अंशभागमा परेको जीवन भोगाइदेखि असन्तुष्ट  भएको म मेरो छेउको ३० वर्षिय पति हेमोडायलाइसिस गरिरहनु पर्ने २४ वर्षिय पत्नीलाई स्याहारी रहेको देख्छु । यो देखेर  चित्त बुझाउँछु, सोच्छु— “मेरो अंशभागमा परेको जिन्दगी उसकोभन्दा त राम्रो रहेछ ।”
आफ्नो आफ्नो अंशभागमा परेको जिन्दगी... .!

२०७३ फागुन १२, सुमेरु अस्पताल


 १६
आफ्नो आफ्नो अंशभाग 


“सबै जीवितहरूले आआफ्नो अंशभागमा निश्चित अवधिको आयु पाएका हुन्छन् । कसैको छिट्टै सकिन्छ भने कसैको अलिक लामो । आखिर सबैको सकिन्छ नै । तर सबैले त्यो बाँचेको जीवनावधिमा संसारको बराबरै उपभोग गरेका हुन्छन् ।”
“त्यो कसरी सम्भव हुन्छ र ? धेरै बाँच्नेले धेरै र थोरै बाँच्नेले थोरै उपयोग गर्छन् नि ...”
“खाना सबैले आफ्नो एक पेटभरि मात्रै खान्छन् । पेट एउटा मात्र, कसैले दुई पेट खादैन । बच्चाले ठूलाले सबैले एक पेट खाने हो ।”
“यो खाने विषयमा भो । अरू सुखसयल अनेक कुराहरू छन् नि । कहाँ बराबर पाउँछन् र !”
“सुखसयल आनन्द सन्तोष तृप्तिमा पनि एक पेटकै नियम लागू हुन्छ । सबको एक जीवन त हो । गहिरीएर विचार गर्नाेस् त । संसारका धनिमानिहरूको धेरै दिन हवाईयात्रामा बित्छ । खाना आराम निद्रा हवाईजहाजमै । विभिन्न देशका आफ्ना व्यापार व्यपसाय  निरीक्षण रेखदेख नपुगेर डुब्ला कि ! धनिले पाउने हवाईजहाजको निद्रा र गरिबले पाउने निद्रा उस्तै त हुन्छन् नि । कामले थाकेको गरिब र अनेक दबाई ट्राङ्कुलाइजर आदि खाएर निधाउने अर्बपतिको निद्रा समान भए जस्तै अरू सुख पनि समान हुन्छन् । अझ दार्शनिक अर्थले बुझ्ने हो भने त शारिरीक पसिनाले पाएको सुख खाटि हुन्छ । प्रेम मायाको सम्बन्धमा पनि–– करोडौ खर्चेर धनिले पाउनेभन्दा गरिबले पाउने निस्वार्थ मायाप्रेम कुनै अर्थमा कम हुँदैन । गुलियो,अमिलो,नुनिलो, पिरो र टर्राे स्वाद सबैलाई समान भएझैँ संसारका अन्य अनुभूतिहरू पनि बराबरै हुन्छ ।”
सम्देन असमञ्जसमा परे झैँ भएर सनमदेवलाई हेर्छ । अहिलेसम्म नबोली सुनेर बसिरहेकी सुनयना भन्छे— “तर्क त जसरी पनि गर्न सकिन्छ तर सत्य सत्य हो । तोडमरोड गर्न सकिँदैन । धेरै बाँच्नेले धेरै देखेको भोगेको छ । छिट्टै मर्नेले कतिकुराहरू देख्न नै पाउदैन । होइन र ! कसरी समान सुखसयल पाउँछन् ?”
“सरणसर पनि टुप्लुक्क आईपुग्नु भएछ  । भोलिदेखि ७५ लाग्ने पाको तपाईंले यो हामी वीच चलिरहेको वार्तामा “एम्पायर“ भई दिनु पर्याे ।”
“कुरा के हो ? बुझेकै छैन अनि के को एम्पायर ? किन एम्पायर ?”     
“कुरा नि सर । सबैले पाउने आयु उमेर, सुखसयल, स्वाद बेस्वाद,जीवनको रङ्गीचङ्गी बराबरै हुन्छ कि घटिबढि...?”
“झट्ट बोलिहाल्न नसकिने विषय रहेछ ता पनि लेखनको सिलसिलामा र जीवनको उतारचढावमा यसबारे मैले पनि धेरै पटक सोचेको छु र निश्कर्षमा पुग्ने कोसिस गरेको हुँदा लाग्छ — जीवन तृष्णाको सागर हो । जति भोगे पनि बाँच्ने लालसा तृष्णा मेटिदैन । छिटोछिटो प्राप्ति तृप्ति पाउनेहरू छिट्टै जाने र गएको पनि मैले देखेको छु । पृथ्वीको करोडौं वर्षको उमेरमा एउटा मानिस वा प्राणीको आयु कति अकिञ्चन नगन्य हुन्छ । तापनि आफ्नो अंशभागमा परेको आयु बचाइ भोगाइबाट सन्तोष गर्नुपर्ने बाध्यकारी अवस्था जिउँदाहरूको हुन्छ नै । जति बाँचिन्छ त्यो नै जीवन हो । मानि लिउँ पृथ्वी जति नै कुनै मानिस बाँचेछ भने पनि उसको तृष्णा मेटिदैन । पूर्ण तृप्ति पाएको अनुभूत गर्दैन । तसर्थ बाँचेको बेला जेजे भोगिन्छ त्यो नै पर्याप्त मान्नु पर्छ । मान्दिन भन्न कहाँ पाइन्छ र ! आफ्नो खटनमा नहुने आफ्नो अंशभागमा परेको आयु र बचाइ नभए पनि आफ्नो खटनमा राख्न सकिने सोच विचार सद्भाव माया प्रेम र कैयौ सकारात्मक असल कुराहरूलाई लत्याएर खराबमा भुलिदा मानिस थोरै आयु भो भनेर गुनासो गर्न पुग्छन् । वशमा नभएको आयु र जीवनसँग केको गुनासो ... आफुखुसी आईएको होइन र आफूखुसी जान पनि पाईदैन । अदृश्य अज्ञात अंशभागमा परेको जीवन भोगेर खुसुक्कै जाने । धेरथोर घटिबढि कहाँ भन्न सकिन्छ र ! त्यसैले आँ...यसबारेमा बहस गरेर के अर्थ !”
सरको कुरा सुनेर सबै सोच्न थाल्छन्— आफ्नो अंशभागमा परेको जीवन (जेजति छ , छ । घटबढ आफ्नो खटनमा छैन) । आआफ्नो अंशभागमा परेको जिन्दगी !

२०७८ चैत २३ बुधबार, धरान


१७.                                                             
अन्तिम निष्कर्ष 

मलामी नपाएर कर्कश झगडालु आईमाइले आफ्नो मरेको लोग्नेलाई डोकोले छोपेर राखेको र सो लास पछि डोके च्याउ भई उम्रेको ‘किरात लोककथा’ छ ।
साँच्चै मलामी कति हुन्छन् ? आफू मरेको कल्पना गरेर सोच्दा आफ्नो लोकप्रियता थाहा पाइन्छ भनेर डेल कार्नीजीले भनेका सत्य हुन् । ता पनि  मरेपछि....
मलाई सम्झना आउँछ एउटा विस्मृतिमा हराई सकेको मृत्यु । मेरी पत्नी आई.सि.यु.मा थिई मर्नु र बाँच्नुको दोसाँधमा । त्यहाँ एकजना ७७ वर्षका  वृद्ध थिए सिकिस्त । डायलाइसिस गरे बाँच्न सक्छ  डाक्टरको परामर्श । तर छोराहरूले गराएनन् । बरु भेन्टिलेटरमा राखे । भेन्टिलेटरमै वृद्धको देहान्त भयो ।
डायलाइसिस !
हप्ताको दुईपटक चार चार घण्टा । साह्रो हुँदै गएमा अझ हप्ताको तीन पटक पनि  । डायलाइसिस गराउन लैजा, ले, बिरामी स्याहार, बिरामी जति दिन बाँच्छ झन्झटै झन्झट । पैसाका साथै समयको वर्वादि !
डायलाइसिस ! उधारो जिन्दगी  ! बिरामी जिउँदो रहुन्जेल सबै परिवारलाई बोझ  ! डायलाइसिस  भन्दा घाट जानू लानु  सजिलो !
जिउँदोलाई स्याहार्नु, मद्दत गर्नु, सम्मान गर्नु भन्दा सजिलो काम मलामी जानू । मलामी जानु मृतकप्रतिको अन्तिम सम्मान त हुँदै हो, आफ्ना लागि पनि मलामी जम्मा गर्नु हो ।
मरेपछि खुरुखुरू लास हिँडेर घाट नजाने भएर नै लास तह नलाए कुहेर गनाएर प्रदुसन बढाउने अझ जिउँदा मान्छेकै इज्जत जाने भएकोले मलामी चाहिने हुन्छ ।  त्यसैले भनिएको होला— जिउँदाको जन्ती मर्दाको मलामी ! 
मन बुढो हुँदैन भन्थे तर मेरो मन भने बुढो भएछ कि मृत्यु र मलामीबारे मात्र सोच्न थालेको छ ।  यो शुभ कि अशुभ ? कि समयको÷जीवनको अन्तिम निष्कर्ष  !
२०७७ फागुन १९
१८.
दृष्टि


किच्च दाँतले लाशलाई हदैसम्म कुरूप बनाएको छ । दुनियालाई रुवायो, शोषण अत्याचार अनेकौं कुकर्म ग¥यो । खै के लिएर जाँदै छ ? थुक्क नाथेको घृणित जिन्दगी !

     ऊ लाशलाई थुक्न चाहन्थ्यो तर शिष्टताका कारण थुकेन ।
 लाश कति दयनीय देखिएको छ । डर धाक र स्वार्थका कारण उसले जीवनभर सम्मान देखाएको मानिस निरीह लास भएको छ । अब मान सम्मान केही गर्दिनँ । मुला आडम्बरीलाई ... !
आडम्बरका लागि त्यो लासलाई उसले ढोगेको देखाउनु पथ्र्यो तर ऊ पनि त्यो लासलाई ढोग्दैन ।
      २०७५असोज २८, सुमेरु अस्पताल

१९.
अन्तरचक्षु

“जीवन र जगत हेर्ने अन्तरचक्षु पनि सदैव एकनास नरहनाले जीवन बुझ्न असम्भव हुँदोरहेछ । मैले नै तीन प्रकारको अन्तरचक्षुले जीवन देखि सकेँ ।’
    “कस्तो अन्तरचक्षु ? साहित्यिक कुरा होला ।’’
“होइन, व्यवहारिक तीतो मीठो अनुभवको अनुभूति ...’’
“कस्तो ?’’
“म अविवाहित बिद्यार्थी हुँदा संसार रमणीय युद्ध मैदान हो, सङ्घर्ष गरेर मनलागि जित हासिल गर्न सकिन्छ र जीवन रमणीय रङ्गीन हुन्छ ...सोच्थेँ ।
विवाह पछि पत्नी र परिवारको मायामा भुलिएर सुखद सप्तरङ्गी संसारमा यसरी भुलिएँ कि एउटा लामो समय बितेको पत्तै पाइनँ । पत्नीको अकस्मात देहावसानले मलाई झसङ्ग पारेर नौरङ्गी दुनियामा पछारी दिएपछि पो जीवनको वास्तविक अनुभूति भयो । जीवन... मैले यसरी तीनप्रकारको अन्तरचक्षुले हेरेँ भोगेँ । ’’
“कस्तो सप्तरङ्गी नौरङ्गी अन्तरचक्षुको कुरा ?’’
“मानिस सुखी हुँदा सप्तरङ्गी संसारमा भुलिन्छ । सप्तरङमा अरु थप दुइ रङहरू हुन् । जब असह्य दुःखको सामना गर्छ, रुन्छ र रोइरहेको आँखाले जे देख्छ सून्य । त्यो आठौ रङ हुन्छ र त्यसको अनुभूति गर्छ । अनेकौं दुःख कष्ट पीडा सहेर पनि मानिस बाँच्न चाहन्छ,  जिजीविसाको त्यो अदृश्य नवौ रङ हो । जीवन नौरङ्गी बन्छ । यसरी जीवन हेर्ने र भोग्ने अन्तरचक्षु पनि तीन प्रकारको हुँदोरहेछ । यो तीन प्रकारको चक्षुले हेर्दा–देख्दा जीवन आधाआधि बुझ्न सकिँदो रहेछ ।’’
“किन आधा मात्र ?’’
“पूरा बुझ्न त मान्छे मरेर मात्र थाहा हुन्छ । यदि मरेको मानिसको मष्तिस्क जीवित राखेर त्यहाँ भएका मरेको मानिसको अन्तरचक्षुले देखेको भोगेको कुराहरू अध्ययन गर्न सके जीवन पूरा बुझ्न सकिन्थ्यो होला । तर अहिले सम्म त्यो सम्भव भएको छैन । कुनै दिन होला । हरेक जिउँदा मान्छेको जीवन ! जीवन बुझ्ने प्रयत्नमा नै समाप्त भइरहेको छ ... । कुनै दिन मरेको मानिसको अन्तरचक्षुले देखेको–भोगेको कुराहरूको अध्ययन पनि सम्भव होला । र, जीवनको अर्थ पूरै थाहा होला ।’
२०७६ जेठ १९, धरान
२०. 
 कुवा र हात्ती

      कुवा हजारौ वर्षदेखि प्यासीहरूलाई पानी खुवाईरहेको छ । र, प्रिय छ । 
एउटा बौलाहा हात्ती त्यस भेगको सुन्दरता नष्ट गर्न उध्दत छ । 
साना कुवाहरू आफ्नो मात्र हो भन्छ । हात्तीले त्यस कुवाको पानी सुडले खाएर तृप्त भएपछि धमिलो पार्छ । भ्यागुताहरूमध्ये एउटा कुवाघाती भ्यागुता हात्ती उसको मालिक हो भन्दै कुवा हात्तीलाई सुम्पेर आफू कुवाको राजा बन्न चाहान्छ । उसले कुवा धमिलो पार्न हात्तीलाई उक्साउछ ।
 अरू कुवावासीहरू भने विरोधमा हुन्छन् । कुवावासीहरूको कुवाप्रेम ! कुवाघाती भ्यागुता तीनीहरूलाई कुचेर मार्न हात्तीलाई उक्साउछ । बौलाहा हात्ती खुट्टा कुवामा हुल्छ । हु्ल्दै जान्छ एउटा खुट्टा पूरै कुवामा भासिन्छ । खुट्टा निकाल्न नसकेर भोकै प्यासै हात्ती मर्छ,कुहुन्छ सकिन्छ ।
हात्तीसँगै कुवाघाती भ्यागुतो पनि हात्तीको कुल््चाइले मर्छ । 
हात्ती मरे पछि पनि कुवा भने जस्ताको तस्तै रहिरहन्छ । 
  मुन्धुम  पूर्णाङ्क १९७, वर्ष १७, अङ्क ११, भाद्र२०७८

२१.
आत्मसमर्पण

यत्ति सारो दुब्लाइएको थाहा थिएन । रोग बुढेसकाल नै हो नि । अब यसबाट छुटकारा पाउन त...
समकालिन साथी भाइहरूसँग भेटघाट हुन छाडेको छ । के के गरिरहेजस्तो देखिएर समय काट्नु पर्ने । घुम्न जाउ कहाँ जाने ? कतै जाने सामथ्र्य पनि छैन । किताब पढ्यो, पढ्ने प्रयोजन पनि के र ? बाँच्यो, बाँच्नुको उपादेयता पनि के ?
एक्लो बसाइ !
गोठमा बुढो गोरू मात्र छ । सुखा घाँसपराल कै भरमा मरन्च्यासे भइ बाँचिरहेको । जवान गोरूहरू जोत्न गएका छन्, भर्खरका गाई, बहर, बाछाबाछि चराउन लगिएको छ । बुढो गोरू हिड्न नसक्ने, जोत्ने त कुरै भएन । चरणमा समेत चर्न नसक्ने । एक्लै टाट्नाको रूखोसुखो खाएर बाँच्न प्रयत्नरत मजस्तै बुढो गोरू ।
बेलुकि छोराबुहारीले सल्लाह गरेको सुन्छु— ‘यो बुढो गोरु कतिसम्म पालिराख्ने ? मिया खोजेर बेचि दिऊ ।’
जीवनका अनेकौ हुण्डरी हुरी समस्याहरूसँग नहारेको म उनीहरूको कुरा सुनेर उदास हुन्छु । हिम्मत हार्छु ।
निर्दयी समय !
म ?! अजम्बरी को हुन्छ र ? के नै सदैव रहन्छ र ! म पनि ...समय र जीवनसँग आत्मसमर्पण गर्छु । बुढो गोरुजस्तै बेचिनु अगावै ...! अगावै ...!!
२०७६ चैत ६, धरान
२२.
अलप


पुषको जाडोमा घाम ताप्दै परीकथा पढ्दापढ्दै झपक्क निधाएछु ।
कता कता अग्लो पहाडमा चारजना उक्लिदै थिथौँ । तिनी र म अनि दुइ जना अपरिचित सुन्दर युवक युवती । म यसरी तिनीसँग हिड्दा असाध्य रमाइरहेको थिएँ ।
टाकुरामा पुगेपछि एकजना परीजस्ती महिलाले हामी दुईलाई हामी बस्ने घरतिर बोलाइन्, म तिनको पछि लागेँ । सोचीरहेको थिएँ ती दुई युवा युवतीलाई पनि हामीसँगै बास बस्न लगे हुने थियो ।
पछाडि फर्केर हेरेँ मेरी पत्नी पोपको जस्तो सेतो टोपी ओढेकी मेरो पछिपछि प्रसन्न भई आइरहेकी ...
ती दुइ युवा युवती हाम्रो पछि नआई अर्काे बाटो लागे । तिनीहरु अलप भएपछि पछिपछि आइरहेकी पत्नी पनि अलप...
झल्यास्स ब्युझन्छु । सपनामै भएपनि निमेषभर पत्नीलाई देखेकोमा प्रसन्न हुन्छु ।
सुनेको थिएँ मरेका मानिसहरूसित सपनामा पनि दोहोरो वार्तालाप हुँदैन रे । मेरो पनि तिनीसित दोहारो सम्वाद भएन । तीनले मलाई एक वर्षअघि नै छोडेको कुरा सम्झनासाथ सपनामा झलक्कै भएपनि तिनलाई भेटेको खुसी पनि अलप ...
अलप अल्पिनु अस्ताउनु... नअस्ताउने को र के रहेछ र ! आखिर सब  अलप !
२०७६पौष ४, शनिबार, धरान

२३.
काँडावाली

‘बोल्यो कि पोल्यो ।’ राम्रै बोलाउदा पनि उल्टो अर्थ लगाएर मुटुमै बिझ्ने जवाफ फर्काउने घमण्डी तिनी... काँडावाली नै थिइन् । नजिक हुन चाहनेहरूको मन कर्णकटु अप्रिय वचनको घोचाइले रक्तमुछेल हुने हुँनाले कोही तिनीसँग आत्मीय साथी हुँन सक्दैनथे, चाहदैनथे । त्यसैले दसौँ वर्षदेखि तिनी एक्लै बसिरहेकी थिइन् ।
निकैजनाले तिनको रूखो जीवनमा माया पिरतीको बिरुवा उमार्ने कोसिस गरे तर असफल भए ।
टेम्के चखेवामुनि र कठैबरी डाँडामाथि रहेका कटुसका बोटहरूमुनि थुप्रै काँडे झुप्पाहरू देखेर विधुर अधबंैैसेलाई काँडावालीको सम्झना भयो । उसले सोच्यो— ‘काँडाहरूभित्र नै कटुसको दाना हुन्छ । काँडा छोडाएर पाइने दाना दाँतले टोकेर फुटाएपछि दिउल निस्कन्छ ।’
अधबैैसेले काँडावालीलाई यसरी पगाल्यो कि काँडावाली उसको मायालु भई । फूलवाली भई । दिलवाली भई । अन्तमा शुसील घरवाली भई ।
२०७६ फागुन १५, धरान
२४.
अम्रिसो

सानो गमलामा बाँसको बोन्साइ बिरूवा जागेको देखेर खुसी भएको थिएँ ।
करीब पाँच छ महिना स्याहारीसकेपछि टुप्पोमा झुप्पो देखिन थाल्यो ।
केही महिनामा झुप्पा स्पष्ट देखियो । केको बाँसको बोन्साइ बिरूवा हुन्थ्यो । अम्रिसो पो रहेछ । सानो गमलाको अम्रिसो ... न कुच्चो हुने न सजावटि बोन्साइ हुने !
जिन्दगीले झैँ झुक्कायो अम्रिसोले पनि !
२०७६फागुन १२, धरान
२५.
गुण

एकलासे बाटोमा कुकुरहरूको भुकाइ टोकाइका हल्लीखल्ली र खैलाबैलाले त्यतातिर मेरो ध्यान आकृष्ट हुन्छ ।
एउटा कुकुर हिलोमा भासिएको अवस्थामा पाँच छ वटा कुकुरहरूले घेरेर टोकिरहेका छन्, चिथोरीरहेका छन् । एक्लो कुकुर असहाय छ, अरु कुकुरहरूले त्यसको ज्यान लिनै लागेको देखेर म लौरोले हिर्काउदै अन्य कुकुरहरूलाई लखेट्छु ।
कुकुर घाइते भएको छ र शरीरको केही भागबाट रगत पनि बगिरहेको छ । हिलोमा भासिएकोले निस्कन सक्तैन । तानेर निकाल्छु ।
यति गरिसकेपछि म आफ्नो बाटो लाग्छु । कुकुर कातर भावकासाथ मलाई  केहीबेर पछ्याउछ । अन्य कुकुरहरू भागिसकेका थिए । सुरक्षित महसुस हुनासाथ त्यो कुकुर कृतज्ञताका लागि मतर्फ पुच्छर हल्लाउदै आफ्नो बाटो लाग्छ ।
कुनै कुनै समय म त्यो बाटो हिड्ने गर्छु । त्यो कुकुर मलाइ देख्नासाथ पुच्छर हल्लाउदै मेरो छेउमा आएर लुटुपुटु गर्दै भक्तिभाव देखाउछ, कृतज्ञता जाहेर गर्दछ ।
एक साँझ म पल्लो गाउँ त्यहि बाटो भएर जानुपर्ने भयो । बाटोमा दुई  कोष जति बाघ भालु ब्याँसो स्याल जस्ता हिंसक जानवरहरू भएको डरलाग्दो जङ्गल थियो । म एक्लै थिएँ र डराइरहेको थिएँ । जानैपर्ने काम थियो । जङ्गलछेउ त्यहि कुकुर भेटेँ । मलाई पछ्याउन थाल्यो । मैले लखेटेर धपाएँ तर नभागेर त्यसले जङ्गल नकाटुन्जेल मलाई साथ दियो । सकुशल जङ्गल पार भएकोमा म खुशी थिएँ । म त्यो कुकुरलाई आफूसँगै लैजान चाहन्थे तर त्यो जङ्गल पार हुँनासाथ मप्रति फर्केर एक पटक भुक्यो कृतज्ञताको भाव प्रकट गर्न । अनि फरक्क जङ्गलको बाटो दगुर्दै फर्कियो । म हेरेको हेरै भएँ, केही गर्न नै पाइएन ।
पल्लो गाउँको काम सकेर साथीभाइहरूका साथ म दुइ दिनपछि फर्किएँ । बीच जङ्गलमा सिनु गनाएकोले चारैतिर हेर्दा के देख्छु...जङ्गली जानवरहरूले मारेर खाएर छोडेको बिचरा त्यो कुकुरको आँधि लाश कुहेर गनाइरहेको !
हो, गुण भनेको एक पटक त हुन्छ ।
बिचरा त्यो कुकुरले मैले लगाएको एउटा गुण ज्यान दिएरै ति¥यो !
२०७६।६।१८, धरान
२६.
कुकुर

जब एक्लो भइन्छ, बाल्यकालदेखिका पुराना र जीवनका विभिन्न कालखण्डका घटनाहरूका सम्झना हुन्छ र त्यो सम्झनासँग कुकुरहरूको सम्झना पनि गाँसिएर आउछ ।
किरात लोककथामा कुकुर मानिसको कान्छो भाइ भएको कथा छ । होला र त नानीहरूको मिल्ने साथी कुकुर हुन्छ । म पनि चार वा पाँच वर्षको हुँदा मेरो जन्म गाउँ छिनामखुमा मेरो मिल्ने एउटा निक्खुर कालो काले नामको कुकुर थियो । घरको रखवारी गर्नामा खप्पिस थियो । नौलो मान्छेलाई घरमा ढिम्किन दिदैनथ्यो । अरूका लागि असाध्य छुच्चा थियो । टोक्न नै जाइलाग्थ्यो । कतिलाइ टोकि पनि सकेको थियो । त्यस्तै छुच्चा भएकोले कसले हो घाँटीमै काटेर घाइते बनायो । मान्छेको पनि दबाइपानी नभएको त्यो जमानामा त्यही घाउले काले मर्याे । त्यो मर्दा हामी सबै परिवार शोकाकुल भएका थियोँ । त्यो कालेको झझल्को अझै मेरो आँखामा कोहीकोही बेला आइरहन्छ ।
अर्काे लक्की कुकुर बोराबाँध मधेसमा आमाबुबाले पाल्नु भएको थियो । आमाले तालिम दिएर खडा बस्ने भएको थियो । मानिसहरूले खान थाले पछि खाने चिज नदिउन्जेल खडा भएर बसिरहन्थ्यो । खडा बस्ने त्यसको सीप त्यसका लागि पेट पाल्ने मेलो भएको थियो । त्यो सीपले त्यसलाई सबै केटाकेटीहरूले असाध्य मन पराउथे । त्यो चाहीँ बुढो भएरै मर्याे । त्यसलाई खाल्डा खनेर मान्छेलाई जस्तै सम्मानसाथ गाडेका थियौँ ।
अर्काे कुकुर मैले विवाह गरीसकेपछि धरानमा बस्दा पालेको टाइगर नामक कुकुर राम्रै थियो । भनेको बुझ्थ्यो र मान्थ्यो । तर के भयो कुन्नी एक दिन बौलाएजस्तो गरी भित्र बाहिर कुद्ने, मान्छेहरूलाइ खेद्ने गर्न थाल्यो । केटाकेटी वा अरू मान्छेलाइ टोक्यो भने अनेक झमेला हुने । मैले नै आग्लोले हिर्काएर आफ्नै कुकुर मारेँ । म अहिले पनि सम्झन्छु त्यो कुकुर बौलाएको थियो, थिएन टुङ्गो नगरी नमारेको भए हुन्थ्यो ।
बेली बेलाइती कुकुर पनि खुब राम्रो थियो । के भएर हो ? केही दिन केही नखाएकोले बिस्कुट चाहीँ खान्छ कि भनेर दिएँ । पुच्छर हल्लाएर कृतज्ञता ज्ञापन गर्याे र त्यो बिस्कुट लगेर जमिनमुनि पुरेर राख्यो । त्यो खान नसकेर नै म¥यो । पछि पो थाहा पाएँ घाँटि सुनिएर खानै नसक्ने भएको रहेछ । विचराले मन पर्ने बिस्कुट निको भएर पछि खान जमिनमुनि लुकाएको थियो तर खान पाएन । जीवनको नियती ...
अब अन्तमा हुन्ची कुकुरको बारेमा पनि बताइ हालौँ । पत्नी र म बिहानै डायलाइसिस गर्न बिराटनगर जाने गथ्र्यो, बसपार्कसम्म हामीलाई पुराउन सधैं जान्थ्यो । बसमा पनि चढ्न खोज्थ्यो । अरूले कराए पछि ओर्लन्थ्यो । एक पटक डायलाइसिस सकेर घर आउदा नातिनीले भनि...‘हुन्ची कुकुर निकै छठ्पटिएर म¥यो, विष खाएको थियो कि ... ’
मरी त गयो । माया लागेर के गर्ने ? पशु होस् वा मान्छे । मरिसकेपछि गर्नै पो के सकिन्छ र... फगत चुकचुकाउनु सिवाय ...!
२०७५ चैत ५, धरान ,ब्लाष्ट टाइम्स  २०७६ भदौ २१, शनिबार
२७.
पाल्तु

गरिब छिमेकीको घरमा मुखिया आउँछ । कुकुर भुक्न थाल्छ ।
कुकुर भुकेको देखेर गरिब छिमेकी खुसि हुन्छ । कुकुरले घरको रखवारी गर्न थालेछ ।
“अचम्भ ! मेरै घरमा जन्मेको मेरै जुठो भात खाएर हुर्केको कुकुर सधै मलाई देख्दा पुच्छर हल्लाउदै लुट्पुटिने छाउरो, आज मलाई नै भुक्दै छ ।”
रिसाएका मुखियाले कस्सेर एक लात्ती बजारे । कुकुर कुइकुई गर्दै पर पछारियो ।
“यो कुकुर नपाल, म अर्को कुकुर दिउँला ।” रिसाएका मुखियाले भने ।
बिचरा गरिबको के हैसियत ! भने— “हुन्छ ।”
कुकुरले के बुझ्यो कुन्नि, त्यो त मुखियाको नजिक आएर फेरी खुट्टामा लुट्पुटिदै तलुवा चाट्न थाल्छ ।
आखिर पाल्तु पाल्तु नै हुन्छ ।
२०७२ असोज ७,
 ब्लाष्ट टाइम्स  दैनिक पत्रिका, वर्ष २५, अङ्क १०  ( २०७६ असोज ११ गते शनिबार )


२८.
पशु र फूल


फूल ढकमक्क फुलिरहेको थियो । हेर्नेहरूभन्दा फूल फुलाउने म मक्ख पर्थे । हुन पनि जतनसाथ धेरै स्याहारेर फुलाएको थिएँ ।
लकडाउन । को पो आउछ र ? नेपाल भारतको सिमानाजस्तो बारबेर ।
हिजोे बिहानै देख्छु फूलको बोटहरू आँधि आँधि छैनन् । बोटै नभएपछि फूल हुने कुरै भएन । के भयो ? पत्तै पाइनँ ।
आज बिहान त फेदैसम्म छैन । मान्छेले काटेर लगे कि ! लकडाउन । कतै जाने हिड्ने कुरा भएन । गुरूरू कुदेर बाखी र पाठापाठीहरू उजाड फूलबारीमा आउँछन ।
अहिले पो पत्ता लाग्यो फोहोरी राजनैतिक छिमेकी नेताको करामात । बाख्रा खुल्ला छोडिदेउ । आफै पेट भर्छ । घाँस हाल्नै परेन ।
पशुलाई फूलको सौन्दर्यको के माने ? के मतलव ? फूल पात डाँठ चपाएर खायो, अघायो । पशु पशु भइहाल्यो । मालिक हैकमवादि, फोहारी राजनीतिज्ञ !
के फरियाद गर्नु ? प्रमाण माग्छन् । भिडिओ नै खिचेकोे देखाए पनि नक्कली भन्ने निश्चित छ ।
फोहोरी राजनीतिले तानासाह र सन्कि जन्माउछ । मान्छेलाइ मान्छे मान्दैन । मान्छे मरून् मतलव हुँदैन । तानासाह र सन्किहरू मान्छे बचाउने कार्यमा सरिक हुँदैनन् ।
पवित्र कञ्चन असल राजनीति नभएसम्म फोहोरी राजनीतिकै हालीमुहाली...
फोहोरी राजनीति ! यो कोरोना कहरको समय !!
सर्वसाधारणा आममान्छे र सरकारको सम्बन्ध ... बाख्रा याने पशु र फूलको सम्बन्ध !!!
२०७७ वैशाख १३, धरान
२९.
भोट र कटुस

जाडो याममा घाम ताप्नु, त्यसमाथि कटुस खाँदै कुरा गर्नु आनन्ददायी हुन्छ नै ।
‘उप निर्वाचनमा भोट कस्लाई दिने ?’
‘सबैभन्दा फटाहालाई दिने नि । किन झुक्किनु . सधैं सबैभन्दा फटाहालाई दिई राखेकै छौं ।’
‘फटाहा कसरी चिन्ने ?’ 
‘यी कटुसमध्ये एउटा छान्नुहोस् ।’
उनले ठूलो र हेर्दा राम्रो देखिने एउटा कटुस छानेर हातमा लिए ।
मैले भनेँ— ‘यस्तो व्यवस्थामा राम्रो इमानदार मान्छेले दलहरूको टिकट नै पाउदैन । बेइमानी गरेर कमाएको पैसाले टिकट किन्नु पछर्, चुनाव खर्च बेहोर्न कालो धन हुनुपर्छ । र यस्तो व्यवस्थामा चुनाव जित्न नसक्ने स्वतन्त्र इमानदारको केही अर्थ हुँदैन ।’
‘म त सधैं राष्ट्रवादी र इमानदार उम्मेदवारलाई भोट दिने गर्छु । विगत चुनावमा पनि मैले भोट दिएको मान्छे प्रधान.... भएका छन् ।’ —उनी भन्छन् ।
उनी कटुस टोकेर फुटाउछन् । मुखै चेब्राएर थुक्दै भन्छन्— ‘छ्या मैले भोट दिएर जिताएको प्रधान... जस्तै किराले खाएको तीतो कटुस... ’
थुक्दै भन्छन्— ‘राष्ट्रवादिको मुकुण्डो भिरेका राष्ट्रघाती प्रधान... थुक्क ! कालापानी, लिपुलेक र लिम्पियाधुराले प्रमुख र प्रधान...हरूको धोती खुस्काएपछि देखियो...
थुक्क ! राष्ट्रघाती प्रधान... प्रमुखहरू !!!’
२०७६।८।८, धरान
३०.
अजम्बरी माया

त्यो पुरानो पोखरीले सिम्मालाई अतितमा पु¥याउछ ।
अतित ! दुःखद अतित !!
कोरोना कोविद १९ भन्ने महामारीले विश्वभरि नै लाखौं मान्छेहरू मरेका थिए । कतारमा थिए पति धनमान । जागिर गयो । धन्न ! बाँचेर फर्किए । कत्रो पीर परेको थियो । यता पनि धेरै मानिसहरू मरे ।
सिम्माको अजम्बरी मायाले धनमान बाँचेर फर्किएका थिए तर रित्तो हात । सुनकोसी किनारमा एक हल मेलोको जग्गा बाहेक अरू सम्पत्ति थिएन । खानलाउनको समस्या ब्युतियो ।
सरकारलाई जनता र देशको चिन्ता थिएन । त्यतिबेला भ्रष्टाचारमा डुबेको राष्ट्रघाती सरकार थियो । के कुरा गर्नु त्यस्तो पातकि सरकारको !
आफ्नै जस्तो अवस्था छिमेकीहरूका पनि । टुप्पोबाट पलाएका नेताहरू आउथे ठूला ठूला राहतका कुरा गर्थे । काम भने सिन्को नभाँच्ने ।
गाउँले उनीहरू कति भोकभोकै बसेका थिए । मद्दत पनि कोसित माग्ने ? सबैको अवस्था उस्तै । सिम्माले नै सबै छिमेकीहरू जम्मा गरेर त्यतिबेला भनेकी थिइन्— “टुप्पोबाट पलाएका ऐजेरू राजनीतिको पछि अन्ध पिछलग्गु हुन छाडेर हामी यो पुच्छर गाउँमा बस्नेहरू एक भएर मिलेर केही गरौँ ।’’
साइलाले सोधेका थिए— “के गर्न सक्छौँ होला हामी निमुखाहरूले ?’’
सिम्माले भनेकी थिई— “सबै मिलेर कोशी किनारमा ठूलो पोखरी खनौँ । माछापालन गरौँ ।’’
गुमानेले त उनको कुरामा हाँसेर गिज्जाएको पनि थियो । निकैबेर खासखुश छलफल भयो । समस्या आयो पूँजिको ।
सिम्माले नै भनेकी थिइ— “हामी आफैले खन्ने, यहाँ भएका ढुङ्गा माटो काठले पोखरी बनाउने । कतै कसैको सहयोग चाहिन्न । कोशीबाट ल्याएको पानीमा नै माछाको भूरा आइहाल्छ । वर्खामा पोखरी थामियो भने बल्सि खेल्न, स्वीमिङ गर्न पर्यटकहरू आउने छन् । पोखरी हामी सबैको सामूहिक सम्पत्ति हुने छ ।’’
सबैले परिश्रम गरेर तीन महिनामा पोखरी खने । सोचेजस्तै आम्दानी भयो । उनीहरूका जीवनमा कायापलट भयो ।
उनीहरूलाई देखेर लेखमा बस्नेहरूले च्याउ जडिबुटि आदि र अन्यले पनि सरकार र टुप्पाबाट पलाएका नेताहरूका मुख नताकि आफूले गर्नसक्ने आफूजस्तै गरिबहरूसँग मिलेर ठाउँ अनुसारको सामूदायिक काम गरे । सामूहिक सम्पत्ति र शक्ति आर्जन गरे ।
आज सबै सम्पन्न भएका छन् । कोही विदेश जानु परेको छैन । सबै ठाउँमा विकास भएको छ । सबै शिक्षित भएकाले राजनीति पनि असल पवित्र कञ्चन अथवा जनता र देशका लागि भएको छ ।
सिम्मा सोच्न पुग्छिन्— “धन्न ! त्यतिबेलाको कोरोनाले उत्पन्न गरेको संकट आजका लागि बरदान भएकोे छ । विदेश गएका युवाहरू सबै फर्केर आए । देशभित्रै पाखुरी चलाए । मातृभूमि भनेको मातृभूमि नै हो । 
मातृभूमि आमाको माया....अजम्बरी माया !
२०७७ वैशाख १४, धरान
३१.
दोस्रो जीवन

आज महाभुकम्प आएको चार वर्ष भएको दिन । सम्झना आउँछ हजारौं मानिसको ज्यान गएको र लाखौं मानिस बेघरबार भएको दिन । महाभूकम्पले ती बेघरबार भएका मध्येका र सबै आफन्त गुमाएकी रजनीको रोइरहेको अनुहार म बिर्सन सक्तिनँ ।
माथिबाट भीर पहरा भत्केर झरेको पहाडको ढिस्कोले तिनको घर पुरिएको थियो । लोग्ने, सासुससुरा र तिनको कलिला नानीहरूको एकचिहान भएको थियो । तिनी मात्र घाँस काट्न जङ्गल गएकीले बाँचेकी थिइन् । घरबार र परिवार नभएपछि विक्षिप्त भएर शोकको अजङको भुमरीमा रूमल्लिएर भौतारिदै तिनले गाउँ छोडेकी थिइन् ।
महाभुकम्पले घर खेतबारी भत्केपछि म पनि परदेश लागेको थिएँ— गाँस बास र कपासको जोहोको लागि ।
नसम्झौँ भन्दा पनि त्यो महाविनासकारी दिनको असहनीय पीडा बल्झिरहन्छ । त्यही पीडामा रन्थनिएर घुमिरहेको बेला एक जोडि दम्पति सानो नानी बोकेर आइरहेको देख्छु ।
त्यो महिला रजनी होइन ?
नजिकबाट हेर्छु रजनी नै हो । अनायास मुखबाट फुत्कन्छ “रजनी बैनी...!’’
ती दुवैले मलाई हेर्छन् । अन्तमा पतिले जवाफ दिन्छन्— “रजनी होइन उजेली । अढाइ वर्ष भयो हाम्रो बिहे भएको र यो सानो नानी हाम्रो छोरा हो !’’
रजनीले मलाई राम्ररी टिठ्याउदै नियालेर हेरिन् तर रजनी उर्फ उजेली भावशून्य थिइन् ।
त्यही क्षणदेखि मेरा पनि सारा पीडा, चिन्ता र शोक बिलाउँछ र लाग्छ मेरो पनि दोस्रो जीवन अवतरण हुन थालेको छ !
बाँचे जीवन किसिम किसिमले भोग्न पाइन्छ ....!!!
 २०७६अशोज २४, धरान
३२
मुर्खता

सप्तकोशीको उर्लदो भेल देखेर हाम फाल्न नसकि फरक्क फर्केर गोरेटोको कुनामा बसेर छाती पिट्दै रुन थाली नवयौवना युवती ।
“यो मैले कस्तो मुर्खता गरेँ । मेरै मुर्खताले मेरो आशिक युवकले भर्खरै सप्तकोशीमा हाम फालेर ज्यान गुमायो । मैले त उसको प्रेम जाँच्न भनेकी थिएँ— “कोशीमा हाम फाल्यो भने सधैंको लागि तिम्रो हुने छु ।” कस्तो युवक ? साच्चै पो फाल हाल्यो । कति मूर्ख त्यो ... म त्यसको मृत्युको कारण बनेँ । त्यसको प्रेम साँचो रहेछ ! त्यस्तो मलाई माया गर्ने मान्छे चिन्न नसक्ने म मुर्ख... ! म पनि यही फाल हालेर मरूँ...! फाल हाल्न खोजेँ तर सकिनँ । म ऊजस्तै मूर्ख भएर मर्न सक्तिनँ !”
युवती रोई, धेरै समय अविरल आँसुको धारा बगाएर रोई । अब त्यस्तो माया गर्ने युवक म कहाँ पाउँछु ? युवकलाई सम्झदै रोई ।
धेरै बेर रोईसके पछि “आ... त्यो युवक महामुर्ख रहेछ, एउटी जाबो केटीले भन्दैमा यत्रो भेलमा फाल हालेर ज्यान फाल्ने । धन्न् ! त्यस्तो मुर्खको मुर्खतापूर्ण प्रेमबाट म बचेँ ।”
आँसु पुच्छे । युवकको मृत्यु युवककै मुर्खाईले भएको हो भन्ने सम्झिन्छे । आफूलाई निर्दाेष ठान्छे र केही नभएझैँ गरि उठेर कोशीको भेलतिर हेर्दै नहेरी सहर फर्किन्छे । प्रेम र मुर्खाइ ! सम्झन्छे एउटा मामुलि घट्ना !
२०७६ पुस १३, धरान
औजार  दैनिक, २०७६ पौष २६, शनिबार 
३३

मुर्खता

सप्तकोशीको उर्लदो भेल देखेर हाम फाल्न नसकि फरक्क फर्केर गोरेटोको कुनामा बसेर छाती पिट्दै रुन थाली नवयौवना युवती ।
“यो मैले कस्तो मुर्खता गरेँ । मेरै मुर्खताले मेरो आशिक युवकले भर्खरै सप्तकोशीमा हाम फालेर ज्यान गुमायो । मैले त उसको प्रेम जाँच्न भनेकी थिएँ— ‘कोशीमा हाम फाल्यो भने सधैंको लागि तिम्रो हुने छु ।’ कस्तो युवक ? साच्चै पो फाल हाल्यो । कति मूर्ख त्यो ... म त्यसको मृत्युको कारण बनेँ । त्यसको प्रेम साँचो रहेछ ! त्यस्तो मलाई माया गर्ने मान्छे चिन्न नसक्ने म मुर्ख... ! म पनि यही फाल हालेर मरूँ...! फाल हाल्न खोजेँ तर सकिनँ । म ऊजस्तै मूर्ख भएर मर्न सक्तिनँ !”
युवती रोई, धेरै समय अविरल आँसुको धारा बगाएर रोई । अब त्यस्तो माया गर्ने युवक म कहाँ पाउँछु ? युवकलाई सम्झदै रोई ।
धेरै बेर रोईसके पछि “आ... त्यो युवक महामुर्ख रहेछ, एउटी जाबो केटीले भन्दैमा यत्रो भेलमा फाल हालेर ज्यान फाल्ने । धन्न् ! त्यस्तो मुर्खको मुर्खतापूर्ण प्रेमबाट म बचेँ ।”
आँसु पुच्छे । युवकको मृत्यु युवककै मुर्खाईले भएको हो भन्ने सम्झिन्छे । आफूलाई निर्दाेष ठान्छे र केही नभएझैँ गरि उठेर कोशीको भेलतिर हेर्दै नहेरी सहर फर्किन्छे । प्रेम र मुर्खाइ ! सम्झन्छे एउटा मामुलि घट्ना !
—    —     — —     ——
“म अस्पतालमा छु, भेट्न आऊ ।’’ त्यो कोशीमा हाम फाल्ने युवककै स्वर र कल हो । मोबाइल नं. पनि उसकै हो ।
आफ्नै आँखा अगाडि कोशीमा हाम फालेर मरिसक्यो भनेको युवकको फोन कलले युवती झस्कन्छे र खुशी पनि हुन्छे । अस्पतालमा मामुलि चोट लागेको युवकलाई भेटेर सोध्छे— “कसरी बाँच्यौ ?’’
“मैले रेनकोटभित्र लाइफ ज्याकेट लगाएको थिएँ । तयारी अवस्थाका सानो मोटर बोट पनि मेरो उद्धारको लागि राखेको थिएँ, त्यसैले म बाँचेँ । अब तिमीले आफ्नो वाचा वचन पूरा गर्नु पर्छ ।’’
नाइनास्ती गर्ने अवस्था नै थिएन । युवतीले विवाह गर्ने सर्तमा आफ्नो सबै समर्पण गरी । केही महिना मन लागुन्जेल युवकले युवतीसँग खेलिसकेपछि युवती दुई जीउकी भएको थाहा पाएर — “गर्भ पतन गराऊ ! म सबै खर्च दिन्छु ।’’
“विवाह गर्छु भनेका थियौ...’’
“त्यो त तिम्रो भर्जिन रस चुस्नका लागि र ...तिम्रो रूप र जवानीको घमण्ड तोड्न झुठ बोलेको हुँ ।’’
“थुक्क बेइमान, मलाई मुर्ख बनायौ । तर म छोडदिनँ तिमीलाई !’’
“हा हा हा...’’ युवक अट्टहास गर्दै भन्छ— “गर्भ पतन गराऊ ! म तिम्रो पहिलो पति र प्रेमी भएको नातामा यो कुरा गोप्य राखेर तिम्रो जीवन बर्बाद हुन दिन्नँ । तिमीलाई मैले जीवन र जवानीको पहिलो नयाँ अनुभव र ज्ञान दिएकोमा जीवनभर मेरो गुण मान ! मान्यौ भने मेरो नजरमा कुल्चिएको पत्तुर भए पनि अरूको नजरमा सुन्दर ताजा फूल नै देखिने छौ । अन्यथा तिमी महामुर्ख ठहरिने छौ ...!’’
२०७६ पुस २६, धरान

३४.
अन्तिम दिन

 

 
स्कुल छुट्टि भएर छात्रछात्राहरू फर्किरहेका छन् । मसिना बालबालिकाहरू कोपिलासरह मनमोहक छन् । हेरेर मन प्रसन्न हुन्छ ।
बाटोमा भीड छ । “यो समेत यो शितल छहारी ठाउँमा सात जना मरिसके ।” एक महिलाले भनेको सुनेर सोध्छु “के भएर मरेको ?” “रक्सी खाएर...” संझिप्त जवाफ । देख्छु एउटा अधबैंसेको लास, वरिपरी मानिसहरूले घेरेका छन् । पुलिसले मुचुल्का लेखिरहेको छ । विरक्ति मनमा उब्जिन्छ... जीवन !
हिजो बेलुकि मात्रै बुहारीको छाक बारेको म । कल्पनामै बुहारीले अन्तिम दिनभरि के गरी होली ? कल्पन्छु...
बिहानै उठ्नु बुहारीहरूको कर्तव्य, घर सफासुग्घर पारेर चियानास्ता तयार गरीन् होली । सानो छोरालाई ड्रेस लगाईसके पछि मायाले म्वाई खाईन् होली । पति बजारतिर गईसकेकाले भरै बेलुकि भेट भईहाल्छ भन्ने सोचिन् होली । हतार हतार कार्यालय गएर दिनभर काम गर्दा पनि काम नसकिएर अफिस टाइमभन्दा पछाडि पनि बसेर जरूरी काम सकेर फर्कदा गाडि दुर्घटनामा परेर तिनको इहलीला समाप्त भयो ।
भावुक हुन्छु । कुन दिन अन्तिम हुन्छ ? कुन बेला अन्तिम क्षण हुन्छ ? थाहा नहुने अन्तिम क्षण ! अन्तिम दिन !

२०७९–७–२१

३५.
 डङ्गुर 

अल्पज्ञ, ज्ञानी र उजेली तीनजना एउटै स्कुलमा पढेका थिए । तीनैजनाको उत्प्रेरणाको श्रोत एउटै थियो— गरिबी । उनीहरू गरिबीबाट उन्मुक्ति चाहन्थे ।
उनीहरूले शिक्षालाई उन्मुक्तिको साधन सम्झेका थिए । अल्पज्ञ नौ कक्षाबाटै पढाइ छोडेर राजनीतिमा नेताको धुपौरे भयो । नेताको सङ्गत र कृपाले ऊ कालान्तरमा राजनैतिक खेलाडि भयो ।
ज्ञानीले उच्च शिक्षा पूरा गरेर ज्ञानी भयो । क्षणभङ्गुर जीवनको ज्ञान प्राप्त भएकोले लोभ–पापबाट टाढा रह्यो । उजेलीले ज्ञानीसित विवाह गरीन् । उनीहरूको जीवन ज्ञानले आलोकित हुँदा सुखसित बित्यो । दुवैजनाले परिश्रम गरेर गरिबीबाट उन्मुक्ति पाए । उनीहरूका सन्तान पनि सद्गुणी भए ।
अल्पज्ञले राजनीतिमा लागेर अनेक तिकडम, जालझेल सिक्यो । गरिबीबाट उन्मुक्ति पाउन राजनीतिलाई उसले साधन बनायो । नेता भयो । चुनाव जितेर मन्त्री भयो । देश, समाजलाई धोका दिँदै अनैतिक तरीकाबाट धनराषी कमाएर गरिबीबाट उन्मुक्ति पायो । विवाह गर्याे, एउटा छोरी र एउटा छोराको बाबु भयो । ऊ अझ धेरै सम्पत्ति कमाउने लालसाले फोहोरी राजनीतिमा चुर्लुम्म डुब्यो ।
कालान्तरमा उसले हुर्केका छोरालाई बिरोधी तह लगाउन राजनैतिक गुण्डा ‘डान’ बनायो । छोरीलाई पनि आफू सत्तामा टिकिरहनका लागि नेताहरूको सेवामा हाजिर गरायो । छोरी गतिछाडा हुँदै गइ । सम्पत्ति त उसले अकुत कमायो तर बदनामी पनि त्यत्तिकै । त्यसैले ऊ सत्ताच्युत भयो ।
गुण्डा छोरा र गतिछाडा छोरीले धम्काएर अल्पज्ञका सारा सम्पत्ति बाडेर लिए । सम्पत्ति लिइसकेपछि फोहोरी राजनीतिको उत्पादन उसका अविवेकि छोराछोरीले उसलाई घरबाट निकालेर घरच्युत बनाए ।
फोहोर राजनीति ...चरित्रहीन खराब सन्तान, फोहोरी समाज र घृणित परिवेश ! फोहोरी राजनीतिको फल ... फोहोरमा फोहोर ! फोहोरको डङ्गुरमा बिचरा अल्पज्ञ पुरियो !
२०७६ मंसिर २०, धरान
३६.
रूपान्तरण


    “मैले नै एउटा कथामा लेखेको थिएँ— उसले पनि चाहेको थियो, प्रेमको बलियो जगमाथि स्वप्निल पारिवारिक जीवनको जीवनभर निरन्तरता । तर त्यो चाहनाको धरहरा गल्र्याम्म ढलेको छ पत्नीको असामयिक देहावसानले । यो कुरा आज मेरो आफ्नै जीवनमा लागु भएको छ ।”
    म भन्छु— “चाहेर पनि म रमाउन सक्तिनँ । हाँसो मुस्कुराहट बिलाएको अवस्थामा बाँच्न कठिन हुने नै भयो । अब बाँच्ने कसरी ? गम्भीरतासाथ सोच्नु पर्ने बाध्यकारी अवस्था छ... नोबल पुरस्कार बिजेता अर्नेस्ट हेमिङ्वेले पुरस्कार पाएको केही वर्षपछि नै स्वास्थ बिग्रदै गएकोले आफ्नै कञ्चटमा गोली हानी आत्महत्या गरेका थिए ।”
“आत्महत्या कुनै उपाय हुन सक्तैन...”—मेरो कुरा तन्मयतासाथ सुनिरहेकी रूपसी झस्किएर भन्छे ।
म भन्छु— “सप्तरङ विलुप्त भई म अहिले नौरङ्गी जीवन भोगिरहेको छु । अथाह शोक र पीडाबाट मुक्ति पाउने उपाय ...”
    “भन्नुहोस्, त्यो के हो ?”
“सबैसित सबै योग्यता क्षमता नभए पनि केही न केही सिप ज्ञान योग्यता क्षमता सबैसित मौजुद हुन्छ । त्यही योग्यता क्षमताको प्रयोगले नौरङ्गी जीवन पनि रमणीय र उपयोगीमूलक बनाउन सकिन्छ ।”
    “कसरी ?”
“सबैको आआफ्नो रूची हुन्छ । त्यसैलाइ अधिकतम उपयोग गरेर दुई दिने क्षणभङ्गुर जीवन सार्थक बनाउन सकिन्छ । मेरो रूची साहित्य हो । मैले आफ्ना लागि पत्ता लगाएको उपाय कथा धेरै पढिरहनु र थोरै लेखिरहनु हो । कथा लेख्नुभन्दा अगाडि नयाँ पुराना बान्तावा, नेपाली, हिन्दी र अङ्ग्रेजी भाषाका (एक हजार एक वटा) कथा पढ्नु हो ।. निरन्तर  कथा पढिरहनु पर्छ । त्यति कथाहरू पढिसकेपछि नौरङ्गी जीवन बुझ्न र भोग्न म पूर्णतया अभ्यस्त भइसक्ने छु र मेरो जीवन पूर्णतया नयाँ भइसकेको हुनेछ । त्यसपछि नौरङ्गी पतझड हरियाली बसन्तमा रूपान्तरित हुनेछ !”
   ‘इमो’मा रूपसीको अनुहारको मन्दमन्द मुस्कान देखेर म प्रसन्न हुन्छु . प्रसन्न मुद्रामा हाम्रो वार्तालाप सकिन्छ ।
—    —        — —    ——
रूपसीसँग मित्रता हुनु पनि संयोग नै थियो । त्यो मित्रता नसोचेको नचाहेको कुरा मेरो जीवनमा घटेको थियो । एकचालिस वर्ष बिताएको पत्नीको देहान्तले मर्माहत म फेसबुकमा मनको वह पोखेर हल्का हुने कोसिस गरिरहेको थिएँ । मेरा ती पोष्टहरूमा तिनको सहानुभूतिपूर्ण टिप्पणीले हामी फेसबुकमा साथी बन्याँै र तिनको सहानुभूति, सल्लाह, प्रेरणाले मेरो पीडायुक्त जीवनमा पनि उज्यालो रूपान्तरण हुन थालेको छ ।
२०७५चैत, धरान

३७.
दुःखको मुहान

“दुःख, दुःखसँग अभ्यस्त भइयो । दुःखभोग्न सजिलो लाग्न थालेको बेला सुखसित साक्षात्कार भयो भने त्यसलाई चिन्न पनि सक्तिनँ होला !”
“साँच्चै कहिल्यै सुख भोग्नु भएको छैन ?”
“खोई, थाहा छैन ।”
“बिहे गर्नु भएको छैन ?”
“गरेको छु ।”
“सन्तान जन्मेको छैन ?”
“छ ।”
“साथीभाईहरुको माया प्रेम प्राप्त गर्नु भएको छैन ?”
“छ ।”
“तिनीहरु सुख होइनन् र ?”
“त्यहि त दुःखको मुहान भएको छ । दुःखको मुहान.. बिहे, सन्तान, साथीभाई, मनोआकाङ्क्क्षा आदि आदि ...!”
२०७४ असार २१, धरान
३८.
सहन

फेसबुक मेसेन्जरको अतिथीको निम्तोमा कार्यक्रममा पुगियो । निम्ता गर्ने महानुभाव मञ्चमा ठाटिएर बसेका छन् । गन्यमान्य प्रशाशक, नेता र चन्दादाता सबैलाई सम्मान फूलमाला, खादा, ब्याच लगाउदै आसन ग्रहण गराए । मेरो पनि नाम बोलाउछन् कि भनेर ध्यान दिएर सुनिरहेँ ।
भिषण भाषण सुरु भयो । जोडतोडले ताली बज्यो, मैले पनि स्वाभाववस बजाए । अझै आशा थियो कतै आसन ग्रहण गराई हाल्छन् कि !
यत्तिका उमेर ताली बजाएर नै बित्यो । अझै ताली नै बजाई रहनु ? बोलाएर उपेक्षा गरिएको अनुभूति हुनासाथ जुरूक्कै उठेँ र हिडेँ । बजार एकफन्का घुमेर घर पुग्दा पनि मनमा उपेक्षा खड्की रह्यो ।
प्रेरक प्रसङ्ग पढन थाल्छु । शिष्य नरेन्द्रसँग रामकृष्ण परमहंशले एकहप्ता बोल्दै बोलेनन्, बोल्न खोज्दा पनि गुरुले मुख अर्कैतिर फर्काउथे । तापनि नरेन्द्र प्रणाम गरेर गुरुसँगै बस्थे । परमहंशले नबोलेर नरेन्द्रको उपेक्षा सहन शक्ति जाँचेका थिए । उपेक्षा सहनशक्ति भएका त्यही नरेन्द्र पछि विवेकानन्द भए ।
मैले पनि थाहा पाउन थालेको छु... उपेक्षा सहनशक्ति मैले पनि आफूभित्र अपार रूपमा सृजन गर्न सक्नु पर्छ । अबका बुढेसकालका दिनहरूमा मैले अझ धेरै उपेक्षाको सामना गर्नु पर्ने छ ।
यस्तो ज्ञान दिलाउने, कार्यक्रममा ताली बजाउन निम्तो दिने प्रिय आयोजकलाई म मनमनै धन्यवाद दिन्छु । हो, उपेक्षा पचाउन सक्नेले नै जविनको रहस्य थाहा पाउछ ।    
२०७७ पौष २१
३९.
भोको पेट

मेरो बिद्यार्थी कालको कुरा— गाउँमा कक्षा सात पास गरेपछि सदरमुकाम बजारमा पढ्न गइयो । फुफु र म एकजनाको घरमा बसेका थियौँ  । चामल र तरकारी  दिएपछि घरबेटिले नै खाना पकाएर दिन्थिन् । घरबेटिका मसिना नानीहरु थिए । सबैलाई थोरैथोरै दिएर भएपनि पु¥याउनु पर्ने तिनको बाध्यता थियो होला । भात थोरै दिन्थिन्, थप्दा पनि थोरै । गाउँ घरमा अघाउजी पुटुक्क भुडी उक्सिन्जेल खाने बानी परेका हामी आधा पेट हुन्थ्यो । जतिबेला पनि भोक लागिरहने हुँदा पढाई र खेलकुदमा ध्यान जादैनथ्यो ।
एक महिनापछि तिनको सासुकोमा हामी सर्नुपर्ने भयो । सासु कर्कश बोलीका कडा मिजासका थिईन् । ससुराको खुराक धेरै थियो । बिरालोले नाघ्न नसक्ने भात खान्थे । हामीलाई पनि सासुले थुप्रै भात दिन्थिन् । अघाउन्जेल खान पाएकोमा हामी मक्ख परेका थियौँ  । जति नै आदर्शका कुरा गरे पनि पेटभरी खान पाइएन भने ति आदर्शका कुरा फोस्रा हुन्छन् भन्ने त्यतिबेला थाहा भएको थियो । पेटभरी खान दिने हुनाले सासुको कर्कश बोली र कडा मिजास पनि हामीलाई राम्रो लाग्थ्यो ।
भोको पेटले कोही पुस्तक पढ्न सक्तैन । त्यो हाम्रो जीवनको पहिलो शिक्षा थियो ।
२०७४ जेठ २४ , धरान
४०.
इच्छा मरण


इच्छा मरण सबैको चाहना हुन्छ पौराणिक कथाका पात्रहरूको झैँ ।
के यो सम्भव छ ? प्रश्न मनको आयतन ढाकेर फैलन्छ । सम्भव छ । जीवनले यसरी थकाउछ कि मानिसहरू मर्ने इच्छा गर्न पुग्छन् ।
मैले धेरै रोगी बिरामीहरू भेटेको देखेको छु । मेरो आफ्नै स्व.पत्नी पनि । डायलाइसिस गर्दागर्दा थाकेर मधुमेहका बिरामी तिनले गुलियो चकलेट अति धेरै खाएर मलाई बिरामी स्याहार्ने झन्झटबाट मुक्ति दिन इच्छा मृत्यु रोजिन् र रुँदै बिदा भइन् । मुटु रोगीहरूले घ्यू बोसोयुक्त खाने कुरा खाएर इच्छा मृत्यु रोज्छन् । सबैलाइ इच्छा मृत्यु रोज्ने स्वतन्त्रता हुँदो रहेछ । सहिदहरू देशका लागि इच्छा मृत्यु रोज्छ्न् ।
म पनि इच्छा मृत्यु रोज्न मन पराउछु । मलाई पनि मधुमेह उच्चरक्तचाप आदि रोगहरूले मृत्युवरण गर्न सहज बनाएको छ । इच्छा मृत्यु रोज्न पर्याे भने मुख नबार्ने मनपरी खाएर इच्छा मृत्यु रोज्न सक्छु, तर इच्छा जीवन मेरो हातमा छैन । मेरा धेरै समकालिनहरूझैँ जीवनको नियम... मैले पनि जानै पर्छ । तर कहिले र कसरी ?
मुख बारीनँ र इच्छा मृत्यु रोज्दा पनि सहज मृत्यु भएन भने ...
‘इच्छा मरण’, ‘मृत्यु अवस्था’, ‘बाँच्ने मर्ने’. ‘जीवन भोग्ने सर्त’ अदना मानिसको वशमा हुँदैन कि ! वशमा नभएको. त्यसबारे केको चिन्ता !
म प्रसन्न हुन्छु ‘जतिसम्म बाँच्छु त्यो मेरो जीवन’ हो । जीवनको नौरङ्गी अनुपम सौन्दर्य देखेर म मुस्कुराउँछु । अझैसम्म म बाँचेको छु ...! सबै हामी घरतीका ‘राम्रो काम गरेमा महान् पनि बन्न सक्ने’ र ‘इच्छा मरण’ रोज्न सक्ने...! तर ‘इच्छा जीवन’ रोज्न नसक्ने अदना मानिस !
२०७६ फागुन १४, धरान
४१.
व्यावसायिक ज्ञान


नयाँ ठाँउ, नयाँ चलन र व्यवसाय । मलाई पहाडबाट मधेस झर्दा सब अनौठो र नयाँ लागेको थियो । माछा पक्रिने हुँदा पहाडमा जस्तै माछालाई डाँडमा पक्रिदा सिङ्गे माछाले हातमा घोचेर रुनु न हाँस्नु बनाएको थियो । पोलेर सहि नसक्नु भएको बेला स्थानीयले आगोमा सेकाउँदा बिशेख हुन्छ भन्ने ज्ञान दिएको थियो  ।
मधेसमा रहदै बस्दा मैले पनि कैयौ कुरा सिकेँँ । फरुवा खन्नु, गोरु जोत्नु, आली धुर कस्नु, पैनी कुलो थुन्नु वा ल्याउनु आदि खेतीका कामहरु । भर्खरै पहाडबाट झरेको एक जना लाठे पैनी थुनी रहेको छ । फरुवा पनि राम्ररी चलाउन जानेको छैन । बल्लबल्ल एक फरुवा माटो हाल्छ, पानीले बगाएर लगिहाल्छ । ढुङ्गा खोज्छ, मधेसमा कहाँ पाउनु ?
पैनी थुन्न नसकेर खुईय  गर्छ । मलाई दया लाग्छ र भन्छु “भाई, पैनी थुन्न पहिला किला गाढ़, त्यसपछि पराल वा झ्यास लगाएर माटो लगाऊ ।”
उसले त्यसै गर्छ र पैनी थुनेर रोपाई गर्ने खेततिर पानी लान सफल हुन्छ । व्यावहारिक सीप, व्यावसायिक अनुभव र ज्ञान कति महत्वपूर्ण हुन्छ जुन आफैले भोगेर मात्र प्राप्त गर्न सकिन्छ ।
२०७४ जेठ २०, धरान
४२.
भल–बाढी

खेत खोलाको छेउमा भएर पनि खेती गर्न जहिले पनि पानीको अभाव । सम्पत्तिको नाममा भएको एउटा खेत । कति पटक उसले कुलो खन्यो, केही दिनमै भल–बाढीले बगाएर उस्ताको उस्तै । अन्न फलाएर सम्पन्न बन्ने उसको सपना । हराभरा लहलह बाली कल्पना मात्र । भदौरे भल–बाढीले बगाएर खेतको नामो निसान केही रहेन । जिलो सकियो । लन्ठै साफ ! 
जीवन हो ! कसको पो चिताऊ पुगेको छ र !
             ं ं ं ं ं    
जे गरेर पनि पैसा कमाउने उसको उद्देश्य । अनेक परिश्रम, दुःख अनेक काम गर्दा पनि पैसा कमाउन सकेन । ढल्कदो उमेर भैसक्यो, के गरौँ ? भ्रष्टाचारी गिरोहसँग साँठगाँठ गरेपछि पैसा बर्सन थाल्यो । पैसा, पैसा थुप्रियो । पैसामा बस्यो, पैसामा सुत्यो । पैसाको भल–बाढी ! अहा ! अब भने उसले चिताको पुग्छ होला ...! हाँकेको ताकेको पुग्छ होला ! जीवन रमाइलै रमाइलो होला !
तर पैसाको भल–बाढीले बगाएर भ्रष्टाचारी गिरोहसँगै उसलाई पनि जेल पुरायो ।
छ्या पैसा ! सुखद असल जीवन गुजार्न कहाँ काम लाग्यो र !
२०७४ वैशाख १९, धरान
४३
शौख

शौख, इच्छा, विचार र सोच सबैको हुन्छ नै । त्यो भएन भने त मानिस र पशुमा फरक नै कहाँ रहन्छ र !
उसलाई फूल रोप्ने–स्याहार्ने शौख सानैदेखि थियो । सानोमा मुलघरमा पारी गाउँबाट उसले तारामण्डली फूलको हाघँगा लौरो जस्तो टेकेर ल्याई रोप्यो । जाग्यो, फुलिरहेको देखेर खुसी भइरहेको बेला गाँउ छाडेर परदेश लाग्नु प¥यो । ऊ अझै फेरि फर्केर गाँउ जान सकेको छैन । त्यस्तै खेतीपाती गरेर बस्ने मनसायले मधेस गयो । मधेसमा पनि तारामण्डली फूल रोप्यो । जाग्यो, बेस्सरी फैलियो । तर फेरि उसले मधेस छाडेर हिड्नु प¥यो । उसलाई लाग्यो कि ‘तारामण्डली फूल त अलच्छिनी पो रहेछ । रोप्यो, हुर्कायो । फुल्न थालेपछि त्यो थलो नै छोडेर हिँड्नु पर्ने ।’ 
‘हो वा होइन’ तर उसलाई त्यस्तै लागेकाले अहिले बसोबास गरिरहेको स्थानमा त्यो फूल रोपेको छैन  । 
फूल रोप्ने, स्याहार्ने र फुलाउने सोखका कारण उसले कैयौं फूलहरू जमिनमा र गमलामा रोप्यो, फुलायो । ऊ आफूले रोपेको फूल फुल्दा अपार आनन्द हर्षातिरेकले कति पटक भिज्यो, भिज्यो । उसकी पत्नी अनेकौं जातका फूलका बिरूवाहरू ल्याउथिन् । ऊ रोप्थ्यो, स्याहाथ्र्यो र फुलाउथ्यो...
उसको शौख अहिले लकडाउनमा समय काट्ने मेलोमेसो भएको छ । जीवनमा उर्जा पाउने आधार–आभास भएको छ । शौकको महत्व !
अहिले बुढेसकालको उमेरमा उसलाई फुर्सदै फुर्सद छ । कैयौं फूल मासिए । उसलाई मन परेको एउटा फूल सुकेर म¥यो । त्यो फूलको जरामा प्याजदानाजस्तो गुभो थियो । नचलाइ वर्षा सिजनको पर्खाइमा ऊ बस्यो । अहिले टुँसाउदै छ । त्यो फूल उसको स्वर्गिय पत्नीले ल्याएकी हुँनाले उसको निम्ति  अनमोल छ ।
ऊ सम्झन पुग्छ—  गइसकेकी उसकी पत्नी फूल को रूपमा उम्रिरहेकी छे ....! दिवङ्गत पत्नी ! उसको आँखा रसाउँछ ।
२०७७ जेठ २०, लकडाउन 
४४.
श्रद्धा

एक समय थियो त्यो सालिकमा श्रद्धाञ्जली चढाउन नेता ,कार्यकर्ता र सर्वसाधारणको घुइचो हुन्थ्यो । तर राष्ट्रघात, सिध्दान्तहिनता र भ्रष्टाचारको आहालमा पार्टि डुबेपछि त्यो सालिकप्रति पनि सर्वसाधारणको मनमा वितृष्णा पलायो ।
आज सालिकको जन्मजयन्तीमा एकजना सालिक निर्माता मात्र फूल अबिरका साथ श्रद्धाञ्जली दिन आएका छन् । उसलाई देखेर कसैले सम्झे वेवकुफ रहेछ । कसैले सम्झे सिध्दान्तवादी रहेछ । अरुहरूले जेसुकै सम्झुन् उसलाई मतलव छैन ।
ऊ सालिकलाई ढोगेर मनमनै सम्झन थाल्छ— ‘म गरिबीको अघोर यातनामा भएको बेला यही सालिक निर्माण समिति बनाएर धेरै चन्दा दान दातव्य लिएर थोरै खर्च गरेर सालिक बनाउन सफल भएँ । यसले मलाइ गरिबीबाट उन्मुक्ति दियो साथै पार्टिको नजरमा क्रियाशील देखिन पुगेँ । वार्ड अध्यक्ष भएर बेसुमार सम्पत्ति कमाएँ । धन्य सालिक ! कसैले मानुन् नमानुन् तर म भने बाँचुन्जेल सालिक तिम्रो ऋणी रहने छु । म सधैं शक्तिमा रहेको नेताको अन्ध पिछलग्गु भएँ । राष्ट्रघात, सिध्दान्तहीनता र भ्रष्टाचारले गर्दा शक्तिमा रहेको नेताहरूको पतनसँगै यो सिथिल स्थितिको जन्म भएको छ ।
मतिभ्रष्ट भएका नेताका कारण सालिक तिम्रो यस्तो गति भएको भए पनि तिम्रो जन्मजयन्तीमा (म एक्लै भए पनि) दुनियाँसँग उठाएर खाएको चन्दा दान दातव्य पचाउन र तिम्रो गुण तिर्न उपश्थित भएको छु !’
२०७६फागुन २३, धरान
४५.
शङ्काको पहरा

म अस्पतालको जनरल वार्डमा कुरुवा बसेको छु । छेउको पल्लो बेडको बिरामीलाई उसको कुरुवाले टोइलेट लिएर गएको छ ।
बेडमा वेवारिसेझैँ निकै महँगो मोबाइल सेट लडिरहेको छ । कामदार आएर तन्ना फेर्छिन् । मोबाइल सेट यताउता सार्छिन् । आफ्नो काम सकेर उनी जान्छिन् । म मोबाइल सेट देख्तिनँ । मेरो मनमा शङ्काको पहरा बन्छ । मोबाइल सेट पक्कै पनि कामदारले लगेको हुनुपर्छ ।
बिरामी र कुरुवा फर्किन्छन् । मोबाइल सेट नपाउँदा हल्लीखल्ली मच्चाउँलान् भन्ने म सोचिरहेको हुन्छु ।
तर उनीहरुले त्यस्तो केहि गरेनन् । म उनीहरुको गतिविधि ध्यानपूर्वक हेरिरहेको हुन्छु । सिरानी मुनिबाट बिरामीले मोबाइल सेट झिकेर हातमा लिन्छ ।
मेरो छट्पटिएको मन शान्त हुन्छ । तर मेरो पापी मन ...कसरी गरिब कामदारमाथि शङ्का गर्न पुग्यो ? म आफैलाई धिक्कार्छु— ‘गरिब भएकैले ऊ काम गरेर पेट पालिरहेको छ । इमानदार भएकैले गरिब छ । किन मेरो मन गरिब इमानदार कामदारप्रति शङ्कालु भयो ?’
२०७१ चैत ३०, मेडिकेयर अस्पताल
४६.
व्यवस्थापन

श्रेणिको पहिलो छात्र नुलोक हरेक परिक्षाहरूमा प्रथम हुन्थ्यो । तर ‘फोरजी’ चल्ने मोबाइल उसकै अनुरोधमा लाहुरे मामाले पठाइदिएपछि श्रेणिमा प्रथम त के उत्तिर्ण हुन पनि मुस्किल हुन थालेपछि अभिभावक र शिक्षकहरू सबै चिन्तित हुन थाल्छन् ।
यसो हुनुको कारण नुलोक मोबाइलमा धैरै भुलिनु र पढाइलाई समय नदिनु रहेछ । इन्टरनेट पुगेको ठाउँमा मोबाइलमा नभुलिने को होला र ? अनेक ज्ञान र मनोरञ्जन दिने इन्टरनेट ! इन्टरनेट मोबाइल अभिसाप हो त ?
आफ्नो पढाइ बिग्रेकोमा नुलोक चिन्तित भयो तर ऊ मोबाइल छोड्न सक्तैनथ्यो, चाहदैनथ्यो ।
धेरै नयाँ कुरा र जानकारी दिने स्रोत मोबाइल हो । तसर्थ ऊ मोबाइल एडिक्ट भएको थियो । किताब पन्साएर मोबाइल हातमा सधैं हुँदा पढाइ कमजोर भएको थाहा पाएर उ गहिरो चिन्तामा डुब्छ । अब उसले श्रेणिमा प्रथम भई उत्तिर्ण हुन के गर्नु पर्छ ?
सबैलाइ प्राप्त हुने समय बराबरै हो । समय जसले राम्ररी व्यवस्थापन गर्न सक्यो उसलाई समयको अभाव हुँदैन रूपैयाँजस्तै । नचाहिदो खर्च गरे अभाव हुन्छ । उसले मोबाइललाई बढि समय दिइरहेको रहेछ ।
किताब, पढाइ, मोबाइल, इन्टरनेट र अन्य कामहरू बीच समयको उचित बाँडफाड गर्दै उसले समय व्यवस्थापन गर्छ । पढाइ सुधार हुन्छ र पुनः ऊ श्रेणिको पहिलो छात्र बन्छ ।
समय व्यवस्थापन जीवन व्यवस्थापन पनि रहेछ । जसले राम्ररी समय व्यवस्थापन गर्छ ऊ जीवनमा सफल हुन्छ । यो थाहा पाएर नुलोकले किताब, पढाइ, मोबाइल, इन्टरनेट, घरको काम, व्यायाम आदिमा समय व्यवस्थापन गर्छ । यसरी हर क्षेत्रमा सफलता प्राप्त गर्न समयको सदुपयोग गर्छ ।
२०७६ फागुन १७, धरान
४७
स्वर्ग

स्वर्गको बयान सुन्दासुन्दा दस काम थाति राखेर म पनि स्वर्ग हेर्न घुम्न जान्छु ...
स्वर्गमा प्रवेश गर्दा नै मैले सबैलेजस्तै मनचिन्ते  झोली पाउछु । पाउनासाथ झोलीको बोली— “म तपाईंको  साथी हुँ, साथसहयोग मबाट स्वर्गमा पाउनु हुने छ ।”
यात्रा थाल्न अगाडि  म विश्राम गर्न चाहन्छु । हरियो चौर; फूलहरू फुलिरहेका, पुतलीहरू उडिरहेका, फलफुलका बोटहरू लटरम्म; मनमोहक फलैचा ! बस्छु, शुध्द हावा स्वास फेर्दै आनन्दित भईरहेको बेला फलैचा केले बनेको होला ? धातुको भए पनि मुलायम । म कोतार्न कोसिस गर्छु, झोलिबोली— “यो फलैचा पञ्चधातु फलाम, सुन, तामा, चाँदि, पित्तल र काठकासाथै सिलीकनबाट निर्मित टिकाउ पानी घाम हावाहुरीले नबिगार्ने तोडफोड नहुने भएकाले कोतार्ने कोसिस बेकार छ ।”
लटरम्म फलेको बोटतिर हात स्वस्फूर्त  पुग्छ, स्याउ, सुन्तला, लिची, आँप, केरा, अङ्गुर र किवी टिप्छु । खान्छु र तृप्त भएर धरतीका मानिसहरूले कल्पना गरेको सुन, हिरा, मणिमानिक्यले सजिसजाउ देवताहरूको दर्शन गर्न हिँड्न लागेको हुन्छु । झोलीबोली—  “फलैचा बसाइ र फलफुलको उचित दाम तिर्नुहोस् !”
 “दाम ?” सोध्छु ।
“हो ।” झोलीबोली सुनेपछि  भन्छु— “मसित केही छैन ।”
“झोलीभित्र तपाईंले लेख्नुभएको पुस्तक छ, एउटा त्यो सङ्गमरमरको सुन्दर टेबलमा राख्नुहोस् । यहाँ निशुल्क केही पाइदैन । हरेक मालसामान उपलब्ध छ । आवश्यकता अनुसार उपभोग गर्ने र क्षमताअनुसार उत्पादनमा सहभागी हुने । यहाँ सबै समान छन् ।”
आफूले लेखेको पुस्तकले तिर्न पाउँदा म खुसी हुन्छु । साहित्यिक पुस्तकको पनि मूल्य हुँदोरहेछ ! पुस्तक राखिसकेपछि सम्झन्छु मनचिन्ते झोली साथी र सहयोगी । “देउता, अप्सरा परी, सिंहासन, दरबार  हेर्ने मेरो इच्छा छ । झोली मलाई त्यता लैजानुहोस् !”
“त्यस्तो यहाँ केही छैन । यहाँ सबै मानव, पशुपंछि र उद्मिद बराबर समान छन् । यहाँ पशुपंछि र  बोटबिरुवा रुख सब बोल्छन् शाश्वत सार्वभौम भाषा । सबैले आवश्यकता अनुसार उपभोग र क्षमतानुसार उत्पादनमा योगदान गर्छन् । कोही बसिबसि खाने  ठूलो सानो  छैन । बरु तपाईँ यी सबैको बसोबासो रहनसहन हेर्न  सर्वआवास जान सक्नु हुन्छ ।”
सर्वआवास ! 
उद्मिद, पशुपन्छि, मानिस सब एकैठाउँ  ! पूmल फुलिरहेका, चराहरूले गुँडमा बचेरा हुर्काईरहेका, पशुहरू घुमिरहेका, मानिसहरू पनि (शासक शासित, साना ठूला नभएर सब समान) रमाईरमाई सबसँग मिलेर बाँचेका....
अहो ! स्वर्ग यस्तो पो रहेछ !!
२०७७ फागुन २४. (ब्लाष्ट टाइम्स  शनिबार, असार २५, २०७९ )
४८.
नरपशु

आफ्नै खर्चमा पुस्तक छाप्ने मूर्ख लेखक म भएको छु । साथी भाईहरूले किनी पढि दिउन् भनेर किताब बोकेर भेटिरहेको छु ।
कति त तिरष्कार भाव झल्काउदै भाग्छन् । कति पुस्तक हातमा लिएर ओल्टाइ पल्टाइ गर्छन् तर फ्याट्ट पुस्तक फालेर पुस्तकप्रति गहिरो वितृष्णा देखाउछन् ।
पुस्तक थुप्रै उपहार बाडेर साहित्यकार बन्ने धुनमा मैले बटुलेको अनुभव—  सित्तै बाड्दा पुस्तकको निकृष्ट अवमूल्यन हुँदो रहेछ । कसैले पढ्दैनन् । पुस्तक पढनका लागि हो । नपढिने पुस्तकहरू खोलामा फाले सरह हुँदो रहेछ । ज्ञानको नाश !
म सित्तै बाढेर पुस्तकको बेइज्जत गर्न चाहन्नँ । तर लागेको छपाइ खर्च उठाउन सकिन्छ कि !
पुस्तक मेरा शिक्षित साथी भाइहरूले किनी दिन्छन् कि ! आशामुखी बन्छु म । उनीहरू किन्दैनन् । मलाई आर्थिक सहयोग हुँदैन । त्यो त बेहोरी रहेकै छु ।
तर ती शिक्षित साथीहरू पुस्तकले दिने ज्ञानबाट विमुख भइरहेका हुन्छन् । साहित्यले दिने रसमय भाव, सम्वेग र अतुलनिय आनन्दको अनुभवबाट वञ्चित हुँदैछन् ।
पुस्तकप्रति वितृष्णा ! सुरुचिपूर्ण जीवन मार्गबाटै पलायन, सुखी जीवनको आशाको अन्तको थालनी । पुस्तक किन्न र पढ्न भनेपछि परपर भाग्ने शिक्षित मानिस शिक्षित नरपशु होइन र?
मैले लेखेको पुस्तक नपढे पनि अरु पढ्छन् होला नि । अरु पनि वा पुस्तकै पढ्दैनन् भने ती महामुर्ख शिक्षित नरपशु नै हुन् ।
हा..हा..हा.. म आफ्नै खर्चमा पुस्तक छाप्ने मूर्ख, तिनीहरू महामुर्ख । मनमनै हाँस्छु ।
२०७६।२।२७, धरान

४९.
झट्का

 “गाडि (कार) बेचेँ” भनेर छोराले सूचना दियो । कार हुँदा बेला बेला त चढिन्थ्यो नै ।
त्यो कार पत्नीको लागि नै किनेका थियौँ । धरानबाट डायलाइसिस गर्न बिराटनगर जानुपर्ने । हप्तामा दुई पटक, पछिपछि त हप्तामा तीन पटक ।
धरानमै पनि अस्पताल छ तर डायलाइसिसको लागि पालो नपाइने । पाए पनि हप्तामा एक पटक बढिमा तीन घण्टा । जब कि डायलाइसिस हप्तामा दुईपटक चार चार घण्टा गर्नु पर्दछ । त्यसैले बिराटनगर जानुपर्ने ।
बिहान पालो पर्दा ७ बजेदेखि ११ बजे सकिने हुँदा बिहानै हिँड्नु पर्ने । ६.३० तिर पुग्न ४.०० बजे बिहानै बस चढ्नु पर्ने । ४.००बजे बसपार्क पुग्न ३.१५भन्दा अगाडि नै हिँड्नु पर्ने, खाजा बनाएर बोक्नु पर्ने हुँदा खाजा बनाउन २.०० बजे बिहानै उठ्नु पर्ने । बाँच्नका लागि हामी पति पत्नी २.००बजे नै उठेर तयार हुने गथ्र्यो ।
घडेरी बेचेपछि छोराले नै सेकेन्डहेन्ड गाडि उसकै नाममा नामसारी गरेर किनेर ल्यायो । गाडि भएपछि ५.००बजे हिड्दा हुने भयो, बसको घुइचो धक्काधक्की पनि बेहोर्न परेन ।
काठमाडौंमा पनि डायलाइसिस गर्दा टेक्सीको झमेलाबाट मुक्त भयौँ । सिकिस्त भइन् भने अस्पताल पुग्न सजिलो भयो । कारले ठूलै काम दियो बिरामी पत्नीलाई स्याहार्न ।
कारसँग फोटो कहिल्यै खिचिनँ । कार बेचेको कुरा सुनेपछि त्यो कारसित फोटो खिच्न मन लागेर ग्यारेजमा जान्छु तर कार नभएको रित्तो ग्यारेज पत्नी नभएको मजस्तै । अब कहाँ फोटो खिच्न पाउनु र ! 
पत्नी नै नभएपछि कारको के काम ? चित्त बुझाउछु ।
त्यो कार देख्दा दिवङ्गत पत्नीसँग कारमा बसेर काठमाडौं, अस्पताल गएको दृश्यहरू आँखामा देखिँदा मन कुटुक्क खान्थ्यो ता पनि त्यो कार बेच्नेबारे सल्लाह नगरि बेचिसकेको सूचनाले मलाई अदृश्य झट्का लाग्छ । अब यस्ता झट्काहरू २०७२ सालको महाभूकम्पपछि ६ महिनासम्म आएको परकम्पको झट्काझैँ लाग्छ ।
झट्काबारे सोच्दा सँगसँगै काम गरेका एकजना समकालिन साथीले अस्पतालमा आफ्नो पत्नीको देहान्तको अकल्पनीय असहनीय मूल झट्का नै सहन नसकेर विषसेवन गरि आत्महत्या गरेको कुरा सम्झन पुग्छु ।
अकल्पनीय मुल झट्कापछि आईरहने यस्ता झट्काहरू मैले बेहोरी रहनुपर्छ, जुन दिन बेहोर्न सक्तिनँ... जीवनबाट बिदा लिनु पर्दछ !
२०७७ चैत १७  



५०..
अन्तिम थोपा

मृत्यु शय्यामा छ ऊ ।
अजम्बरी सोचेर उसले धनमाथि धन थुपार्यो । सम्पत्तिको थुप्रो !
पैसाको बल, छल, कपट, बेइमानी, धोकाधडी के मात्र गरेन उसले !
पार्र्टीको सर्वोच्च पद, सरकारको सर्वोच्च पद विदेशीहरूको गोटि भएर प्राप्त ग¥यो । 
राष्ट्रधात, भ्रष्टाचार, अन्याय, अत्याचार के चाहीँ गरेन ? देशद्रोहभन्दा ठूलो अपराध के होला ?
राष्ट्रघाती मेडल जनताले दिए । छलि भ्रष्ट दलाल सबै विशेषण पायो ।
अन्तमा अन्तिम कालमा आफूले गरेका यी निकृष्ट कामहरूले उसको आँखामा प्रायश्चितको आँसु जम्न खोज्यो ।
तर अन्तिम अवस्था !
     आँखाबाटआँसु खसाउनु त के... अन्तिम थोपा आँखामा जम्न समेत सकेन ।
...
दर्दनाक मरण !
२०७६ चैत १५,शनिबार, धरान
५१.
सय वर्ष पछि धरान 

बाहिर बरण्डाबाट देख्छु साघुरी, भेडेटार र हामी बसेको कोठा झन्डैझन्डै हाराहारी एकै सतहमा पो रहेछ, लिफ्टबाट चढ्दा यादै गरेको थिइनँ ।
अहिले हामी एउटा अनुसन्धानमा काम गरिरहेका छौँ— कसरी मानिसको आयु बढाएर बाँचुन्जेल तन्नेरी नै बनाइराख्न सकिन्छ ?
“अहा, के सुन्दर धरान !’’ उनी भन्छन् ।
“हो, हो !’’ सबै भन्छन् ।
पत्रकारको झुण्ड सधैं हाम्रा पछि लागिरहेका हुन्छन् । हाम्रो कामको प्रगति विश्व जान्न आतुर छ ।
“तपाईंहरू सफल बन्नु होला ?’’ पत्रकार सोध्छ ।
“केही अंशमा सफल भइसकेका छौँ । यो सफलता मानवजातिको महान् सफलता हुने छ ।’’ टोलीनेता पूरा बिश्वाससाथ जवाफ दिन्छन् ।
हाम्रो तस्वीरसहितको खबर तुरून्तै विश्वभर पुग्छ । हाम्रो काम पूरा सफल भएपछि त्यो देशको नयाँ ठूलो आयस्रोत हुने भएकैले देशले पनि ठूलो धनराषी लगानी गरेको छ । हामी ५०९ जनाको टोली अहिले धरान आएका छौँ । यहाँ हामी यो अनुसन्धानलाइ पूरा गर्ने छौँ । यहाँ आएको बेला धरानको पुरै दृश्यावलोकन गर्न हामी बरण्डामा उभिएका छौँ ।
हामी उभिएको जस्तो ९९तला अग्ला ५५०००जना मानिस बस्न सक्ने १५०वटा जति गगनचुम्बी भवनहरूले धरानको कुल क्षेत्रफलको एक तिहाइ जमिन ओकटेका रहेछन् । बाँकि जमिन तमोर नदीबाट भूमिगत सुरूङबाट ल्याइएको पानीले निर्माण गरिएको ताल पोखरी बनजङ्गल बगैचा हरियालीयुक्त वातावरण, मनै लोभ्याउने !
शिक्षा स्वास्थ निशुल्क भएकाले सब मानिस इमानदार र कर्तव्यनिष्ट छन् । सिमानामा काँडेतार लगाइएकोले छिमेकी देशबाट चोर लुटेरा आउन नसक्ने, सिमाना मिचिन नपाउने हुँदा देशभित्र शान्ति, सुरक्षा र जीवनअनुकुल परिवेश छ । देश आत्मनिर्भर मात्र होइन, विश्वकै उदाहरणीय शक्तिसम्पन्न देश बन्न पुगेको छ । सर्वाेच्च चोमोलुङमाझँै प्रति व्यक्ति आय सर्वाेच्च भएको छ साथै विश्वको शक्तिसाली मुलुक र बैज्ञानिक आविष्कार गर्ने र बिध्द्वान जन्माउने मुलुक भएको छ ।
हामी मोबाइलमा धरानबारे हेरेर सबै जानकारी पाउछौँ । धरान मुलुकको सुन्दर रमणीय सहर रहेछ । धरानका आसपास रहेका १०० वर्ष पहिलाका जस्ता साना साना घरहरू विश्वकै उत्कृष्ट र मँहगा रिसोर्ट रहेछन् ।
“अहा, सय वर्ष पछिको धरान !’’अचानक मेरो मुखबाट निस्कन्छ !
“अहा, सय वर्ष पछिको नेपाल !’’ अरूको मुखबाट पनि निस्कन्छ !
२०७६।८।११, धरान
५२.
व्यस्तता


के हेरेको ?
मोबाइलमा कमेन्ट नि
कस्तो कमेन्ट ?
ढिलो आयो कडा आयो
अनि ?
त्यो केटिलाई मजालि पाल्छु लेखेछ कमेन्टमा केटाले । तँलाई तँजस्ता ५०जनालाई नोकर राख्छु रिसाएर केटिले लेखेको कमेन्ट । पढ्दा मजा आउदै छ । डिस्टर्ब नगर न ।
अनि भात ढडिसक्यो होला !
एक छिन, यी कमेन्टको घम्साघम्सी हेरि हालौँ । ला, फेक आइ. डि. होला, मनपरि पो लेखेको छ ।
खोई, म पनि हेर्छु ।
नाइ, मेरो मोबाइल हेर्न दिन्नँ ।
मसित पनि गोप्य लुकाउनु पर्ने ? के छ मोबाइलमा ?
ल, तपार्इँंसित त लुकाउनु पर्छ । अरुसित त किन लुकाउनु प¥यो ।
ल के गनायो ?
ला इस्त्री, आइरनले मेरो सारी नै ढडेछ । हरे ! कस्तो लोग्ने ? बुढिको चियोचर्चामै व्यस्त । आइरन हेर्देको भए सारी ढड्दैनथ्यो ..
ल ल, म पो चियोचर्चामा रे । अलिकति शङ्काको झिल्को सल्किन थालेछ ... । तिमी मोबाइलमा व्यस्त । भात र सारी त ढड्यो, ढड्यो... अब प्यारी हाम्रो दाम्पत्य जीवन नढडोस् है यस्तो मोबाइल व्यस्तताले ।
अँ, हेर मेरो सारी ढडेकोमा खुसी ... आँ भन्दिन । मैले बुझेँ तिमी बुझकी छौ । र, हाम्रो दाम्पत्य जीवन रमणीय छ । सुखी दाम्पत्य जीवन भएकैले मोबाइल छ, सबथोक छ सुखद जीवनकै लागि ... बाँचुन्जेल एकअर्काको ...    
मुन्धुम  मासिक, पूर्णाङ्क १७५ (कार्तिक, २०७६)
५३.
बाकसमा किताब

चारैतिरबाट सोच्दा जीवनमा के पाइयो ? के गुमाइयो ? कुनै बेला मनमा प्रश्न उठनु स्वाभाविक हो ।
जितेको भन्दा हारेको अनुभूतिले साहित्यतर्फ म धकेलिएँ । लेखेँ निबन्ध । छाप्ने रहरले चैन हरायो । प्रकाशन सहकारी बनाएर २७ जनासँग ५०००।— का दरले पैसा जम्मा गर्दा १२५०००।— जम्मा भयो ।
पैसा जम्मा भएपछि सपना देखियो लाखको । ५००० प्रति पुस्तक १००।— ले ५०००००।— । पाँचगुणा ...
९७०००।—रूपैयामा पाँच हजार प्रति पुस्तक छापियो । छापेपछि पो देखियो पुस्तक संसारको झिलीमिली । विमोचन भव्य गरियो । पुस्तक नबिकेर थन्कियो । मुसाले काटेर ढुट्टो ।
पत्नीले हिउदमा सिरक डसना कम्बल राख्न किनेको ठूलो टिनको बाकसमा मुसा धमिराबाट बचाउन सिरक डसना कम्बल झिकेर पुस्तकहरू राखियो ।
पत्नीसँग भनाभन पनि भयो । अन्तमा पाँच लाखको किताब जोगाउन तिनले पनि सहमति जनाइन् । त्यतिबेलादेखि राखेकोे किताबहरू अझै बाकसमा नै छन् ।
ती किताबहरूमा अरू किताबहरू पनि थपिदै गए । पत्नीको देहावसान पछि ‘नौरङ्गी’ र ‘फुली’ किताबहरू पनि थपिेए ।
अब प्रश्न उठिरहेको छ बाकस कहिले खाली होला ? बाकसको किताब सम्पत्ति हो कि होइन ? र, कहिलेसम्म राखिरहने ...!
२०७६।३।४, धरान
५४.
 सुनको औंठी

औंँलाहरुमा सुनको औँठीहरु लगाएको त्यो मान्छेप्रति सबैको ध्यान आकर्षित हुन्छ ।
ठग सोच्छ— ‘कसरी ठगेर सुनको औँठीहरु हात पार्ने ?’
चोर सोच्छ—‘सुनको औँठीहरु कसरी चोर्ने ?’
डाका सोच्छ— ‘योसित यति मात्रै सुन छ कि अरु होला ? धेरै भए डकैती गर्नु पर्ला ।’
नेता सोच्छ— ‘त्यो मानिसको औँलाभरि सुनैसुन छ । तर दिमाग खोक्रो छ । मेरो ढिकुटीभरि सुनैसुन छ । यसको खोक्रो दिमागमा भुस भरेर यसको सुन मेरो ढिकुटीमा पुराउन सकिन्छ ।’’
नभन्दै भोजभतेर चलिरहेकै बेला नेता त्यो मानिस छेउ आउँछ । ठग, चोर, डाकाहरुलाई पनि नेताले अनेक चमत्कार देखाएर हायलकायल पारेर आफ्नो मुठ्ठीको माखो बनाईसकेका हुन्छन् । सबै नेतासामु नतमस्तक ।
नेताले त्यो मानिसलाई एकान्त लैजान्छ र कानेखुसी गर्छ । के के भन्यो ? के के ग¥यो ?
केहि समयपछि नेताको पाइला पछ्याउँदै त्यो मान्छे राजनीतिमा लागेको देखिन्छ । देशको सम्पत्ति नेताको ढिकुटीमा पुगेजस्तै त्यो मान्छेको सुन पनि नेताको ढिकुटीमा पुग्छ ।
 समकालीन नेपाली प्रतिनिधि लघुकथा २०७६
५५.
हार

त्यो धनमानेले मलाई जिन्दगीमा यति धेरै दुःख दियो कि मेरो जिन्दगी नै नरक भयो । जेल बस्नु पर्याे, स्वास्नी छोराछोरीहरूसँग छुट्टिनु पर्यो । कुकुरले समेत नपाउने दुःख पाइयो, भनि साध्य छैन । त्यसलाई कुटपिट गर्दै अन्तमा त्यसको ज्यान लिने उद्देश्यका साथ खुकुरी, पेस्तोल र विष बोकेर रातको अन्धकारमा म त्यसको घरभित्र सुटुक्क छिरेको छु ।
‘मलाई चिनिस् ? ए बजिया, धन्माने । म आज तलाई मारेर बदला लिन आएको छु, हा..हा..हा..।’ म डरलाग्दो अट्टहास हाँसो हाँस्दै त्यसको कठालो समात्छु ।
‘अँ..अँ..तँ.. ह् ह..ज्जुर.. काले ..।’
‘अँ, काले होइन तेरो काल, कति दुःख दिइस्, त्यसको बदला लिन आएको..।’
उसको चालढाल र अनुहार नियाल्छु, त्यहाँ कहाँ पहिलाको धनमानको फूर्तीफार्ती र रूपरङ्ग छ ?  म जस्ता धेरैलाई अन्याय र अत्याचार गरेर कमाएको बैभवले उसलाई सुख दिएको रहेनछ । भिजेको मुसो जस्तो, प्यारालाइसिस भएर राम्ररी उभिन पनि नसक्ने, दुब्लो अहिले नै मरिहाल्छ कि जस्तो । म सन्तोष मान्छु ।
उसको त्यस्तो हालत देखेर मैले खुकुरी, पेस्तोल र विष केही पनि निकाल्न परेन । मैले सोचेको थिएँ— विष कि खुकुरी वा पेस्तोल ? कुनै एक रोज्न लगाएर त्यसैद्वारा मार्ने । उसको त्यस्तो अवस्था देखेर म उसको कठालो छाड्छु ।
ऊ डङ्ग्रङ्ग लड्छ, केही हलचल गर्दैन । छाम्छु ऊ त मरिसकेछ ।
बदला लिनका लागि जीवनभर तड्पे । सबै तयारी पूरा गरेर पनि म हारेँ । अन्तिममा पनि उसैले जित्यो !
२०७०चैत १२, बुधबार, धरान
५६.
आज पनि ब्युझेँछु 

  हिँडेको हिँडेकै ! यो कस्तो ठाउँ हो ? कहिल्यै अगाडि नहिँडेको तर घरिघरि चाहिँ हिडेकै जस्तो लाग्ने ।
नुहाउन भनेर लुगा खोल्दै थिएँ । नुहाउन छोडेर हिँड्न पो थालेछु । एक्लै थिएँ, पछि दुईजना अनि फेरि निकै जना । हिँडेको हिडेकै कहिले टाकुरामा कहिले भर्खर बन्दै गरेको कच्ची बाटो, गुरुरु कुदेजस्तो हिँडिरहेका । खोचजस्तो दोहोरी पसलहरू, बाटो त हरायो । बाटो खोज्दै घरभित्र छिरेको, घरहरूकै भित्रभित्रै ढुङ्गा छापेको गोरेटो । हिँडदै छु तर सँगसँगै हिँडिरहेको कोही छैन । कता हराए ? एक्लै हिँड्दा हिँड्दा लामो पक्की पुलमा पुग्छु । पारीपट्टी... अहा ! कस्तो रमणीय स्थान, हरिया फाँटहरू रङ्गीचङ्गी फुलहरू झुलिरहेका, पुतलिहरू उडिरहेका, खालखाल्का चराहरू पनि उस्तै आकर्षक, रूखहरू...पाकेका स्याउ, सुन्तला लगायत थुप्रै फलहरूले हाँगा नुहेका । भुँइबाटै टिप्न सकिने । मनमोहक सुन्दर शान्त वातावरण, वारीबाट देख्ता नै लोभ लाग्दो ।
त्यतै जान्छु । कहिले त्यो सुन्दर ठाउँ पुगेर फल खाँदै विश्राम गर्नु । हतारिएर हिँडिरहेको छु, पुग्न लागेको बेला पुल त भत्केको ! पारी पुग्न करिब बाह्र पन्ध्र फिट दुईवटा खिया लागेको रड डण्डी मात्र छ ।
त्यहाँ पुगिसकेको एक्लो म अब फर्किन सक्दिनँ । रड डण्डीमै हातले झुन्डिएर पारी पुग्ने भनेर झुन्डिदै हात सार्छु । तल हेरेको अनन्त गहिरो कालो खाल्डो । खसियो भने काम तमाम ! एक दुई गर्दै दस पटक सम्म त हात डण्डीमा सार्छु, बीचमा पुगेको छु । पाँच हात जति सर्न सके पारी पुग्न सक्थे तर पाखुरा गलेर खत्रक्क, जिउ थाम्नै गाह्रो... न वारि न पारी... कति बेलासम्म झुन्डिरहन सक्छु ?
झल्यास्स ब्युझेँछु । आज पनि ब्युझेँ । बेलुकि सुत्दा नै भोलि बिहान ब्युझन्छु ब्युझिन्नँ सधैं शंका लाग्छ । त्यो मैले देखेको सपनामा पारी पुगेको वा खाल्डोमा झरेको भए म सपना देख्दादेख्दै आफैले पनि थाहै नपाई खुसुक्कै गईसकेको हुन्थे होला !
बुढेशकाल, रोगी शरीर ! साँच्चै भन्नू पर्दा बलिरहेको जिन्दगी कति बेला निभ्छ भन्नै नसकिने भएकैले जहिले सम्म बाँचिन्छ— त्यो नै जीवन रहेछ । बाँचुन्जेलको जीवन !
२०७७ फागुन ८
५७.
दुर्घटना

व्यस्त सडकमा गाडीहरुको घुइँचो, बाटो काट्न असाध्य डर लाग्छ । बाटो काट्नका लागि सडकमा ध्यान केन्द्रित गरिरहेको छु ।
एक जोडी युवा कानमा मोबाइलको एयरफोन राखेर बाटो काटिरहेका छन् । अकस्मात जोडले हुइकिदै आएको एउटा गाडीले हानेर दुवैजनालाई लड़ाउँछ ।
म सोच्छु— बिचरी युवती तरुनी हुँदै दुवै खुट्टा भाँचिएर अपाहिज जिन्दगी बाँच्न विवस भई्र । अरुहरूसँगै दुर्घटना स्थल पुग्छु । पहिलो नजर युवतीमाथि नै पुग्छ । युवती मरिसकेकी हुन्छे । “ठिकै भो, अपाहिज जिन्दगी भन्दा मरेकै बेश !”
अब मेरो नजर युवकमाथि पर्छ । अन्तिम अवस्थामा प्वाकप्वाक गरिरहेको हुन्छ । बिचरा बाँच्योभने प्रेमिकाको मृत्युको अकल्पनीय शोक सहन विवश हुनेछ । मान्छेको घुइँचो बढिरहेको हुन्छ । हेर्दाहेर्दै युवकको पनि मृत्यु हुन्छ । “ठिकै भो प्रेमिकाको मृत्युको पीडा सहनु परेन, मरेकै बेश !”
दुवैको एउटै चिहान । दुवैको दुःखै सकियो र आश्चर्य ! दुई ज्यानको निधन भएकोमा मन ढुक्क हुन्छ ।
पुलिसको गाडी साइरन बजाउँदै आउँछ । यो मन के भएको होला ? यो मन दुई ज्यानको निधनमा दुःख मनाउसम्म गर्न नसक्ने सम्वेदनाहीन दुर्घटनाग्रस्त अपाहिज भैसकेछ !
२०७३ फागुन ८, धरान




५८.
साक्षी

धेरै समय उनको बारेमा केही सुनिएको थिएन ।
अचानक हामीलाई प्राथमिक पाठशालामा केटाकेटी हुँदा पढाउने सरसित भेट हुन्छ । भलाकुसारीपछि कुराकानीको क्रममा उनी भन्छन् “यो बाटोमा सधैं हिँडिरहने मेरो पुराना बिद्यार्थी मुनबाला बस्ने त्यो .. के नाम ?’’ म मुनबाला बस्ने यो बाटोमा सधैं हिँडिरहनेहरू सम्झन थाल्छु । सम्झेर भन्छु “काजीराम ।’’
“हो उनै काजीराम । धेरै दिन नदेख्दा सुन्दरमानलाई सोधेँ । थाहा हुन्छ ऊ त बितेको धेरै महिना भइसकेको रहेछ ।”
मलाई पनि उनी बितेको थाहा थिएन । ऊ मेरो बाल्यकालको मिल्ने साथी थियो । उसले मलाई याङटाङ खोलाको दहमा पोडी खेल्दा अग्लो ढुङ्गोबाट हाम फाल्न लगाएको थियो । हाम नफाल्दा डरपोक भइन्छ भनेर डराईडराई फाल हानेको थिएँ । गहिरो दहभित्र डुबेको डुबेकै, गहिरो झन् गहिरोभित्र डुबेको डुबेकै । भुँइ कहिले भेट्ने होला ? हातखुट्टा चलाएपछि दहमाथि उत्रेको सम्झना भर्खर हिजोको जस्तो लाग्छ । बिचरा काजीराम रहेनन् ।
अब म पनि कति दिन रहुलाँ ? उनी नरहेको साक्षी ति हाम्रा बाल्यकालका शिक्षक  भए । अहिले बाँचिरहेका हामी नरहेको साक्षी को होलान् ? आखिर आज रहेका सबै नै केही दिन पछि रहदैनन्...
म याङटाङको दहभित्रझैँ जीवनको क्षणभङ्घुरताको गहिराइभित्र डुब्न थालेको हुन्छु, डुबेको डुबेकै हुन्छु ।
२०७३ मंसीर २७, नखिपोट
९.
प्राप्ति

ऊ एक्लो ४७ वर्षीय, एम. ए. को परीक्षा दिई रहेको रहेछ ्र भेट हुँदा सोध्छु— “ पढाईमा किन ढिलो हुनुभयो ?”
“पढाई वा राम्रो काममा कहिल्यै ढिलो हुँदैन भन्छन् ।”
मुख भरी जवाफ पाएर विषयान्तर गर्न सोध्छुँ— “किन विवाह गर्नु भएन ?”
“कतिपय कुराहरू गरौँ भन्दा भन्दै समयले साथ नदिँदा अधुरो हुँदा रहेछन् ।”
“एक्लो जीवन खल्लो लाग्दैन ?” व्यक्तिगत जीवनमा हस्तक्षेप जस्तो हुने प्रश्न लाजै पचेर सोध्छुँ ।
उनी रिसाउलान् भन्ने सोचेको, अट्टहास हाँसो हाँस्दै भन्छन— “यसको पनि मसँग ‘रेडिमेड जवाफ’ छ । सबैलाई दिएकै जवाफ ...सबैले विवाह गर्नै पर्छ र ? विहे गरेर सन्तान पाउनु मात्रै उपलब्धी वा प्राप्ति हो र ?! आफ्नै प्रकारको जीवन गुजार्न पाउनु मानिसको नैसर्गिक अधिकार हो कि होइन ? एकल पुरुष जीवनमा प्राप्ति हुन सक्छ कि सक्दैन ? .... प्रश्नै प्रश्नहरु बोकेर अगाडी बढ्ने कोसिस ठीक हो वा होइन ?”
 २०७३ माघ ६, धरान
६०.
 अवसान जीवनको


...कुनै काम बाँकि रहेन ।
२०७७ फागुन २२
६१.
साहित्यको गरिमा


     मैले पनि मेरा समकालीन राजनैतिक खलनायकहरूलाई नायक बनाएर थुप्रै साहित्यिक रचनाहरू रचेँ ।
‘हात्तीको गरिमा’ भन्ने आध्यात्मिक कथामा हात्तीलाई भुक्दै कुकुरले पछ्याईरहदा पनि उसले कुनै प्रतिक्रिया नदेखाएकोले कुकुर थाकेर चुप भयो । यदि हात्तीले पनि कुकुरले जस्तै प्रतिउत्तर दिएको भए हात्ती र कुकुरमा के फरक रहन्थ्यो र ?
हात्तीको गरिमा कहाँ रहन्थ्यो र !
मैले पनि खलनायकहरू त समयको उर्लदो भेलमा केही बेर नायकजस्ता झुक्किएर देखा पर्ने क्षणिक कुपात्रहरू भएको रचनाले साहित्यको गरिमा बोक्न नसक्ने हुँदा त्यस्ता रचनाहरू नष्ट गर्न उचित सम्झेँ ।
र, अब त्यस्ता रचना नगर्ने नलेख्ने निधो गर्छु ।
         २०७७ पुस १४, मङ्गलबार

६२.
साथीभाइबहिनी

     जीवन साथीको देहावसानले यत्ति धेरै पीडा आघात दियो कि वर्णन गर्नै सकिँदैन । त्यो पीडा आघात छल्न साहित्यलाई ढाल बनाउदा एउटा संगालो जन्मियो ।
प्रकाशनार्थ काठमाडौं गएँ ।
मेरो नजिकैको काठमाडौंमा बस्ने साथीलाई मन्तव्य लेखाउन फोन गरेँ । सोध्नु भो— “मेडमलाई कस्तो छ ?”
छक्क परेँ । घनिष्ट साथी !
सम्झेँ मेरा घनिष्ट समालोचक साथीहरू समीक्षा लेख्दा साहित्यकारको सूचीमा झुक्किएर पनि मेरा नाम लेख्दैनन् । सँगसँगै पढायौँ, बस्यौँ, घनिष्ट भयौँ प्रा.डा. भएका छन् । तर... के भन्नू र ? आत्मकेन्द्रित जमाना !
जेजति गर्नु छ, एक्लै गर्नु छ । सब पेट पाल्ने सुसेधन्दामा एक्लाएक्लै भएका छन् । मजस्तै सांसारिकतामा एक्लै डुबिरहेका साथीभाइबहिनीहरू !
साँच्चै नै साथीलाई मेरो पत्नीको ६ महिनाअघि नै भएको देहान्त थाहा नमएर नै सोधेका होलान् । म कति प्रिय रहेछु साथीभाइबहिनीहरूका लागि...
मन्तव्य लेखाउने मन सेलायो । फोनमा जवाफ दिएँ— “६ महिना अगाडि नै पूरा निको भईन् !”
२०७७ फागुन २३
६३.
पोखरी

पोखरी कि समुद्र ?
संसारभरि नै यस्ता फोहोरी राजनीतिको पोखरीहरू छन् । संसारको कुराभन्दा आफ्नै देशको आफ्नै स्थानीय स्थानको कुरा गरौँ कि ...
के गर्नु र ? कुराकै दुःख...
तपाईं पनि पोखरीभित्र डुबेर निस्कनु भएको रहेछ । यथास्थिति समर्थक...
हा हा हा ... कस्तो पोखरी ?
पोखरी पवित्र हुन्छ । पोखरी होइन आहाल... फोहोरी राजनीतिको आहालमा जहाँ नडुबी राजनैतिक नियुक्ति, दलको सदस्यता, कर्मचारीले बढुवा पाउदैनन् । आहालमा डुबेर निस्कनेहरूले सबै कब्जा गरेका छन् । सत्य र न्यायको कुरा ओझेलमा पार्ने भएभरको शक्ति लगाउन उद्दत छन् ती मैलिएका फोहोरीहरू, दलेझोलेहरू ...
कुटाइ खानुहोला, सेना प्रहरी प्रशासन सब त उनीहरूकै पकडमा छ ...
कुटाइ, बुठलाठी जेलनेल भिजिलान्ते अनेक प्रयोग गरेर पनि तानासाहहरू टिक्ने बल गर्छन् नि । तर तीनीहरू सकिन्छन् नै ...
ती सकिए पछि पनि त्यस्तै त आउछन् नि ...
हो, ठीक विश्लेषण ! त्यसैले फोहोरी राजनीतिको आहालै पुर्नु पर्छ । त्यो आहाल पुरिए पछि भ्रष्टाचार, राष्ट्रघात, बेइमानी, झुट छलकपटको फोहोरी राजनीतिको अन्त हुन्छ ।
सर्वजनहिताय पवित्र प्रिय कञ्चन राजनीतिले सबैको मुहारमा मुस्कान ल्याउँछ ... ल्याउँछ !
२०७७ वैशाख १८, लकडाउन
६४.
समयको साथ


नियमित हिडाइमा हुन्छु ।
अघिअघि को हिडिरहेकी÷हिडिरहेको देख्छु ।
पछाडिबाट शारिरीक बनोट अत्यन्त सुन्दर छरितो र आकर्षक  देखिन्छ ।
त्यस्तो शरीरधारीको अनुहार कस्तो होला ?
हेर्ने लालायित  मनले मलाई पछिपछि छिटो छिटो हिँडाउँछ ।
उसको हिडाईको गति त्यति तीव्र नभए पनि सतत अविरल हुन्छ ।
उछिनेर अगाडि पुग्दै सिङ्गो रूप हेर्ने लालसाले म पनि छिटोछिटो हिडिरहेछु । त्यो अपरीचित र मेरो दुरी क्रमश कम हुँदै गईरहेकोले म उत्साहित भएर अझ पूरा सामथ्र्य साथ पछ्याई रहेको हुन्छु ।
अब भेटेँ भेटेँ ।
भेटनै लागेको बेला एउटा कार आएर  उसको छेउ रोकिन्छ ।
ऊ कार चढ्छे÷चढ्छ । कार हुईकिन्छ ।
म हेरेकोहेरेकै हुन्छु ।
गई त हाल्यो । को होला ? सायद भेट्नै आँटेको बेला फुत्किएको त्यो समय...
अब कहिल्यै फेरि   देखिएला ? देखिए भेटिए पनि कसरी चिन्न सकिएला ?
यस्ता के के कति कति र को को भेट्नै सकिएनन्  । सुमधुर  सङ्गित बजिरहेको बेला  सितारको तार चुडिएझैँ बितेर गएका क्षणहरू !
क्षणभर मात्र समयले साथ दिएको भए...
एउटा बितेर गएको क्षण...यस्तै क्षणहरूको सङ्गम रहेछ समयको अविरल प्रवाह...उफ् !
समय ? समयको साथ !

२०७७ कात्तिक २७ 

६५.
समकालिन बचाइ

सम्झना त रहेछ जीवन । म अहिले क्याम्पसमा पढाउदाका समकालीन प्राध्यापकहरूलाई सम्झिरहेछु । सम्झदाँ त्यो बितेको दिनहरूले मभित्र सजीव संवेग सञ्चार गरिरहेछ । उर्जा रमणिय !
“त्यो प्राध्यापकले जस्तो घटिया स्तरको १८ वटा टेक्स्ट बुक म लेख्तिनँ । एउटै लेख्छु, खदिलो ओरिजिनल लेख्छु । म्याटरियल जम्मा गर्दै छु ।” भनिरहन्थे उनी ।
अचानक एक बिहान सुन्छु अब ती प्राध्पापक रहेनन् । उनले भनेको ओरिजिनल पुस्तक निस्केन । थकथकि लाग्छ मलाई, केही दिन बाँचेको भए पुस्तक लेख्थे कि !
‘नहुनु मामा भन्दा कानो मामा जाती’ भनेझैँ अर्का प्राध्यापकले घटिया स्तरकै भए पनि १८ वटा लेखे, छपाए । त्यही पुस्तक पढेर कैयौ बिद्यार्थीले परीक्षा पास गरे ।
ती प्राध्यापक अहिले कहाँ छन् होला ? चालीस वर्ष ! चानचुन समय होइन । उनी जस्तै म पनि सुगा भई सकेको थिएँ । एउटै कुरा दोहो¥याएर पढाउदा पढाउदा ... शिक्षा प्रणाली नै त्यस्तो थियो । खासै अहिले पनि व्यवस्था परिवर्तन भएको भनिए पनि प्रणालीगत के परिवर्तन भएको छ र ?
आ, ‘आग्राको कुरा गर्दागर्दै गाग्रा’मा पो कुरा पुगेछ । घटिया र असल के ? घटिया नै भए पनि नेपाली सरल भाषाको पुस्तकको त्यतिबेलाको तात्कालिन आवश्यकता थियो ।
सधै त के र को रहन्छ र ? न म न अहिले बाँचिरहेका मान्छेहरू । आज म छु । भोलि नहुन सक्छु वा हुन्नँ । त्यहि भएर तात्कालिन परिवेशकै लागि केही नगर्नु भन्दा केही गर्नु नै आवधिक समकालिन बचाइ हो कि !
२०७७ वैशाख २४, लकडाउन
६६
मनोलोक


“यस्ती थिई भनेर सम्झनुपर्ला !”— ‘तलतल’ कथामा ताराले छोरालाई भनेकी वाक्य हो यो । पढ्नु लेख्नु सामाजिक सञ्जालमा भुलिनु लकडाउन अर्थात कोरोना कोविद १९बाट आफू बाँच्नु र अरूलाई पनि बचाउनु— दैनिकी भएको छ ।
२०१९सालतिरको एस. एल. सी. को पाठ्यपुस्तक ‘नेपाली गद्य–सङ्ग्रह’ (पहिलो भाग)का अमर कथाहरू पचपन्न वर्षपछि पढ्दा म १६वर्षे बिद्यार्थी हुन पुगेको आनन्दाभूति हुँदा गद्गद् हुन्छु ।
‘त्यो फेरि फर्कला ?’ कति पटक पढियो फरक फरक उमेर, अवस्था र परिवेशमा । बिद्यार्थी हुँदा । शिक्षक हुँदा । अवकाशप्राप्त वृद्धावस्था हुँदा । अविवाहित हुँदा । विवाहित दाम्पत्य सुखभोग गरीरहँदा । एकल जीवन भोगिरहँदा । वाह्य प्रभाव एकै स्तरको रहे पनि आन्तरिक भने कति फरक !
सानीजस्तै जीवनभरको गन्तव्य बिलाएपछि बाँकि के रहन्छ र ...
परिबन्द र नासो भावावेग मथ्थर भएपछि मात्र पढ्ने सोच बनाएको छु । शुभेच्छा, भविष्य निर्माण, हराएको सारी, निद्रा आएन, कहाँ आएँ, दिल्लीको सुर्मावाला, दोषी को ? जीवनले भोगिसकेजस्तो लाग्छ . दिल्लीको सुर्मावालाले ठगेझै गन्तव्य पुग्ने बेला कतै म नराम्ररी ठगिएको छु कि ! कि सबैको बचाइ यस्तै हुन्छ ?
‘तलतल’ अब । बाँच्ने भोग्ने ‘तलतल’ बढ्दाबढ्दै बचाइ तुरिँदो रहेछ । यस्ती थिई भनेर सम्झनुपर्ला ! शब्दहरूमा के छ ? नसम्झौँ भन्दा नि यस्ती थिई भनेर सम्झना आइरहन्छ ! बिर्सियौँ भने सम्झने अर्थाेक के नै बाँकि रहला र ! सम्झनु भनेको छाडेर जानेको लागि नभएर बसिरहेकाहरूका उजाड मरूभूमिमा बाँच्नका लागि निर्माण गरिने सुन्दर भर्चुवल मनोलोक रहेछ ।
मेरो शेखपछि मलाई सम्झने कोही होलान् ? नभएको ‘म’लाई सम्झे पनि बिर्से पनि नभएको ‘म’लाई बेअर्थको कुरा ! यस्ती थिई भनेर सम्झनु बाँच्ने मनोआधार ! ‘ओएसिस’ !!
विविध चरणहरू जीवनका...
त्यो फेरि फर्कला ?
यस्ती थिई भनेर सम्झनुपर्ला !
नासो हो यो कसैको उसैलाई सुम्पन पाइएला... असम्भव । जुन बितेर गइसक्यो !
दोहो¥याई तेहो¥याई चौह¥याई पढेको कथाहरूले बुझाएको बेअर्थ ! बेकारको तुजुक !
तब हो के जीवन ?! हो के जीवनका कथाहरू !?
२०७७जेठ ८, लकडाउन
६७.
मिलिक्कै

 
नरिवल रोपेर खान पाईदैन भन्थे । तर मैले युवाकालमा नरिवलको बिरुवा घर अगाडि रोपेँ । अगाडिको बाटो फराकिलो बनाउने कुरा सुनेपछि निकै दुःखसाथ खनेर जरो सहित घर पछाडि सारँे । मर्छ कि ! जाग्यो फेरि त्यो ठाउँ उपयुक्त नलागेर अर्को ठाउँ सारेँ । यसरी सार्दा जत्राको तत्रै पाँच वर्ष बित्यो । मैले पनि विवाह गरेर त्यस अवधिमा गृह लक्ष्मी भित्र्याएँ । पाँच वर्षपछि त्यो बिरुवा हललल बढ्न थालेर हेर्न रहरलाग्दो भयो ।
मेरा पनि छोराहरू जन्मिए । नरिवल पनि फल्न थाल्यो । आफ्नै पौरखको स्वादिलो फल !
त्यही बोटको फल बिरुवा रोपेर अरु सात बोट हुर्काएँ । सबै बोट फल्न थालेपछि नरिवलको पानी, दाना सबै परिवारले धित मरुन्जेल खायौँ । पत्ताबाट झाडु बनाएर झाडुको खाँचो कहिल्यै भएन । सुकेको जटाले पनि दाउराको काम गथ्र्याे । नरिवलको सब काम लाग्छ भनेको साँचो रहेछ ।
समय बितेसँगै मेरो घरघडेरी वरिपरि पनि घरहरू बने । मैले सबैभन्दा पहिला रोपेको नरिवलको बोट चालीस वर्षको भईसकेको थियो । अग्लो न अग्लो भएको थियो । अरु पनि अग्ला भएका थिए । हावा हुरीले लड्यो भने अरुको घर कम्पाउण्डमा क्षति पुग्न सक्थ्यो । छिप्पिएको जमाना ! मान्छेहरू छोइसक्नु छैन । झगडामा उत्रिहाल्छन् । त्यस्तो भयो भने क्षतिपूर्ति डण्ड जरिवाना तिर्न नपरोस् भनेर ती अग्ला सबै नरिवलका रुखहरू खर्चै गरेर ढालियो । कलिला फलहरू । बाडियो, बाडेर पनि नसकिएकोले पानी निकालेर सब परिवारले भुँडी फुलिन्जेल खाइयो ।
डायलाईसिस गरिरहेकी पत्नीले पनि अघाइन्जेल खाइन् । बिसाएर सारो भइन् । हप्तामा दुई पटक गरिरहेको डायलाईसिस तीन पटक गर्नु पर्ने भयो ।
डायलाइसिस गर्न थालेको अढाई वर्षमै पत्नीको देहान्त भयो । एकचालिस वर्षको मेरो सुखमय दाम्पत्य जीवन झिमिक्कैमा सकियो ।
त्यो एकचालिस वर्षको अवधि सपनासरि मिलिक्कै सकिएझैँ लाग्छ । आफैले रोपेको, हुर्काएको र फल्दै गरेको नरिवलका रूखहरू आफैले काटियो । काट्नुपर्ने अवस्था चालीस वर्षमै सृजना भयो । ४१ वर्ष नपुग्दै पत्नीसँग छुट्टिनु प¥यो । छोराहरू हुर्काएर, बिहे गरेर नातिनातिनीहरू पनि हुर्काइ बढाइ गरिरहेकी गृह लक्ष्मी कति यथार्थ थिइन् । तिनी र नरिवलका रूखहरू ! सम्झदा सपना जस्तै लाग्छ ।
आफैले रोपेका नरिवलका रुखहरू र आफैले गुजारेका पारिवारिक जीवन ! खै के सम्झनु र ...
आँखा झिमिक्क गर्दा मिलिक्कै सकिएजस्तो लाग्छ । मानव इतिहासको हजारौं वर्षको लामो समय अन्तरालमा मैले गुजारेको समय मिलिक्कै त हो नि ... !
२०७७ कार्तिक २९.
६८.
जुत्ता र जुत्ताहरू


जागिरे जीवन । थोरै तलब धेरै खर्च  । तन्नेरी भइन्जेल खुब हिँडिन्थ्यो । खुट्टाहरू बलिया दरा थिए तर जुत्ता एक जोडि  मात्रै ।  त्यो नफाटुन्जेल अर्को जोर किन्ने ल्याकत थिएन ।
अवकासपछि यो बुढेसकालमा किनेका, उपहार पाईएका राम्रा राम्रा  सात जोडि जुत्ताहरू मेरा पनि  भएका छन् । तर खुट्टाहरू लुला  ।  टाढा हिँड्न सक्तिनँ । जुत्ताहरू... कसरी फटाउने होला ?  
बुढेसकालका जुत्ताहरू ! 
२०७९जेठ ९
६९.
सम्भव/असम्भव

टुकुटुकु हिड्न थालेको छोराले तोते बोलीले ‘माम हाम अ आ उ... नु ।’ भनी बोलाउँछ ।
म खुसी हुन्छु फुच्चे छोरो पनि काम सघाउने भएछ । आमाले चप्पल खोलेर मात्र कोठामा पस्न सिकाएकी थिई । आफ्नो सानो फुच्चे चप्पल खोलेर कोठाभित्र पसेको हुन्छ ।
ऊ मलाई बोलाएर फर्किदा मेरो ठूलो चप्पलमा खुट्टा छिराएर घिसार्दै जान्छ ।
म पनि जानलाई तयार भएर उठ्छु । मेरो चप्पल उसले किस्तीझैँ घिसारेर लगिसकेको छ । उसको सानो फुच्चे चप्पल ढोकामा छोडेको छ । त्यो चप्पल छोराले मेरो ठूलो चप्पल लगाएझैँ लगाउन कसरी सम्भव हुन्छ र !
सम्झेँ मैले पनि म सानो हुँदा ठूलाहरूका जुत्तामा खुट्टा घुसारेर किस्तीझैँ घिसारेको थिएँ ।
२०७७ साउन १७
रचना  दुई महिने साहित्यिक प्रकाशन, वर्ष ६२, अङ्क ४, पूर्णाङ्क १७९ (बेलबारी अङ्क)
७०.
 अमूर्त प्रतीक्षा

दन्त्यकथा ‘प्यान्डोराको बाकस’बाट निस्केका अनेकौ दुःदकष्ट, रोगभोकपछि अन्तमा निस्केको आशा— हर जीवितहरूका बाँच्ने सहारा । झन्डैझन्डै सकिसकेको मेरो जीवनमा पनि आशाकै सहारामा म पर्खिरहेको छु, पर्खिरहेछु ... के, को र किन ?
कुमारी कन्या केटी र केटाहरूलाई युवा हुने कालको प्रतीक्षा हुन्छ । युवा भएपछि विवाह, सन्तान आदि र एउटा निश्चित गन्तव्य पुग्ने प्रतीक्षा थाहा हुन्छ ।
तर मलाई नै थाहा छैन । म पर्खिरहेको छु, पर्खिरहेछु । हर क्षण कोही मेरो सपना पूरा गर्न आउला ! मेरो हृदयभित्र रगत, आँसु र पिपले गुजुल्टिएको असह्य विछोडका घाउ कसैले निको पार्ला ! फेरि म सुन्दर रमणीय फूलहरूसित मुस्कुराउन सकूलाँ ! त्यही मेरो अमूर्त प्रतीक्षा हो त ?
त्यस्तो क्षण आउदै होला । ल्याउने को होला ?
त्यो नआइपुगुन्जेल प्रतीक्षारत मलाई आशा छ— त्यो आउछ !
अमूर्त प्रतीक्षा !
सायद त्यो अरू नभएर आफ्नै अधुरो इच्छा, तृष्णा र सपना होला । धैर्यसाथ त्यसलाई पर्खन मद्दत गर्ने आशा... अझै मिलन हुनेछ भन्ने बलवान आशा ! बलवान आशा नौरङ्गी जीवनमा बाँचुन्जेल बाँच्ने सहारा भएको छ ।
बाँच्नु सबैभन्दा ठूलो सम्झनेहरूका अमूर्त प्रतीक्षा हो यो । अवसान नजिक पुगेकाहरूका कथा–व्यथा पनि हो । जीवन भन्नु नै अमूर्त प्रतीक्षा ... !
२०७५ चैत १४ , धरान

७१.
सन्तोषप्रद अन्त्य

त्यो समयको युवती जुनबेला क्यामेरा, रेडियो, घडि ग्रामोफोन केही थिएन । त्यसै भएर तिनको युवाकालको सुन्दर तस्वीर छैन ।
त्यसै भएर विवाह पछि पतिसँगको युगल तस्वीर पनि छैन । एउटा छोरो जन्मिएपछि लोग्ने लाहुरे भर्ति लाग्न हिडे । त्यस पछि फर्केर आएनन् । प्रतीक्षामा लामो समय बित्यो ।
बहिनी भनेर बोलाउने तिनलाई दिदी भन्न थाले । आमा भन्न थाले । छोरा पनि लाठे भयो । बुबाको सम्झनामा आमाले बगाएको रातदिनको आँसुले चरक्क चिरिएको मुटु बोकेर ऊ पिता खोज्ने र केही कमाउने भनेर परदेश लाग्यो ।
त्यो क्षणको छोराको तन्नेरी रूप तिनको मन, मगज र आँखामा पतिको मानसिक चित्रसँगै अमिट भई बसेको छ । बाँच्ने आशा र सम्झना सहारा भएको छ ।
घडि आयो, रेडियो आयो, क्यासेटप्लेयर आयो । टेलिफोन, टेलिभिजन आयो, कम्प्युटर र इन्टरनेट आयो । मोबाइल हात हातमा सबैको । मोबाईल बचाइको अभिन्न अङ्ग भएको छ ।
यी अनेकौं प्रगतिले ‘समय कति बित्यो ?’ समय  मापन गरेको छ ।
बिचरी आमा प्रतीक्षामा पतिको अब छोराको...
आमाबाट बोजु र बोजुबाट बुढिबोजु सम्बोधन पदोन्नति भएको छ ।
पति र छोरा एकसाथ आउलान् ! धैर्यले, आशाले बाँचिरहेकी सुनमायाको पति बखते र छोरा साने आएनन् । क्रुर जीवनले परिहास गर्दै तिनलाई बिरामी बनाएर मृत्यु शैय्यामा पु¥यायो नै ।
दयालु छिमेकीहरूको हेरचाहले तिनी बाँचिरहेकी थिईन् । मानसिक आघातले जर्जर शरीर ! तिनको वाक्य बस्यो । चल्मलाउन सक्दिनन् तर आँखा भने दैलोतिरै टुलुटुलु ...
श्वास किन गइरहेको छैन ? पक्कै छोरा वा पतिको एक झलक हेरेर मर्न चाहन्छिन् !
गाउँका युवाहरूले इन्टरनेट, फेसबुक र सामाजिक सञ्जालमा बाबू छोराका खोजी गरे । बाबू त भेट्टिएन तर छोरा भेटियो । छोराले उनीहरूलाई रुदै भर्खर विकसित भएको लेटेस्ट एप्सहरू पठायो ।
दैलोतिर हेरिरहकी आमाको अगाडि युवाहरूले ती एप्सहरू खोल्छन् ।
साने ‘आमा’ भन्दै दैलोभित्र पस्दै गरेको देखिन्छ । वाक्य बसिसकेको आमा भन्छिन् ‘प्यारो बखते ।’
‘पिता होइन, म साने । आमा !’
सानेको त्यो साच्चैकोजस्तो देखिने चित्रले आमालाई ढोगिसके पछि अङ्गालो मार्छ ।
आमा मुस्कुराउँछिन् । मुस्कुराईरहेकै मुद्रामा सुनमाया सबै छाडेर खुसुक्कै महायात्रामा जान्छिन् ।
विचित्र भ्रम दिने चित्रले अन्तिम क्षणमा सुनमायालाई क्षणभरको सुख दिन्छ जुन सुखको लागि तिनी जीवनभर तड्पेकी थिईन् ।
२०७७ पौष १७ 

७२.
नमस्ते सम्मान

     रिटायर्ड लाइफ, दिनमा एक पटक हिड्छु । बिहानै मास्क लगाएर हिँडीरहेको बेला एउटी केटीले नमस्ते गरी । फर्काउनै आटेको थिएँ, मेरो पछाडिबाट फटाफट हिँडेको आवाजसँगै नमस्ते भन्ने आवाज आयो । नमस्ते त तिनलाई पो गरेको रहेछ ।
को रहेछ ? भनेर हेर्दा चिनेकै साली पो रहेछ । नमस्ते गर्छिन् कि भनेर हेरेँ । नबोली मलाई नहेरी फटाफट मलाई उछिनेर हिँडिन् । तिनलाई अलिक अगाडि अर्कै केटीले नमस्ते गरीन् । फेरि अर्काले, मैले देख्दाखेख्दै सालीनानीले चारवटा नमस्ते थापिन् ।
मास्कले गर्दा मलाई चिनिनन् होली कि मुला बुढो भेनाजुुको वास्तै नगरेको ! अलमलमा मनमनै कुरा खेलाउदा आफ्नो तन्नेरी कालको सम्झनामा पुग्छु ।
बि.ए. परीक्षा दिएपछि गाउँकै प्राथमिक विद्यालयमा प्रधानाध्यापक भएको थिएँ । नमस्ते बारे बिद्यार्र्थी केटाकेटीहरूलाई थाहै थिएन । छडिले पिटीपिटी नमस्ते गर्न सिकाईयो । हेडसर खुब नमस्ते खाइयो । पछि क्याम्पसमा पढाउदा पनि १०÷१२ वर्ष नमस्ते पाइयो । त्यसपछि भने १०÷ १२ वर्ष नमस्ते गुडमर्निङ छ्यासमिस !
त्यसपछि त बिद्यार्र्थी देखेपछि तर्सिन थालियो । दाँत झारेभने नक्कली नयाँ दाँत राख्न नसकिने तलब । डरैले छोडियो प्राध्यापन । रिटायर्ड मुलालाई कसले गर्छ नमस्कार ।
त्यसोभएपनि नमस्ते पाउने भोक मेटिएको छैन । कसैले नमस्ते गरीहाल्छ कि चनाखो भएर हिँडिरहेको हुन्छु । नमस्ते पाईएन ।
दूध लिएर फर्किन भर्खर खोलिएको नयाँ पसलमा दूध किन्न पस्छु । भर्खरकी पसल्नीले नमस्ते गर्छिन् । गदगद हुँदै नमस्ते थाप्छु ।
यसभन्दा अगाडि त कहिल्यै नमस्ते गर्दिनथिन् । आज कसरी गरिन् ?
जेसुकै होस् म त्यो नमस्तेले सम्मानित भएको अहसास गर्न पुग्छु । थोरै भए पनि आनन्दित हुन्छु । धन्य नमस्ते सम्मान ! सबैले पाउन्, सबैले सम्मानित जीवन भोग्न पाउन्— म सोच्न थाल्छु ! नमस्ते सम्मान ! मानिसहरूलाई बिना लागत खर्च नगरी दिन सकिेने प्रसन्नता, सुख र सम्मान मामुलि जस्तो लाग्ने नमस्ते रहेछ ।
२०७७ पौष २६
 ७३.
सुनको पखेटा

उसैलाई थाहा छ उसले कति कष्ट गर्याे, अभावग्रस्त जिन्दगीमा भोक मेटाउन कति पसिना बगायो । सर्वजन हिताय सोच्थ्यो । न्याय समानतामा आधारित समाज सोच्थ्यो । सबैको लागि सुखी जीवन सोच्थ्यो । तर उसले सोचेको पुग्दैनथ्यो ।
ऊ भुईमा माटोमा टेकिरहेको हुन्थ्यो । भुँइ छोडेर आकाशमा उड्न उसले अन्तरआत्मा बेच्यो ।
अन्तरआत्मा मरेपछि उसको पखेटा उम्रेको छ, त्यो पनि सुनको । टलक्क टल्केको पखेटा फिजाउँदै ऊ माथि माथि उडिरहेको छ ... उडिरहन्छ ।
सुनको पखेटाले उड्न थालेपछि उसको मुटु पनि सुनकै हुन थालेछ कि ! अब मुटुमा दया माया देशप्रेम न्याय विवेक कर्तव्यजस्ता दायित्वबोध उम्रिदैन । सर्वसाधारण आममान्छे भुसुना जस्ता लाग्छन् । कोरोनाले छट्पटिएको मानिसहरूलाई देख्दा अट्टहाँस गर्छ, भन्छ— मरे मरुन् दुर्वलहरू !
उड्दै छ ऊ, उड्दै छ ऊ !
 पखेटा सुनको, मन सुनको, तन सुनको !
 जति उडे पनि आखिर उत्रन पर्छ नै ।
सेक्सपियरले भनेका छन् “यदि कसैले मेरो सम्पत्ति लैजान्छ भने उसले संसारको मेरो सबै भन्दा तुच्छ चिज लैजान्छ ।”
उत्रनका लागि चारैतिर हेर्छ ।
उसका निम्ति सदैव खुला श्रमिक मजदुर किसान गरिबहरूको हृदय कतै देखिदैन ।
मायालु मातृभूमिको पवित्र माटो देखिदैन ।
गनाउने नरक सिवाय अरु उत्रने टेक्ने धरती छैन ।
अघिअघि पछ्याउने लाखौं थिए । खोई तिनीहरू, समर्थकहरू ?...???
—     —        —  —
बौलाहा ! बौलाहा ! भन्दै केटाकेटीहरू उसलाई जिस्काउँदै खेदिरहेछन् । संसारको सबैभन्दा तुच्छ बस्तुको पछाडि दौडदा दौडदा ऊ बौलाहा भएछ... उसको पत्तुर जिन्दगी !!!
२०७७ बैशाख १२, धरान

७४.
चिन्ताको भुँमरी

     हिजो बहिनीहरू आएका थिए । धेरै कुराहरू गरे । केही यस्ता कुराहरूले मलाई मनको जरैदेखि हल्लाई रहेको छ ।
पत्नीको देहान्तले एकल जीवन नियास्रो हुने नै भयो । जसोतसो बाँचिएकै छ । जबर्जस्ती मर्न सकिँदैन । नौरङ्गी जीवन ! जिजीविषा !!
‘अहिले त स्वस्थ्य हुनुहुन्छ तर जब अशक्त बिरामी हुनुहुन्छ, कसले स्याहार्छ ? छोराले हेर्छ ? बुहारीले ससुरालाई स्याहार्दैन नै । असल बुहारी नै भएपनि ससुराको गुहुमुत सोहोर्दैन, सोहोर्न मिल्दैन । लुगा खोल्न लाईदिन अफ्ठ्यारै हुन्छ । जोडि मिल्ने अर्को बिहे गर्नुहोस् । तातो खुवाउछ, स्याहार्छ । मान्नु हुन्छ भने हामी खोजिदिन्छौँ ।’
आँखा अगाडि बुढो अशक्त भोको, प्यासले तडपिएको रोगी आफ्नो अवस्थाको तस्वीर देखा पर्छ । आँखा टिलपिल हुन्छ, बिचरा असहाय म !
बहिनीहरूले भनेको ठीकै हो कि । तर बदमास आईमाई परी भने... डराउछु । बिहे गरीयो भने त छोरा बुहारीले घरबाट खेद्छन् नै !
अनेक तर्क बितर्क चिन्ताको भुँमरी मनभित्र हुडलिन्छ । कोसित सल्लाह लिने ? पत्नी हुँदा म समस्याले पिरोलिदा ‘आँ काजी चिन्ता नगर्नोस् । जस्तो पर्छ, त्यस्तै टर्छ ।’ भन्थिन् र ढुक्क हुन्थे ।
तिनी भएकी भए... नभएर त बुढेसकालको चिन्ताको भुँमरी देखा परेको छ । यो चिन्ता आवश्यक कि अनावश्यक ? कोसित सोधौँ ?
२०७७ पुस २८
७५.
रोपेको फल

उसको हातमा शक्ति थियो । उसले चाहेको जे पनि गर्न सक्थ्यो ।
पिडितहरू न्याय माग्न आए । हाँसेर झुठो आश्वासन दियो । कालाबाजारीया तस्कर अन्याय अत्याचारको संरक्षण गरेर अकुत कमिसन खायो । मुलुकको ढिकुटिमा मनपरि गर्याे । कानुन र संबिधानको खिल्ली उडायो । कुर्सीमा बसेकोले हाय हाय भइरहेको थियो । झिँगा पालेर अरिङ्गालको गफ दिईरहेको थियो ।
लोकहितको एउटै काम नगरेर पत्तुर भयो ।
अति भो । कुर्सीबाट उसकै मतियारहरूले खसाले । उसकै विश्वासी मतियारहरूले कुर्सीबाट झारेपछि अन्याय अत्याचार भ्रष्टाचारको अनेकौं मुद्दा लगाए ।
उसैले नियुक्त गरेको न्यायधिसहरू ! मुद्दा फासफुस गर्न फोन गर्छ । फोन उठाउदैन त । ऊ मतियारहरूलाई बोलाउछ । के आउँथे । उसलाई फसाएर उनीहरू उम्कि सकेका थिए ।
‘धेर नभुक्’ भन्दै उसैले जन्माएको गुन्डाहरूले उसलाई कुटपिट गर्छ अनि उसका केही धन पनि लुटपाट गरेर लैजान्छन् । ‘अन्याय भयो’ भनेर सहारा खोज्छ । ओरालो लागेकोलाई कसले साथ दिन्छ ? फेरि उसले त अन्यायलाई सिरानी बनाएर न्याय र सत्य मारेको थियो । कतै जनताले साथ दिन्छन् कि ! जनतालाइ हारगुहार गर्छ । जनता गलल हाँस्छन् ।
अन्यायको पीडा कस्तो हुन्छ ?
जेल पुगेपछि उसलाई महसुस हुन्छ .। आफैले रोपेको फल !
२०७७ वैशाख ४


७६.
सार्थक/निरर्थक

    “तिमी जे चाहन्छौ, कडा परिश्रम गरेपछि—  दसवर्षपछि, दस महिनापछि, दस दिनपछि वा दस घण्टा पछि पाउने छौ । त्यो प्राप्त गर्न तिम्रो अठोटमा भर पर्ने छ  ।”
“ठीकै छ,  पाइन्छ भने  म  दृढ अठोटसाथ कडा परिश्रम गरिरहने छु ।”
श्रम ! श्रम जीवन रहेछ । श्रम गरिरहे जीवन सार्थक हुन्छ । प्राप्तिले बचाइ सार्थक हुन्छ भन्ने भ्रम सबैमा हुन्छ नै । म पनि भ्रमित थिएँ ।
 परिश्रम गरेपछि मैले चाहेको—
दस वर्षपछि धरबार पाएँ । निरर्थक  भयो, किन कि मसँग घरगृहस्थीमा साथ रहने जीवन साथीले छाडेर   गइसकेकीले  विरक्तिएको मलाई धरबारले कुनै सुख दिन सकेन ।
दस महिना पछि  यश पाएँ । यश पनि मेरा लागि निरर्थक भयो किन कि दस महिनाको अपयसले त्यो यश यश भएन ।
दस दिनपछि मित्रता पाएँ । मित्रहरूले छाडिसकेपछि पाएको मित्रता पनि काम लागेन ।
दस दिनपछि पाएको ओेखति काम लागेन । किनकि दस दिनमा म निको नहुने रोगी भईसकेको थिएँ ।
दस घण्टा पछि प्राप्त हुने सम्मान पनि मेरा लागि  अर्थहिन छ किन कि  म दस घण्टा अगावै जाँदै छु ।  आयु मेरो वशमा छैन, चाहेर पनि म  बस्न सक्तिनँ । गइसकेपछि गरिने सम्मान  र मरेपछि पाइने स्वर्ग...के काम ?!
सम्मान र स्वर्गभन्दा ठूलो अन्तिम कालमा  आफ्नै परिश्रममा  जीवनभर कसैलाई अन्याय नगरि, थिचोमिचो नगरी, नठगि आफ्नै पसिना बगाएर बाँचेकोमा ओठमा रहेको मेरो अन्तिम मुस्कान अनमोल छ, सार्थक  अन्तिम मुस्कान महान् !
२०७७ माघ ३

७७.
परोपकार

“परोपकार भन्नाले दुःिख, दरीद्रलाई दान, रोगीलाई सेवा, भोकोलाई भोजन आदि बुझिन्थ्योभने अहिले यसको परिधि र परिभाषा व्यापक भएको छ ।”
“कसरी ?”
“अहिले...
राजनीतिमा—  असल मान्छे छान्नु
समाजमा—  नैतिकताको जगेर्ना गर्नु
विकासमा— सबैले समान हिस्सेदार बन्न सक्ने विकास हुनु
संस्कृतिमा—  विश्व भाईचारा, समान व्यवहार, समानताको आचरण हुनु
सभ्यतामा— समान हैसियत र समान अवसरको अवस्था हुनु
मानवियताको क्षेत्रमा— विश्व भाईचारा र विश्व शान्ति कायम राख्नु
...     यिनीहरू आधुनिक विकसित उत्कृष्ट परोपकारका सुन्दर रूपहरू हुन् । यस्ता परोपकारहरूले मानिसहरू सदैव लाभावम्भित भईरहेका हुन्छन् । होइन र ?”
“हो नि तर...”
“तर–सर होइन । यस्तो परोपकार आजको आवश्यकता हो...!”
—     —  —
“जब विश्वको उन्नत्ति प्रगति विकास सबैको हितमा (कुनै एउटा झुण्ड ,समूह वा वर्गको लागि नभई) हुन थाल्छ ,सबैको समान उपकार हुन्छ । त्यस्तो परोपकारी व्यवस्था हर क्षेत्रमा आवश्यक छ । सबै मिलेर त्यस्तो व्यवस्था बनाउनु पर्छ ।”
—     —  —
सबैको सोच उन्नत हुँदैछ, र...
छलफल अझै जारी छ ।
२०७७ माघ ६
७८.
मतियार

सङ्गत कोसित गर्ने ? साथ कसलाई दिने ? कसरी समाजलाई सकारात्मक योगदान गर्न सकिएला ? ऊ सोच्न थाल्छ ।
उसले कुनै नराम्रो काम गरेको छैन । तर पनि उ राष्ट्रघात भ्रष्टाचारजस्ता कामहरूको मतियार भएको छ ।
“नचाहिँदो कुरा ? म कसरी मतियार हुन सक्छु ? म सर्वसाधारण आम मान्छे ! म कुनै राष्ट्रघात भ्रष्टाचार माफियातन्त्रसित प्रत्यक्ष संलग्न छैन, तसर्थ मतियार हैन ।’’
“भोट कसलाइ दिनुभयो ? कसको र कुन पार्टिको समर्थन प्रचार गर्नु भो ? पार्टिका नेताहरूका राष्ट्रघात भ्रष्टाचारजस्ता गलत कामको विरोध गर्नु भयो ? मौन बस्नु समर्थन होइन ? पार्टिभित्र सकारात्मक कामका लागि छालफल वा कुरा उठाउनु भो ? पार्टिलाइ सहि बाटोमा हिडाउने कोसिस गर्नु भयो ?’’
“हरेक ठाउँमा निरीह सर्वसाधारण म ! पार्टिभित्र पनि नगन्य म ! निरीह म ! म के गर्न सक्छु र ?’’
“तर तपाईँ जस्ताहरूलाई राजनीतिमा समाजमा व्यवस्थामा निरीह बनाएर तपाईँहरूकै समर्थन मतकै शक्तिको दुरूपयोग गरेर राष्ट्रघात भ्रष्टाचार फटाहा नेताहरूले गरिरहेका छन् । त्यसको स्वतः भागिदार र मतियार तपाईँ हुनुहुन्छ । मतियार !’’
“अहो कत्रो गल्ती हामी सर्वसाधारणहरूले गरिरहेका रहेछौँ अन्धसमर्थक भएर । अन्जानमै फटाहाहरूका मतियार भइरहेका रहेछौँ आफूलाई निरीह सम्झेर । सर्वसाधारणहरूले आफूलाई बलियो बनाएर आफ्नो शक्ति आफ्नै लागि सदुपयोग गरेमा मात्र सर्वसाधारणहरू शक्तिसाली भई सर्वसाधारणहरूको भलो र उन्नती हुने रहेछ । यति बुझेमा देश र समाज राष्ट्रघाति भ्रष्टाचारी धोकेबाजहरूको पञ्जाबाट मुक्त हुने रहेछ ।’’
नोवेल कोरोना कोविद १९ भाइरसबाट जोगिए जस्तै फटाहाहरूले राजनीतिमा फैलाइरहेका राष्ट्रघात भ्रष्टाचार आदिका भाइरससँग बचेर भावी सन्ततिका लागि देश जोगाउन सक्छौँ ।
त्यसका लागि राजनीतिमा पनि लगडाउन आवश्यक हुन सक्छ !
२०७६ चैत १४, धरान
७९.
बाँच्नुको आनन्द

     दुईजना थोते बुढाहरू के के कुराहरू गर्छन्, कहिले सुँकसुकाउछन् भने कहिले जोड जोडले हाँस्छन् ।
“किन हाँस्नु भो यति मज्जाले ?”
“बाँच्नुको आनन्दले हाँसेको नि, मुलाङ्खरे । ” रसिक बुढा भन्छन् । ती दुई बुढाहरू बेलाबेला उनीहरूसित गफिने अधवैंसेलाई माया गरेर मुलाङ्खरे भन्ने गर्छन ।
“हन, म पनि बाँचिरहेकै छु त । बाँचेकोमा मलाई त हाँस उठ्दैन त ।”
“हाम्रो उमेरसम्म बाँचिस् भने थाहा पाउछस् मुलाङ्खरे ।” अर्को बुढा थप्छन् ।
“त्यो उमेरसम्म खै बाँचिएला जस्तो लाग्दैन । बरू अहिले नै बाँच्नुको आनन्द बताउनु भयो भने म मुलाङ्खरे पनि तपाईंहरूसँगै यसरी नै हाँस्न सक्थेँ !”
“उसो भए सुन्” रसिक बुढा भन्न थाल्छन् “आनन्द उमेरअनुसार हुन्छ । बाल्यकालमा आमाको काखमा बस्दाको आनन्द अतुलनीय हुन्छ । केटाकेटी हुँदा साथीहरूसँग खेल्दाको आनन्द, तन्नेरी हुन थालेपछि विपरित लिङ्गीप्रतिको आकर्षणमा जुन आनन्द हुन्छ नि बयान गरि साध्य छैन । युवा भएपछि जीवन साथी, सन्तान, सम्पत्ति, रोजगारी , मानसम्मान थप हुँदै जान्छ र आनन्द पनि थपिदै जान्छ । अनि त्यस पछि....”
बुढा आँखा टिलपिल गर्दै बोल्न बन्द गर्छन् ।
“अनि के त्यसपछि....”
“मुलाङ्खरे, जब उमेर ढल्कदै जान्छ, सबै कुराहरूले छोड्दै जान्छन् । दुर्घटना,  भूकम्प वा त्यस्तै कागताली परे मात्र लोग्ने स्वास्नी सँगसँगै जान्छन् । नत्रभने त दाम्पत्य सुखमा रमाईरहेका बेला जीवन साथीले छोडेर जान्छ । दाम्पत्य सुख हराउछ । बल वैशले छाडेपछि साथीभाइले पनि छोड्छन् । उमेरका कारण कामले पनि छोड्छ, आम्दानीले पनि छोड्छ । सुखका दिनहरू बिस्तारै हराउदै गए पनि जिजीविषा भने बढ्दै जाँदो रहेछ । अरू दौतेरीहरू बितेको सुन्दा दुःख लाग्छ तर फेरि आफू बाँचिरहेकोमा आनन्द लाग्छ । यस्तै बाँचिरहेकोमा बाचुन्जेल हाँसेर आनन्द मनाउनु पर्छ भनेर हामी हाँसेका नि , मुलाङ्खरे ।ू
दुवै बुढाहरू फेरि हाँस्छन् हाहा..हा...
मुलाङ्खरे पनि कुरा अलिकति बुझेर र धेरै नबुझेर पनि लहैलहैमा हाँस्छ ।
केही बेरमा हाँसो थामिन्छ ।
अर्को बुढा गम्भीरतासाथ भन्छ— “अब त आफ्नै परिवारमा धेर भईन थालेको छ । मर्न पाए पनि हुन्थ्यो भन्ने लाग्न थालेको छ । मर्न पाए कति आनन्द ! मर्नदेखि डर लाग्दैन । अहा ! मर्दाको आनन्द ! कति आनन्ददायी हुन्छहोला भन्ने लाग्न थालेको छ । तर मर्दाको आनन्द मर्नेले कहाँ भोग्न पाउँछ र ! बाँच्दाको आनन्द भोग्न पाइन्छभने मर्दाको आनन्द कहाँ भोग्न पाइन्छ र... बाँच्दाको भन्दा कैयौ गुणा बढि हुँदोहोला मर्दाको आनन्द...!! मर्दाको आनन्द...!!!
बुढाहरू भावुक भईसकेका हुन्छन् ।
२०७७ माघ ७
८०.
हातेमालो


गणतन्त्र आईसकेपछि पनि कसैलाई कसैको विश्वास थिएन ।
नीति र कार्यक्रम सामन्तवादकै ।
फुटेका थिए (धर्म,जात, क्षेत्र, संस्कृति, रितीरीवाज आदिको नाममा ।
झगडा मनमुटावलाई बढावा दिने पत्तुरहरू थुप्रै ।
हर काममा हस्तक्षेप बाधा व्यवधान दिइरहने पत्तुरहरूको नियत छर्लङ्ग भएपछि सब देशभक्तहरू एक भएका छन् ।
एकजुट भएर हातोमालो गर्दैछन् ।
एक तीरले तीन सिकार गर्दै छन् ।
     — कोविद १९ को पराजय
—अतिक्रमणकारी परास्त
—सम्वृध्दिको आगमन !
पत्तुरका भतुवा–भडुवाहरू भागा रे भाग । एकताको हातेमालोले सब क्षेत्रमा सफलता प्राप्ति । झिलीमिली सुन्दर सबैको साझा देश !
२०७७ जेठ १९, लकडाउन
८१
चुलबुले मन

ऊ बाल्यकालमा पनि चुल्बुले थियो । छुकछुक  गरिरहन्थ्यो । नचलि बस्दैनथ्यो । चकचके; कतै न कतै केही बिगार्दा गाली खान्थ्यो भने राम्रो गर्दा स्याबासी ।
जति ठूलो हुँदै गयो उसको चुलबुले अन्तरभित्र चमचम गर्दै रह्यो । अन्तरको चम्काइले सक्रिय बनाइरह्यो । धेरै थोक रहेछ संसारमा !  अँध्यारोमा अझ धेरै रहेछ... झण्डै आधिभन्दा धेरै मान्छे र विश्व  !
उसको हृदय अँध्यारोमा झन् धेरै बल्दा, अन्तरमा झन् धेरै खैलाबैला मच्चिँदा ऊ झन् सक्रिय भई सेवामा संयम र धैर्यसाथ लागिरहन्थ्यो ।
सांसारिक दुःख, अज्ञान, उत्पीडन र अत्याचारले अन्तरमन झन् झन् द्रवित हुँदा हृदय दन्किन्थ्यो, बल्थ्यो । दान्कोको मुटु मसालझैँ बलेर उज्यालो छरेझैँ अन्तरको चमचम झन् प्रखर हुन्थ्यो ।  किरण प्रस्फुटन हुन्थ्यो । ती किरणहरू गुणागुणावृध्दि (मल्टिप्लाई) हुँदै जान्थ्यो ।  त्यो किरणले भेटेका सबैका अन्तर पनि चमचम हुँदै जान्थ्यो । यसरी जन्मेको प्रखर चमकले एउटा सुनौलो युगको जन्म  भयो । त्यो युग ल्याउन हजारौं चुल्बुले चमचम मनहरू बलेर सकिएका थिए ।
यसरी अन्तर चमचमले धरती जगमग भएको छ । अहिले बाँचिरहेका हामीभित्र रहेको चुलबुले मन अन्तर चमचम र सृष्टिकै निरन्तर क्रमिकता  हो रे...
“जति धेरै चुलबुले मन तुल्बुलिन्छ, आफूलाई सक्रियता, सेवा ,संयम र धैर्यको बलिवेदिमा झोक्न सक्नु  कल्याण मार्ग हो ।” भन्ने विचार पनि  प्रार्दुभाव भयो रे ।
(अहिले त अन्तर चमचमको पछि कोही लाग्दैनन् । त्यसोहुँदा  चमचम चम्किने, किरण फाल्ने कुरै रहेन । सबै सांसारिक चमकदमक चमचमकै पछि छन् । तसर्थ यो  चुलबुले मनको चमक पनि दन्त्यकथा भएको छ ।)
चुल्बुले मनको लघुदन्त्यकथा , भन्नेलाई फुलको माला, सुन्नेलाई सुनको माला....।
२०७७।१०।१
८२.
अवस्थिति 

झण्डै मरेको !
दिउँसो बुहारीले चिया दिएर आफ्नो कोठातिर गईहाली । चिया खाँदै मोबाईल हेर्न थालेँ । चिसो हुन थालेको चिया स्वाट्ट पारेको । सासै फेर्न नसक्ने गरि सर्किएँ । जोड जोडले खोक्दा घोप्टिएर टेबुलमा ठोक्किदा तीनचार चम्ची चिया मुखबाट चुहिए पछि अलिक सास फेर्न सकेँ तर अझै घ्यारघ्यार उँउ..उँ आवाज आउन थाल्यो । जोड जोडले खोकी चलेको चलेकै छ । राम्ररी सास फेर्न सकेको छैन । सास रोकिएर मरिन्छ जस्तो भईसक्यो । खोकी चलिरहेकै थियो । बल गरेर जोडजोडले खोकेँ पछि केही बेरमा ठीक भएँ । ठीक नभएको भए त कसैले थाहा नपाई गईसक्थे !
झण्डै मरेको, मान्छे त यसरी पो एक्लो हुँदा मद्दत नपाई मर्दो रहेछ ।
एउटा पाठ सिकेँ खाँदा अर्थाेक केही नगर्नु नसोच्नु । मरेको भए पनि के भएर मरेँ अरुलाई थाहै हुँदैनथ्यो । जीवन कति अनिश्चित !
ठीक भएपछि कसैलाई भनिनँ । भन्नै पनि किन प¥यो र । बजारतिर ओखति किन्दै एक फन्का मारेर फर्केँ ।
ठुलो नातिनी र सानो नाति मेरो कोठामा मोबाइलमा के के हेरिरहेका हुन्छन् । म आईपुग्नासाथ दुवैजना कोठा छोडेर जान्छन् ।
जेनरेसन ग्याप । रुचि र हाम्रो अवस्थिति मिल्दैन ।
कोठामा प्रायजसो म एक्लै हुन्छु । मलाई लाग्न थालेको छ परिवारमा मेरो प्रयोजन र भूमिका के ? फाल्तु हुन थाले कि ! एक्लै भईरहने म कतिबेला खुसुक्कै जान सक्छु । दुःख नपाई जान पाउँ— चाहन्छु । तर आफ्नो वशमा छैन ।
म गईसके पछि भने मैले ओगटेर छोडेको खाली कोठामा मेरा नातिनातिनाहरू भेला भएर मोबाइल हेर्ने, गफ गर्ने गरिरहेका दृश्यहरू मेरो कल्पनामा झल्कन्छ । तर त्यो म कहाँ देख्न पाउछु र !
२०७७ फागुन ७
८३.
आनन्दानुभूति



सञ्चारले जेलिएको विश्व... कैयौ किलोमिटर टाढा, हजारौ किलोमिटर टाढा, हिडेर त पुग्नै नसकिने, हवाईजहाजबाट पुग्न पनि दुई तीन दिन लाग्ने रे । पुगिएको छैन, पुग्ने आशा र लालसा पनि छैन । किनभने हवाईजहाज भाडा तिर्ने पैसा पनि छैन, भिषा पनि पाउँन सकिदैन । तर त्यहाँ पुगेका आफन्तहरूसँग इमो, मेसेन्जर, भाइवरजस्ता (पैसा नलाग्ने) माध्यमबाट हेराहेर गर्दै कुरा गर्दा सँगसँगै भएजस्तो भेटेजस्तो लाग्छ । महँगा कहिल्यै चाख्न नपाएका रक्सि र खाने कुराहरू देखाएर ‘चियर्स’ भन्छन् । आफूले पनि पानीकै गिलास भए पनि उचालेर चियर्स भन्नै पर्छ ।
छुट्टिका दिन त साथीभाइबहिनी र परिवारले घुमेको डुलेको रमणिय स्थलहरूको भिडिओ पठाई दिन्छन् । हेरेर पुगेजस्तै लाग्छ । आनन्दानुभूति हुन्छ । हप्तादिन गधाहाभन्दा बढि जोतिएर केही घण्टा आनन्द लिएको भिडिओ, फोटाहरू पठाएर स्वदेशमा रहेकाहरूलाई आफूले आनन्दै आनन्दमा जीवन गुजारीरहेको झझल्को दिन खोज्छन् ।
जेहोस् उनीहरूसँग निशुल्क कुराकानी र हेराहेर गर्दा मन रमाउछ नै । परिवार केटाकेटीले पनि नमस्ते हाइहलो गर्छन् ।
उनीहरूसँग यसरी कुराकानी भइसकेपछि सधैं मलाई लाग्छ अहिले जस्तै कति वर्ष सम्म कुराकानी गर्न पाईएला ।
१०÷२०÷३०÷४०÷५०...कतिसम्म ? १००वर्ष ? असम्भव ।
१००वर्षपछि मान्छेको आयु २००वर्ष हुन्छ रे वैज्ञानिक र स्वास्थ क्षेत्रमा हुने अभूतपुर्व प्रगतिले । १००वर्ष पछिको आफू नहुने समयको प्रगतिको के कुरा ! आफू नभएको संसारको के अर्थ !?
आनन्दानुभति गर्न पनि शरीर भएको आफू हुनुपर्ने रहेछ ।
अहिले आफू छु, जतिसम्म रहन्छु त्यो नै मेरो आफ्नो हो । आफू नै नरहे पछि के को सुख दुःख...आनन्दानुभूति ?
‘म आफू अहिले छु’ सम्झेर खुसी हुन्छु । आफू भइन्जेलको संसार हो, आफू नभएको संसारमा के को आनन्दानुभूति... !

२०७८ चैत १३,धरान


८४.
अनमोल मुस्कान


जिन्दगीमा नसाजस्तै  केही कुराहरूले केही मानिसहरूलाई एकोहोरो एकाग्र तल्लिन बनाएको हुन्छ कि त्यस बाहेक अरु सबथोक उनीहरूले बिर्सन्छन् ।
त्यस्तै एकजना मनुवा थियो । उसले उमेर भएपछि बिहे ग¥यो, सन्तान जन्मायो । पारिवारिक जीवनको बंश परम्परा धान्न सबै कामकुरा पूरा ग¥यो । तर धनको अभाव महसुस गरेर ऊ धन कमाउन निर्लिप्त भयो । धन प्रसस्त  कमायो  । तर धन कमाउने एकसुर भएको उसले हाँस्नै बिर्सियो ।
मर्नुभन्दा अगाडि एकपल्ट स्वस्फुर्त हाँसो हाँसेर मर्न पाए हुन्थ्यो— उसको चाहना । त्यसका लागि उसले आफूले जिवनभर कमाएको सबै सम्पत्ति खर्चिन तयार हुन्छ ।
एकजना महिला (अधवैंसे) हुन्छे जसले कसैको अधरमा पनि मधुर मुस्कान ल्याउन  सक्छ रे भन्ने सुनेर ऊ त्यस महिलाको शरणमा जान्छ ।
महिलाको सर्त हुन्छ— ऊ तिनीसँग रातभर बस्नुपर्छ । सारा जिन्दगी हाँसोको खडेरी ! ऊ तयार हुन्छ ।
सबैले देख्छन् ।  बिहान ऊ महिलाको काखमा मृत हुन्छ तर मृत उसको अनुहार र ओठमा मधुर मुस्कान  खेलिरहेको  देखिन्छ ।
अनमोल मुस्कान !!!

२०७७–८–२२



८५.
धोको

     रगत परिक्षण गर्ने लाइनमा उभिएको छु । मोबाइल फोनको घण्टी बज्छ । बुहारीको रहेछ ।
“बिहानै बस आईहालेकोले घरका कसैलाई नउठाई हिँडिहाले । सबैलाई भनिदिनु होला ।”
“हुन्छ । कहाँ पुग्यो ?”
“लाहान...”
छोरा, बुहारी र पाँच वर्षकी नातिनी छोराको जागिर काठमाडौंमा भएकोले उतै बस्छन् । स्व.पिताका स्मृतिमा फलैचा बनाईसकेपछि हस्तान्तरण कार्यक्रममा आएका थिए । छुट्टी छैन भनेर छोरा भोलिपल्ट नै फर्की हाल्यो । दुई हप्ता बसेर आज बुहारी र नातिनी पनि फर्कदै छन् ।
यो दुई हप्तामा नातिनी मसित भर्खर झ्यामिन थालेकी हुन्छे र म कोपा (बाजे) र नातिनी बालशुलभ खेल खेल्दा रमाउन थालेका हुन्छौँ ।
अरू नातिनातिनीहरू त हुर्कि हाले । सानी नातिनीसँग धित मरुन्जेल खेल्ने धोको पनि पुग्ला त ? आफैलाई सोध्छु ।
रक्तपरिक्षणले के देखाउला ? मधुमेह— क्रिटेनाइन, युरिया, पोटासियम, सोडियम, ब्लडसुगर (फास्टिङ, पिपि) इसिजी आदि अनेक अनेक । कैयौ कामहरू अधुरा छन्, पूरा गर्न सकिएला ? कैयौ इच्छाहरू अधुरा रहेकै अवस्थामा... झन् नयाँ पनि पलाईरहेका छन् ।
अब यो जीवनको के भरोसा ?
साना साना मनका धोको पनि मनमै रहने भो !
सबै इच्छा कसको पो पुगेको होला र ...
किङ्ग मिडास सुनको सब चिज चाहन्थे र सुनकै पहाड थुपार्ने उनको धोको जे छोए पनि सुन बन्ने बरदान पाएर पूरा भयो त ? बरदान पाएपछि दिनभर सबैचिज छोए, सुन भयो । भोकाएका उनले स्याउ लगायत खाना खान खोज्दा ती पनि सुन भयो । हतास निरास भोको उनले सबैभन्दा बढि माया गरेकी आफ्नो छोरी अङ्गाल्दा छोरी पनि सुन भई रे । खै कहाँ बरदान पाएर पनि मान्छेको धोको पूरा हुँदो रहेछ र ...
अधुरो इच्छा , अधुरो जीवन ! अधुरो धोको !
२०७७ फागुन १२
८६.
मन बुढो हुँदैन

अरुको दयनीय अवस्थालाई पनि मानिसहरू आनन्दप्राप्तिको मुहान बनाउन सक्दा रहेछन् ।
बल्लबल्ल  एकल जीवनसँग अभ्यस्त हुन थालेको मलाई साखुल्ले भएर  सोध्छन्— विवाह गर्नु हुन्छ त ?  उपयुक्त महिला खोजि दिन्छु÷दिन्छौँ ।
संसारमा पाइने सर्वआनन्ददायी दाम्पत्य सुख भोगिसकेकाले त्यो सुखको लालसा कसरी त्याग्न सकिन्छ र !
प्राप्ति भन्दा वैराग्यमा मोक्ष छ भनेर मन सम्भाल्न थालेको  मलाई पनि एकल मानसिक  कमजोरीको फायदा लिन  आफन्त साथीभाइहरू निकै चतुरतासाथ   प्रयत्नशील छन् ।
बुढेसकालमा स्याहार्ने सुशील महिला  खोजि दिन्छाँै, हुन्छ मात्र भन्नुहोस् ।
हो त ? दाम्पत्य सुख कल्पनामा उदाउन थाल्छ  । म पनि हुन्छ भनौँ कि सोच्न थालेको हुन्छु । तर फेरि यो वृद्ध उमेरमा ? बेइमान महिलाले अलिकति भएको चल अचल सम्पत्ति पनि (तीन महिना पनि नपुग्दै) लातलुत पारेर  लगिदिए पछि महाविजोग भएका वृद्धहरू जस्तै म पनि हुन सक्छु । 
असल आईमाई त वृद्धसित किन आउँछ ? 
दाम्पत्य सुखको लालसा...चेत अवचेत अचेत मनमा रहेकै हुन्छ नि !
त्यही लालसालाई मानिसहरू मनोरञ्जनार्थ व्यङ्ग बनाएर वृद्धहरूका मजाक उडाउछन् । 
साँच्चैको हितैसीझैँ भईटोपलेर आन्द्राभुडि दुहुँदारहेछन् ।
यसबाट वच्न मेरा वरिपरि मेरा नातिनातिनीहरू भईरहुन् र मलाई “कोपा (बाजे)! कोपा !” भनेर बोलाईरहुन् । यसरी उनीहरूले बोलाईरहे मलाई मेरो यथार्थ धरातल अवस्था थाहा भईरहने हुँदा म  बुढेसकाल सहजतासँग काट्न सकूलाँ कि !
जेजति पाइयो, भोगियो, अब अरु लोभ मोह त्यागुँ कि ! तर मन बुढो हुँदैन रहेछ...! बुढो नहुने मनसँग खेलबाड गर्न भर्खरकाहरू लालायित हुँदा रहेछन् । बल्सि खेलेझैँ चारा फाल्दा परपीडाको सुख महसुस गर्ने मानसिकता ! चारोको
लोभ...  धन्य दाम्पत्य सुख ! सांसारिक मोहजाल मृत्युपर्यन्त  सदैव जीवन्त  हुँदोरहेछ है ! लहै ! बिचरा वृद्ध जीवन !!
२०७७ फागुन १४
८७.
सपनासँगसँगै भत्किरहने पलपल


तीन आँख्लाको टुक्रा काटेर बिषादिको झोलमा डुबाएर रोप्नका लागि ठीक्क पारेको उखु ‘नखाउ’ भन्दाभन्दै पनि डा
कामा उखु ओसार्नेले खान थालिहाल्यो । धामीले पनि दुई टुक्रा चपाएर रस निलि हाल्योे ।
म डराईरहेको थिएँ बिषादिले असर पार्ला कि । तर उनीहरूलाई केही भएन ।
उखु उम्रेर  दुई तीन आँख्लाको हुन थालेपछि छिमेकी रक्स्याहाले खान थाल्यो । रस त निल्थ्यो तर खोस्टा बाटाभरि ।
उखु बढ्न थाल्यो, उखुबारीवरिपरीदेखि  बाटोघाटो उखुको खोस्टैखोस्टा । खोस्टा देख्दा मन कुटुक्क हुन्थ्यो !  चार पाँच कठ्ठाजत्तिको उखु खाएरै सकेहोलान् । तर चार बिघाहामा उखु लगाएको हुँनाले  खासै फरक परेन । त्यो एरियामा सित्तैमा उखु  नचाख्ने नखाने कोही बाँकि थिएनन् स्कुले केटाकेटी, बाल वृद्ध वनिता सबै ।
 दुनियाले त खान्थे भने उखुखेती गर्ने मालिक हामीले नखाने कुरै भएन । हामी बुढा बुढिले पनि  चिनी बनाउने चाम्रो उखु (तीनवर्ष उखु नमासुन्जेल) खायौँ । मधुमेह भएकी पत्नीले पनि अलिकति भन्दै खाइन् नै ।
जहिले पैसाको अभाव ! चित्त बुझ्ने गरि कहिल्यै खर्च  गर्न पाइएन ।
घडेरी बेचेपछि पैसा भयो । सुन्तलाले भरिएको गाउँमा जन्मिएको मैले  केटाकेटी कालमा सुन्तला त कति खाएँ कति । तर गाउँ छोडेपछि धित मरुन्जेल सुन्तला खान सकिएको थिएन । पैसा भए पछि एकवर्षभरिनै सुन्तला किनेर खुब खाइयो, परिवारलाई पनि खुवाईयो ।
लोग्ने स्वास्नी गाउँ गइयो । वल्लोघर पल्लो घर पाहुना, रक्सी र मासुभात पेट उक्सुन्जेल खाइयो । खान पाको बेला किन छोड्ने ? बजाइयो । सित्तैमा पाएर खाएको भए पनि असर त शरीरमा पर्ने नै भो ।
त्यो साल आँप कम्ति फलेको होइन । पाकेर भुँइमा झरेको... लोभलाग्दो ! नखाउ भन्दाभन्दै पनि पत्नीले दिनको दिनै दुईचार दाना  खाई हाल्थी । आफूले पनि छोडिएन ।
मुखको स्वाद, मुख नबारेको फल... पत्नीको मधुमेह पराकाष्ठामा पुगेर डायलाइसिस  गर्नु प¥यो । मलाई पनि मधुमेह भयो ।
घडेरि बेचेर पैसा नआएको भए मलाई मधुमेह हुँदैनथ्यो कि ! पत्नीको मधुमेहले मृगौला बिग्रेर देहान्त हुँदैनथ्यो कि !
मुला सम्पत्ति आउँदा सुख मात्रै लिएर आउने नभएर विपत्ति पनि लिएर आउछ भन्ने  घटनाको सम्झना मलाई आउँछ ।
तीस वर्ष पहिलाको कुरा... जुनबेला मोटरसाइकल एकादुईले मात्र चढ्थे । बिधुयीले दुःखसाथ हुर्काएको एक्लो छोराले ठेक्कापट्टामा पैसा कमायो । घर बनायो, मोटर साइकल किन्यो । पैसा कमाउने उसको सपना पूरा भएकोले बिहे गर्नका लागि केटी हेरिरहृेको थियो । पैसा र ठेकदारी... रक्सी खाने नै भयो । रक्सीले मातेर मोटरसाइकल कुदाउदा दुर्घटना भएर उसको ज्यान गयो । उसको जीवनमा  सम्पत्ति नआएको भए ऊ आजसम्म पनि बाँचिरहेको हुन्थ्यो कि !
मैले पनि अनुभव बटुले सम्पत्ति र विपत्ति साथसाथ रहेका हुन्छन्  । सम्पत्ति आउदा सुखले लपेटिएको दुःख पनि लिएर आउँछ । सित्तैमा पाइयो भनेर धेर खानु हँदैन, खराब असर शरीरले बेहोर्नुपर्छ । तर यो समय बितिसकेपछि पाएको शिक्षा... अब के काम ? सपनासँगसँगै...भत्किरहने पलपल, सपनाजस्तै जीवन !
२०७७ फागुन १६
८८
बहकिने पापी मन

 
 
उमेरले डाँडा काट्न थालेपछि चाहिदोभन्दा नचाहिदो नै मनभित्र बढि तुलबुल हुन्छ कि ...
भविष्य सकिन लागेको हुन्छ र अवसान जजिक हुन थालेको अनुभूति चर्को भएपछि आफ्नै मृत्युको कल्पना आउँन थाल्दो रहेछ कि ...
म मर्दा को बढि रोला ?
सबैभन्दा बढि रुन सक्ने बुढि त मास छर्न गई सकी ।
छोराहरू ?
बुहारीहरू ?
दाजु भाइ पनि आफ्नो त छैन । भएपनि दाजुभाइको खोक्रो रुवाइ हुँदो हो ।
दिदी बहिनीहरू— केही हदसम्म रुन्छन् होला ।
नातिनातिनीहरू— अरू रोएभने रुन साथ देलान् ।
इष्टमित्र नरनाताहरूले रुनै किन परो र !
यसरी हेर्दा त साँच्चै रुनेहरू त म कोही देख्दिनँ ।
म मरेपछि मेरा सन्तानजस्ता मैले लेखेका किताबहरू रोलान् । ती त अहिले म जिउँदै हुँदा पनि कुनामा थन्किएर पाठकको हातमा पुग्न नपाएर रोईरहेकै छन् नि ! कसैले नपढ्ने हुँदा रोईरहेकै छन् नि !
होइन, मेरो गोप्य प्रियसी रोलिन् । के रुन्थी नि ? म मरेकै पनि उसले थाहा पाउदिन । थाहा पाउँदा धेरै समय बितीसकेको हुनाले ‘रोउँ कि हाँसु’ हुने छिन् ।
म आफै फेरि आफैलाई सोध्छु— मरेपछि रुनेहरू किन चाहियो ? अहिले बाँचेको बेला मलाई थोरै हसाउनेहरू, मसँग थोरै हाँस्नेहरू म मरेपछि धेरै रुनेहरूभन्दा असल छन् । तीनीहरूबारे पो मैले सोच्नु पर्छ ! म मरेपछि धेरै रुनेहरूको के काम ? अनि किन चाहियो ?
...     बेला न कुबेला बहकिने पापी मन !
२०७७ फागुन ९

 ८९.
विलयन

आजसम्म छु । होइन अहिलेसम्म छु । भोलि भन्दा नि भरैसम्म पनि सास फेरिरहेको हुन्छु कि हुँदिनँ ।
सोच्दै सडक काट्दै छु । आधुनिक आविष्कार रे, अवस्था अनुसार गुडने, उड्ने तैरिने गाडि–जहाज–पानीजहाजहरू सडक, आकास र समुद्रभरि !
परी चलचित्रकाझैँ सुनको अर्ध मुखौटा लगाएकी युवती ड्याम्म मसित ठोकिन्छे । 
ठोकिनासाथ म तिनीभित्र विलयन हुन्छु ।
शरीर विसर्जन ! 
तिनी सायद तिनी नै थिइन् कि ? सोच्नै पाइनँ ।
२०७७ फागुन १७
 ९०.
कालकोठरी


“ठिङ्गुरा !
किन थाहा नपाउनु ? बी.ए. परीक्षा  सकिएपछि  आफू जन्मेको गाउँमा सामाजिक अभियन्ता बन्ने भनेर फर्किएँको थिएँ । नि.मा. वि. स्कुलको वार्षिक आर्थिक सहायता आई.ए. उत्तिर्ण प्र.अ. नभएकोले रोकिएको थियो । प्र.अ. म बनाईए र प्र.अ.मा मेरो नाम र मेरो आई.ए.को प्रमाणपत्रको प्रतिलिपी पठाएपछि १०,०००÷– आर्थिक सहायता आयो ।
२०२५ सालको कुरा ! जुगै बितेछ ।
स्कुलका सेक्रेटेरी ,म र एकजना काका दिनभर एवालुङ बजार घुमेर साझमा बुढो मावली नाताको घरमा गयौँ । गाउँघरको त्यतिबेलाको चलन ! रक्सी खान दिए । मातेपछि उनीहरू बीच झगडा कुटपिट भयो । पछि अदालतमा मुद्दा भयो । हामी तीनजना पक्राउ प¥यो । हिरासतमा ठानामा एक रात ठिङ्गुराको स्वाद चाखियो ।
ठिङ्गुरा काठको लामो बटमको दुई भाग हुँदो रहेछ । तीन जनाको एउटा एउटा खुट्टा (पिडौलाभन्दा मुनि गोलीगाँठोभन्दा माथिको)  ठिङ्गुराको आँधि भागको आधि प्वालमा राखेपछि अर्को आधि प्वाल भएको भाग जोडेर  बन्द गरेपछि  खुट्टा   निकाल्न नसकिने हुन्छ ।”

ठिङ्गुराबारे २०÷२५ वर्षकै कान्छो उनले भनिसकेपछि म मैले भोगेको कालकोठरी यातना नबताई रहन सकिनँ...
“कालकोठरी !
२०१०सालमा म लगायत सैनिक बिद्रोह र गाथगादि ताकेको अभियोगमा जेल परेका रक्षा दलका ५९जना जेलमुक्तिका लागि २८दिनसम्म आमरण अनसन बस्यौँ । तर सो अनसन बिफल भयो । 
अनसन बिफल भए पछि मलाई कालकोठरीमा हुलाइयो । भद्रगोल जेलभित्र रहेको कालकोठरी  कैदिलाई मार्नकै लागि बनाईएको हो र त्यहाँ कैदिलाई मर्नकै लागि राखिन्छ । कैदि त्यहाँको असुबिधा अँध्यारो, चिसो र एक्लो बसिरहनुले र नैराश्यले नै मर्छ । नामै काल कोठरी !
कालकोठरीमा राखिएको कैदिको हात खुट्टामा हतकडि नेल बाँधेर सो नेलमा गरुङ्गो  (२०किलोभन्दा गर्हौ) फलामको गोला झुन्डाइएको हुन्छ । कैदिले यताउता सर्दा सो फलामको गोला हातले उठाएर सर्नुपर्ने हुन्छ । कालकोठरीमा कतैबाट प्रकाश आउदैन । कसैलाई पनि कालकोठरीको कैदिसित भेट गर्न दिईदैन । अँध्यारो  चिसो फोहोर कोठा हुनुका साथै होचो हुँनाले कैदि उभिन पनि नसक्ने हुन्छ । झ्याल हुँदैन । ढोका खोलेर कैदिलाई हुलाईसकेपछि त्यो ढोका बन्द रहन्छ । 
दिनमा एक पटक खाना दिनका लागि थाल मात्र छिर्ने एउटा सानो खिड्की हुन्छ । प्रकाश भन्ने त्यो खिड्की खुल्दा मात्र एक क्षण कैदिले देख्न सक्छ ।  काल कोठरीमा हुलेपछि मैले पनि बाँच्ने आशा त्यागेको थिएँ ।
तर मेरो भाग्यले एउटा उच्च पदस्थ सेनाको जरनेल जेल निरीक्षण गर्दैगर्दै कालकोठरीभित्र पनि पसे ।  जरनेल जब मेरो नजिक आए, हतकडि नेलले बाँधिएको दुवै हातले जरनेलको दुवै खुट्टा  च्याप्पै समाएँ । जरनेलले ‘छोड्’ भन्दै खुट्टा फुत्काउने अनेक बल गरे । फुत्काउन सकेनन् । सिपाही आएर जोड जोडले ‘छोड् ! छोड् !’ भन्दै लात्तैलात्ताले हिर्काको हिर्काकै गर्दा पनि मैले छोड्दै छोडिनँ  । हथकडि र नेलले गर्दा झन् कसिलो गरि पक्री रहन सकेँ ।  आखिर कालकोठरीमा सडेर मर्नु नै छ । गोदाई खाएर मरेभने पनि... के फरक पर्छ र !
पक्रेको पक्रेकै छोड्दै छोडिनँ ।
खुट्टा फुत्काउन नसकेपछि आतेस भएर जरनेलले सोधे— के चाहन्छस् ?
‘यो कालकोठरीबाट बाहिर निस्कन पाउँ ।’
उकुसमुकुस जरनेलले कालकोठरीबाट निकाल्ने आदेश दिए  । 
यसरी कालकोठरीबाट छुटकारा पाएर मेरो ज्यान बाँचेको थियो ।”
२०७७ माघ  ३०

९१
.भेन्टिलेटर

‘म रोगी पनि छु । कोरोनाले भेट्यो भने ...’
‘आ, नेतामन्त्री ज्यु पनि ... तपाईंसित डाक्टरहरूसँग नभएको पिपीइ, चस्मा,पञ्चा छ ।’
‘ती नक्कली हुन सक्छन् ।’
‘अहिले नै महामारीको रूपमा आईसकेको छैन ।’
‘मलाई पो थाहा छ...’
नभन्दै उनी बिरामी हुन्छन् । भेन्टिलेटरमा राख्नु पर्ला कि ...
भेन्टिलेटर नहुनाले उनको मृत्पु हुन सक्छ । थोरै भएको भेन्टिलेटर उनीभन्दा शक्तिशाली नेतामन्त्रीहरूले ओगटि सकेका रहेछन् ।
कमिसन नआउने हुँदा भेन्टिलेटर थप्नेमा कुनै नेतामन्त्रीको ध्यान गएको थिएन ।
बिचरा कमिसनले बनेका नव धनपति नेतामन्त्री ! भेन्टिलेटर नभएको थाहा पाएर कोरोना कोविड १९ ले भन्दा अगाडि हृदयाघातको सिकार हुन्छन् ।
बेलैमा प्रसस्त भेन्टिलेटर भएको अस्पताल बनाउनेतिर ध्यान दिएको भए सायद अरू सर्वसाधारणसँगै उनी पनि बाँचिरहेका हुन्थे कि !
२०७७ बैशाख ५, धरान
९२
क्षण क्षणको जीवन

लकडाउनको तीसौ दिन !
आजसम्म बाँचिएको छ !
बाँच्नु सबैभन्दा ठूलो कुरा रहेछ । आजसम्म त कोरोना कोविद१९ले स्पेन, इटाली र इरानमा जस्तो महामारी भएको छैन । महामारी भयोभने खुट्टा तन्काउनु बाहेक अरू उपाय छैन । अमेरीका बेलायतजस्तो देशमा त भयावह स्थिति छ भने ....
मन अत्तालिनु । मन अडेसा लाउने ठाउँ छैन । दिन त काट्नै पर्छ ।
नातिनीसँग कोठा सफा गरियो शुक्रबार । अनावश्यक कागजपत्र, धुलोमुलो र लत्ताकपडाको उरूङले बोरा भरियो  जेहोस् ...दिन पनि काटियो । कोठा पनि सफा भयो । मन फुरुङ्ग !
आज आइतबार ! साबुन पानीले मिचीमिची हात धुँदा पो औँठीको सम्झना भयो ।
“कोरोना भाइरस औँठीभित्र रहन सक्ने हुन्छ “भन्ने डाक्टरको अन्तरवार्ता सुनेपछि स्व. पत्नीले राशि अनुसारको पत्थर राखेर बनाई दिएकी एउटा सुनको र अर्काे चाँदिको औँठी फुकालेर कागजमा पोको पारेर राखेको थिएँ ।
सफा कोठामा कागजमा पोको पारेको औँठी खोज्छु । भेटिदैन त ।
शनिबारै फोहोरको बोरा नगरपालिकाको फोहोर मैला उठाउने गाडिले उठाई लगिसकेको थियो ।
पक्का फोहोरकै डङ्गुरमा गयो । नातिनीलाई पनि भन्छु । तिनी पनि अरकच्च हुन्छिन् ।
धन्दा नमानौ ँ! कोरोनाले नै औँठी लग्यो । अथवा कोमा (बोजु) ले नै लगिन् सम्झन्छु । जेहोस्, ज्यान बाँच्यो भने...
आ ... बाँचियो भने अर्काे बनाउला तर पत्नीको चिनोको रूपमा सधैं लगाईरहेको औँठी । बिस्मात लाग्छ, दुःख लाग्छ ।
फेरि खोज्छु सबैतिर । एकल बुढेसकाल ! दिमाग के भएको छ ? सम्झना शक्ति कम भईरहेको छ ।
दराजको कुनामा कागजमा पोको पारेको औँठी भेट्छु । नातिनीलाई पनि कराएर सुनाउछु । एकै क्षण अघिको दुःख सुखमा परिणत हुन्छ । खुसी हुन्छु मानौं मैले स्वर्ग पाएको छु ।
निस्पट्ट अँध्यारो चम्किलो उज्यालोमा परिणत हुन्छ । आनन्द साना मसिना प्राप्तिमा निर्भर रहेछ ।
क्षण क्षण सुख–दुःख हाँसो–रुवाइ पीडा–आनन्दले भरिएका हुँदा रहेछन् । ती क्षण क्षणहरूका जोड नै जीवन ! ...
यो लकडाउन, कोरोना क्षण पनि बितेर जाने छ । अर्काे सुखको क्षण र उन्मुक्त हाँसो जीवनमा आउने छ !
(लकडाउन) ३०७७ वैशाख ८, धरान

९३.
साथ सहकार्य

यात्रामा अथवा बाँचुन्जेल कसैको साथ चाहिँदो रहेछ ।
यात्रामा अथवा तन्नेरी कालमा तिनीसँग भेट भयो । सन्तान जन्मिए, परिवार भयो । सामान्य जीवन गुजारीरहेको बेला तिनको अकाल मुत्युले म एक्लो भएँ ।
असह्य चोट विछोडको, आलो घाउ रगत भल्भली बगिरहेझैँ पीडा मनभरी बगेर बाँच्न गाह्रो भइरहेको बेला अपिरचिताले पीडाको दहबाट पौडन मदत गरीन् । त्यो अमूल्य साथ थियो । तर त्यो साथ सदैव सम्भव थिएन र भएन ।
म फेरि एक्लो भएँ ।
सन्तान छन् नि ?
हो, त्यो पनि । तिनीहरूले जीवनयापनमा साथ दिइरहेका छन् । भोकै प्यासै बस्नु परेको छैन । देख्ता आनन्दसित बाँचेको देखिन्छु ।
मन हो ! पापी मन बहकिन्छ । आत्मीयता अपनत्व प्रेम माया खोज्छ । त्यो पाउने उमेर अब कहाँ छ र ?
मनलाई जहिले पनि खुश राखियो । स्वार्थपूर्ति खातिर मनले नमानेको कुनै काम गरिएन । अन्तरमनको पुकार अनुसार बाँच्दा कैयौको साथ पाइयो । कैयों मनले खाएकाहरूलाई साथ दिइयो । सहकार्य गरियो ।
साथ खालखाल्को हुँदोरहेछ अवस्था अनुसार । अझै मनले साथ खोज्छ । खोज्नु स्वाभाविक हो । ‘देश काल परिथति’ भन्थे म तन्नेरी हुँदा । बाल्यकाल तन्नेरीकाल समय पनि खोलाजस्तै सलल बगेर जाँदोरहेछ मान्छेले थाहै नपाई । भेलले हुत्याएर एकान्त कुनामा फाल्दा पो मान्छे किनारामा फालिएको माछाझै छट्पटिदो रहेछ ।
त्यस्तै मेरो व्यक्तिगत जीवनमाजस्तै समग्र मानव समाजमा पनि संकटको अवस्था छ ।
समयअनुसारको साथ...एउटा व्यक्तिलाईझैँ समग्र मानवलाई पनि सबैको साथ चाहिएको छ । सबैको सहकार्य जरूरी भएको छ ।
(मानिसको वर्तमान कोरोनाले यस्तै भएको छ । एकजना डुब्दा उमात्र एक्लो नडुबेर परिवार समुदायलाई समेत डुबाउने भएकैले एकसाथ सामुहिक प्रयत्न आवश्यक भएको छ । यो कोरोना संकटबाट बाँचिएछ भने मलाई कस्तो साथ चाहिने हो सोच्ने छु , खोज्ने छु ...।) मनमनमा सोच्छु ।
अहिले मैले मानव जातिलाई जोगाउनका लागि दिने ‘साथ’ भनेको यो लकडाउन अवधिमा अनुशासित भएर धरभित्र बस्नु हो ।
अरू..... बाँचेमा साथ त कसै न कसैको पाइहालिन्छ नि ...
२०७६ चैत १८, धरान
९४.
मेरो वर्तमान

यो महिना परिवारका चार जनाको जन्मदिन परेको छ मेरो समेत । तर लकडाउन !
पोहोर पत्नीको देहान्तले जन्मदिन मनाइएन ।
त्योभन्दा केही वर्ष अगाडि पनि पत्नी बिरामी भएकोले जन्मदिन मनाइएन ।
त्योभन्दा अगाडि नेपालमा जन्मदिन मनाउने चलन थिएन र जन्मदिन मनाउने कुरै थिएन ।
म २००४ सालमा जन्मेको हुँदा २००४ सालदेखि आजका मितिसम्म म के भइरहेको छु ?
राणाशासण, २००७सालको क्रान्ति, २०१५सालको आम निर्वाचन, २०१७को संसद विगठन, पञ्चायती व्यवस्था, जनआन्दोलन, बहुदलीय व्यवस्था, गणतन्त्र आदि मैले भोगेका परिवर्तनहरू !
यी परिवर्तनहरूमा सबैभन्दा त्रसित अवस्था वर्तमान !
वर्तमान–वर्तमान !
बर्तमान आफू हो, आफ्नो हो र जीवन हो !
बर्तमान— कोरोना कोविद १९ले विश्वभर पु¥याएको भयङ्कर असरले दुःखदायक बनेको छ, विश्वभरी दर्दनाक मृत्युहरू ! मानिसहरूको मनभित्र उब्जिएको डर, भय, निराशा ! अनिश्चितता !
प्रश्न — अब मानिसको अवस्था के होला ?
जे गत सबैको मेरो पनि त्यही !
त्यसो भन्दा पनि मानिसले सृष्टिदेखि नै अनेकौं समस्याहरूको सामना गरेको छ । बिफर यो कोरोनाभन्दा डरलाग्दो थियो त्यतिबेला । डा. जेनर निस्किए । हैजा,प्लेग महामारी, टिवी.,एड्स, अनेक जानलेवा रोगहरू ! विनासकारी युद्ध युद्ध, पहिलो र दोस्रो विश्वयुद्धहरू ! अनेक अनेक ! ति सबैलाइ जितेर मान्छे बाँचिरहेको छ ।
धनि गरिब सबै मानिसहरू र सबै देशहरू कोरोना विरूध्द एक हुनुपर्ने अभिमतले आशा जगाएको छ ।
समुद्र रहे न थोपाहरू रहने हो । थोपाहरूकै जमघट हो समुद्र । थोपा रहे समुद्र !
तसर्थ म के भइरहेछु ? सोध्ने सोच्ने होइन ।
सोध्नु सोच्नु पर्ने रहेछु... म एउटा थोपा एउटा मानिसले के योगदान दिन सक्छु मानव जाति बचाउन ? अनुशासनमा बसेर आफु ‘कोरोना भाइरस मानव बम’ नहुनु वर्तमान पुकार रहेछ ।
अनुशासनमा बसेर म ‘भाइरस बम’ बन्दिनँ ! आफु पनि बाँच्छु र अरूलाई पनि बचाउँछु ! मानिसको भविष्य मेरो हातमा छ !
... मेरो वर्तमानले मानव भविष्य सुरक्षित गर्न सक्छ !
महत्वपूर्ण मेरो वर्तमान !
२०७६ चैत १६, धरान
९५
.कस्तो सन्देश ?

लकडाउनको ५२औं दिन । आज पनि बाँचिएछ भन्दै उठेको हुन्छु । लकडाउनले विकसित अभ्यस्त बानी ब्यहोरा । समय काट्ने, समाचार थाहा पाइने र मनोरञ्जन पनि दिने मोबाइल ! हात मोबाइलमा पुग्छ ।
मेसेन्जरमा
(भोलि नहोला भन्नसकिदैन )...
त्यो एक दिन...
अचानक ज्वरो आउँछ ! घाँटी दुख्न थाल्छ ! श्वास फेर्न कठिन हुन्छ ! वास्ना र स्वाद हराउँछ ! आलस्य हुन्छ ! टाउको दुख्छ ! वाकवाकी लाग्छ...!!
कोरोना–कोविद १९(अयचयलब –अयखष्म ज्ञढ)टेस्ट गरिन्छ,
३ दिनसम्म लगतार तनावमा भएपछी, जब टेस्ट पोजेटिभ आउछ....
त्यसपछि एम्बुलेन्स घरमा आइपुग्छ...
अनि...
छिमेकीहरू झ्यालबाट तिमीलाई हेरिरहनेछन्
कसैको तिमीप्रति सहानुभुति भएपनि
केही मनहरू तिमीप्रति हाँसिरहेका हुनेछन्
एम्बुलेन्ससँगआएका स्वास्थ्यकर्मीहरूले तिम्रा दैनिक प्रयोग गरिने सामग्रीहरू र लुगा राख्नु भन्ने छन् अनि...
बिचरा तिमी...
घरवालाहरू तिमीलाई एकोहोरो नियालिरहन्छन्.
तिम्रा आँखाहरू आँसु बोल्न थाल्नेछन् ...
त्यातिखेर नै.......
“ल छिटो गर्नुस् “ आवाज आउछ,
एम्बुलेन्सको ढोका बन्द हुनेछ.... साइरन बज्न थाल्नेछ...
अनि त्यो टोल सिल गरिदिनेछ
अनि १४ दिनसम्म नितान्त एक्लै बस्न भनिनेछ..
२ छाक खाना त पाइएला, 
तर .भि. मोबाइल सबै अदृश्य हुनेछन्..
बन्द कोठाको पर्खालमा अतीत अनि भबिस्यको दृश्य देखिन थाल्नेछन्...
यदि तिमी ठीक भए त... ठीक...
त्यो पनि ३वटा टेस्ट रिपोर्ट नेगेटिभ आयोभने..
अनि घर फिर्ता....
तर
यदि उपचारको क्रममा कुनै अनहोनी भयो भने !
त्यो तिम्रो शरीरलाइ प्लास्टिकले रैप गरेर सिधै
शवदाहगृह पु¥याईने छ र....
सायद तिम्रा आफ्ना आफन्तका लागि अन्तिम दर्शन सम्भव नहोला !!!
मात्र परिवारलाई एउटा डेथ सर्टिफिकेट...
खेल खत्तम...

चसक्क मुटुमै बिज्छ । बाँचिएछ भने देशका लागि लडौला भनिरहेको म ! दर्दनाक मृत्युुवरणको तस्वीर आँखामा ल्याईदिन्छ यो सन्देशले । मैले अस्पताललाई गरेको शरीरदान पनि काम लागेन— सम्झन विवश हुन्छु । झल्यास्स झस्काउँछ यो सन्देशले । ल, यस्तै भयो भने पनि कसको के लाग्छ र ? धेरै मानिसहरू पिता, पत्नी र आफन्तहरूको मृत्यु देखिसकेको म सोच्न पुग्छु मर्नलाई पनि एउटा निहुँ चाहिँदो रहेछ । निहुँ कोरोना ...
सन्देश अझै रहेछ, पढ्छु

बिचरा गयो...... राम्रो मान्छे थियो
त्यसैले,
बिना कारण घर बाहिर ननिस्कौँ
बाह्य जगतको मोह अनि कुरालाई हल्का लिने बानी त्यागौं।
सम्झिनुहोस कि...
जीवन–अनमोल–छ ।
त्यसैले–घरमै–बसौ–सुरक्षित–बसौँ ।
पढी सक्नु भएपछि मैले जस्तै कपि पेस्ट गर्नुहोस् ।
त्यो दिन आउदैन भन्न सकिन्नशुरक्षित रहनुहोला
घरमै बस्नुहोला (क्तबथ) जयmभ )
शुरक्षित रहनुहोला (क्तबथ ) कबाभ )

कस्तो सन्देश ? जरासम्मै हल्लाउने हुरीझैँ म अहिले भित्रैसम्म थरथरी भएको छु । यो नकारात्मक हो कि सकारात्मक ?
२०७७ जेठ २, लकडाउन
९६.
सुनसान सृष्टि


ब्युँझेपछि छटपटि अथाह वह मनभरि ! कोरोना कोविद १९को ! ५३औँ दिन लकडाउनको । ... नेपाली भूमि अतिक्रमण विरूध्द उफ्रेर कराएर जुलुस निकालेर पनि मनको आक्रोस पोख्न पाइएन । थप पीडा !
कोरोना महामारीको रूपमा फैलियो भने सखाप । मनभरि वहकालागि पर्याप्त कारण ।
जेसुकै होस् । मनको बेचैनीले मिरमिरेमै हिडायो । मनको पीडा रोक्ने अचुक औषधि ‘वाकिङ’ । सुनसान बजार ! सडक छ गाडी छैन । मान्छे घरभित्र थुनिएका छन् । मान्छे नभएको संसार !
विश्वभरि फैलिएको कोरोना कहर विश्व युध्दजस्तै भएको छ । मान्छेले निर्माण गरेका अनैकौं सुबिधाका सम्पन्न रङ्गीन सामान साधनहरू खै के काम लाग्यो र ?
तेस्रो विश्वयुध्द भयो भने विश्वयुध्दपछि विश्वको स्थिति यस्तै होला । सुनसान धरती, सुनसान सृष्टि ! विश्वयुध्द हुन्छ त ? अहिलेको विषम परिस्थितिले देशहरूलाई त्यतातिर नै उन्मुख गराइरहेको छ ।
विध्वंशकारी परमाणु बम, क्षेप्यास्र, बन्दुक गोली बारुदको भण्डार छ तर कोरोनासँग लड्ने साधन छैन वर्तमान विश्वका तथाकथित शक्तिसाली विकसित मुलुकहरूसँग । खाने अन्न छैन, औषधि छैन । अर्थव्यवस्था तहसनहस, आम्दानीको बाटो छैन । विनासकारी हतियार बेच्न नपाए मुलुकै तहसनहस । युध्द थाल्नै पर्ने भयो । बनिसकेको हातहतियार बम बारुद बेचेर अर्थतन्त्र जोगाउन पनि युध्द आवश्यक ।
करुणाजनक मृत्यु विश्वभरि । मान्छेले नै मान्छे मास्ने विश्वयुध्द ! डायनासोर झैँ मान्छे मासिएछ ।
म हिँडिरहेछु । मान्छे भन्ने कतै छैन देखिदैन । सारा सहर घर ध्वस्त छ । भत्केको भवन, भत्केको सामान, मेसिन । सबैभन्दा बीभत्स मान्छेका छरिएका अनगिन्ती लास । डङडङ्ती गनाईरहेका । गाड्ने जलाउने कोही छैन । गिध्द स्याल समेत संहार भईसकेको छ । शून्य धरती मानवविहीन युग !
हन... यो मैले के सोचिरहेको ? यस्तो हुन पनि सक्छ ।
गलत प्रगति वर्तमानको । एउटाको सनक–सन्किपनले विश्व ध्वस्त हुन पनि सक्छ । पृथ्वी नष्ट गर्ने हतियार बनाउनुको सट्टा मानव बचाउने शक्ति साधन आवश्यक रहेछ । यो बुझेको भए यस्तो दुखद दिन आउने नै थिएन । अझै सुधार्न सकिएला कि !
 विश्वव्यापी भाइचारा, साथसहयोग र सहकार्यले मात्र कोरोना कोविद १९ र भावी सम्भावित विश्वयुध्दबाट विश्व समुदायलाई बचाउन सक्छ । यो सन्देश कोरोनाले दिईरहेको छ । समानता र न्यायमा आधारित प्रगतिले मात्र सुन्दर सृष्टिलाई निरन्तरता दिन सक्ने छ ।
२०७७ जेठ ३ ,लकडाउन

९७
जीवन

बिद्यार्र्र्र्थी हुदाँ जाँच उत्तीर्ण गर्न अनेक उपाय अवलम्बन गरियो ।
एम.ए.मा पढ्दा आर्थिक विकास भन्ने पत्रको प्रश्नपत्रमा ‘हेरोड डोमरको विकास मोडल’ भन्ने सधैं सोधिन्थ्यो । जति पढ्दा पनि बुझिएन । आई.ए.मा पढ्दा पीण्डेश्वरको एउटा बिद्यार्र्थीले २००० शब्दको पकेट ‘स्टार डिक्सनेरी’ कण्ठै पारेको तर एउटा सेन्टेन्स लेख्न बोल्न जान्दैनथ्यो भनेर साथीहरू गफ गरेर गलल्ल हाँस्थ्यौँ । 
हेरोड डोमर मोडल ! त्यसमा डेल्टा, डेल््टा, एक्स, वाई, प्लस, इजिकल आदि भएको चार पाँचलाइनको  इक्योसन पनि थियो ।  सबै कण्ठष्ठ पारेँ डेल्टादेखि इजिकल्टु सहित इक्योसन  पनि । परीक्षामा दुरुस्त उतार गरेँ ।
नक्सलाइट राजनीतिको हावाले मलाई पनि भेटेको थियो । कलेज छोडो अभियानले प्रभावित भएर कति साथीहरूले पढाइ नै छोडे । रेगुलर भए पनि  र पढाइ राम्रो भएर  बी.ए.मा सेकेन्ड  डिभिजन आएको भएपनि पढाइमा ध्यान थिएन । धन्न पढाइ चाहिँ छोडिनँछु ।
जेलसार गर्दा खुट्टामुनि  गोली हान्दा माथि लाग्न गई चारजना झापालीको चारालीमा  ज्यान गएको समाचारले लिन पियाओको रेडबुक र निशुल्क पाइने माओको लकेट छ्यापछुप हरायो । अनि मेरो पनि पढाइतिर ध्यान गयो ।
एम.ए. थर्ड डिभिजनमा पास गर्नेले कलेजमा पढाउन पाउदैनथ्यो । फस्ट डिभिजन ल्याउनेहरू फुलब्राइट स्कलरसिप पाएर प्रायजसो नै अमेरिका पि. एच. डी. अध्ययन गर्न जान्थे त्यतिबेला ।
मेरो पनि कुन डिभिजनमा आउने हो ?
दोस्रो सम्ममा उत्तीर्ण भएर नयाँ शिक्षा लागू हुँदै गरेकोले सोर्सवालाहरू, हुने खानेले नखाएको फालाफाल सहायक प्राध्यापकको जागिर भेटियो । अर्को गतिलो जागिर नभेटुन्जेल मात्र भनेर खाएको, पुरै जीवन काटियो ।
अहिले पो सम्झन्छु नबुझि नै हेरोड डोमर मोडल कण्ठ  पारेर जाँच उत्तीर्ण गर्नु जस्तो जीवन सजिलो रैनछ । डिक्सनेरी कण्ठ पारेर पनि एउटा सेन्टेन्स मिलाउन नसकेझैँ पो रहेछ जीवन !
जीव
न...!!!
२०७७ फागुन ४
 ९८.
सुन्दर जीवनहरूका ताँती


आज पनि म ब्युँझेको छु । बिहानै कामको ताँत्ती लागेको छ... झुल उठाउनु, मुख धुनु, फूल स्याहार्नु, पढ्नु , के के काम गरिरहेजस्तो देखिएर बाँचेको प्रमाण दिनु आदि ...
काम त जीवित रहुन्जेल हुन्छ नै । एउटा कथामा एकजना बुढो सफाइ कर्मचारी रुखबाट खसिरहेको पात सोहोर्दा सोहोर्दा दिक्क भएर सोच्न पुग्छन्— ‘यी पातहरू नखसे’ । साच्चै पातहरू खस्न छाड्छन् । सोहोर्न परेन । केही गर्न परेको छैन । छक्क परिरहेको बेला उनलाई देवदुतले सम्झाउछ— उ त मरिसकेर स्वर्गमा पो रहेछ ।
हो नि, मृत्युपछि मात्र काम सकिन्छ ।
बाँचुन्जेल साथीभाइको ताँती लाग्नुपर्ने हो । कार्यक्रम भेटघाट सम्पर्क सब बन्द कोविद १९ ले रे ! एक्लै धुम्धुम्ती कोठामा बस्यो, सुत्यो, उठ्यो एक्लै एक्लै ...
संक्रमितको ताँती ! मृतकको ताँती ! अब के होला ? शङ्काको ताँती ! पीरहरू पीरहरूकै ताँती !
मैले समाधान भेटेँ ।
आशा गरौँ राम्रो हुन्छ । राम्रा सुखद दिनहरूको ताँती संकटपछि नै आउँछ ! अहिले सम्म बाँचिएकै छ यो नै पर्याप्त छ । कोही पनि अनन्तसम्म यात्रा गरिरहन सक्तैन । यात्रा टुङ्गिन्छ नै.... निरन्तर चलिरहने जीवन र अन्तको ताँती !
यो प्रकृतिको नियम ... यसरी सोच्दा सन्तोष लाग्छ ।
खुसीसाथ म निकट आइरहेको सुख दुःखका स्वागत गर्न सर्वसाधारण आम मान्छेको ताँतीमा उभिन्छु । कोरोना कोविद १९, अतिक्रमण, (सलह पनिआउन सक्छ रे) जस्ता जीवनरहेसम्म भइरहने अनेकौ समस्यासँग जुध्न एकतावध्द सर्वसाधारण आम मान्छेको पङ्तिमा उभिन्छु ।
अब म एक्लै छुइनँ ।
सुन्दर भाव, सुन्दर विचार, सुन्दर जीवन कहाँ एक्लै हुन्छ र ?
९९.
सफा धरती

शैशवकाल— जीवनको सुनौला अवधि ! २ कक्षामा पढ्ने हामी फुच्चे केटाकेटीहरू पाठशाला नजिक रहेको धर्मशालामा रमिते भएर जान्थ्यो ।
जे देखिन्छ नयाँ ! धर्मशालामा नयाँ किसिम किसिमका मान्छेहरू आउथे जान्थे । किसिम किसिमका खाना पकाउथे , खान्थे, जान्थे । ती सब हाम्रा लागि उत्सुकता र नयाँ जानकारीको विषय हुन्थ्यो ।
एकजना साधु जोगी आए । रायो सागको मुठ्ठा निकालेर बडो जतनसाथ चक्कुले मसिना गरि काटे । काटिसके पछि माडेमाडे र निचोरे । हरियो रस फालेर पकाए । उभेर रमिता हेरिरहेका हामीलाई फुच्चे ठानेर होला धर्मशालामा बस्नेहरूले खासै ध्यान दिँदैन थिए । तर दुरदुर्गम कुनाको गाउँ ... त्यतिबेला कहाँ मोबाइल, रेडियो, टेलिभिजन कम्प्युटर सिनेमा हुनु । ती अनेक यात्रीहरूका क्रियाकलाप नै चाख मानेर सिनेमाजस्तै रमाइलो मानिमानी हेर्ने गथ्र्यो हामी अबोध केटाकेटीहरू ।
एक बेलुकि एउटा यात्री परिवारसहित त्यो धर्मशालामा बास बस्न आएको थियो । त्यो धर्मशालाको चित्र अझै मेरो मनमष्तिस्कमा सजीव भएर बसेको छ । एउटा मात्र फराकिलो कोठा भएको तीनतिर भित्ता र एकापट्टी पूरा ह्वाङ्गै खुल्ला भएको झिँगटिले छाएको सानो घर । त्यो यात्री फोहोर धर्मशालाको छेउकुना सबै सफा गरिरहेको थियो । उसलाई परिवारले पनि सघाइरहेका थिए ।
भोलि बिहान हामी पुग्दा त्यो यात्री र परिवार आफ्नो मालताल सामान बाँधेर हिड्न तयार थिए । हिँड्नु भन्दा अगाडि तिनीहरूले पाटी धर्मशालाको छेउकुना सबै सफा गरिरहेका थिए ।
हामी मध्ये पाँचमा पढ्ने चामेले सोधिहाल्यो— किन सफा गर्दै हुनुहुन्छ ? तपाईँहरू त गइहाल्नु हुन्छ ।’
‘हो । हामी बस्दैनौँ, गइहाल्छौ । यो पाटी परोपकारका लागि बनाइएको हो । हामी गए पनि यहाँ बास बस्न आउने कोही हुन्छन् नै । उनीहरूकै लागि यो सफा गर्दै छोँ । हामी हिजो आउँदा यो फोहोर थियो । अगाडि बस्नेले सफा गरेर गएको भए हामी थाकेका यात्री कति खुशी हुने थियौँ । यो पाटीप्रति हामी नतमस्तक छौँ । नतमस्तक यसकारण कि यसले हाम्रो अमूल्य जीवनको एक रात हामीलाई रमाइलो बास दिएको छ । यो परिवारसँगको यो बास हाम्रो जीवनको अत्यन्त महत्वपूर्ण रात हो ।’ यात्रीले भनेको थियो ।
त्यतिबेला त सानासाना केटाकेटी हामीले के बुझ्नु र !
अहिले पो बुझ्दै छु । जोगीले सागको रस निचोरेर फालेको त्यो बेमौसमको सागको तीतोपन फालेको रहेछ । फेरि जोगीका लागि तागत आवश्यक पनि थिएन कि ! त्यो यात्रीको भनाइ ‘मानिसका जीवनका हर दिन हर रात हर पल हर क्षण महत्त्वपूर्ण हुन्छ र ती पलहरूमा आफूलाई आस्रय दिने या जीवन गुजार्न सहयोग दिनेहरूप्रति कृतज्ञ हुनु पर्छ । आफूले उपयोग गरिसकेपछि कालान्तरमा अरूका लागि बस्तुहरू वा सुन्दर जगत राम्रो अवस्थामा नै छोड्नु पर्छ ।’
पुर्खाहरूले छाडेका रमणिय धरती यो पुस्ताले जताभावी दुरूपयोग गरेकोले ‘सावधान सचेत गराउन’ प्रकृतिले ‘कोरोना कोविद १९’को वार्निङ सम्पूर्ण मानव समुदायलाइ दिइरहेको छ । ‘आफू बाँचेर र अरूलाई पनि बचाएर’ र ‘सचेत सावधान भएर’ र ‘प्रकृतिलाई पनि स्वाभाविक प्राकृतिक अवस्थामा रहन दिएर’ भावी पुस्तालाइ ‘सफा धरती’ हस्तान्तरण गर्ने दायित्त्व यो पुस्ताको भएको छ !
२०७७ वैशाख २५, लकडाउन
१००.
छ्याके

पुरानो कथा पढिरहेको छु । छ्याके पात्र देखा पर्ना साथ म पनि बाल्यकालमा अवतरण हुन पुग्छु ।
आजभोलि धरानभरि खोज्दा एकजना वा बढिमा दुई तीन जना छ्याके मान्छेहरू भेटिएला । देशैभरि खोज्दा सय पचास भेटिएला । अब आउने पिढीँले त छ्याके मानिस तस्विरमा मात्र देख्ने छन् ।
म सानो छँदा झन्डै सयमा बीस मानिसहरू छ्याके थिए । मलाई पनि खोप लगाएको थियो । खोली राखेर गाउँभरिका बालकहरुलाई बैद्यले खोप लगाउथ्यो । पाकेर घाउ हुन्थ्यो, निको भएपछि नाडि वा पाखुरामा गोलो घडिजस्तो खत हुन्थ्यो । मेरो उमेर समूहका प्राय सबैमा यो चिन्ह देख्न सकिन्छ ।
बिफर भयङ्कर महामारी थियो । डा. जेनरले खोप तयार गरेपछि यो रोग उन्मुलन भयो ।
अहिलेको कोरोनाभन्दा ज्यानमारा बिफर त्यतिबेला भयङ्कर महामारी थियो । बिफरले धेरै मरेका थिए । बाचेकाहरू पनि छ्याके हुन्थे । जताततै छ्याके मानिसहरू थुप्रै हुन्थे ।
कोरोना कहर भईरहेको वर्तमानमा पनि राजनिती भ्रष्टाचार, राष्ट्रघात र निहित स्वार्थी बिफरले आक्रान्त छ । फोहोरी राजनीतिले राष्ट्रियता र राष्ट्रिय विकासका कुरा गर्दै नगर्ने, जनतालाई नागरिक हुन नदिने, देशको विकासभन्दा विदेशीको तलुवा चाट्ने राष्ट्रघाती महामारी व्यप्त बनाएको छ ।
ऊ हेर्याे राष्ट्रघाती । ऊ हेर्याे राष्ट्रघाती ! ऊ पार्टी राष्ट्रघाती । ऊ पार्टी राष्ट्रघाती ! राष्ट्रघाती छ्याके महामारी राजनीति !
कोरोना कोविद १९ बाट जनता बाँचेपछि (सबै त मर्दैनन् नि) राष्ट्रघाती दलाल राजनीति निर्मुल अभियान आन्दोलनले राजनीतिमा राष्ट्रघाती छ्याके महामारी उन्मुलन गर्ने छ ! पार्टीहरू राष्ट्रवादि चोखो पवित्र र असल राजनीतिका अनुयायी बन्नेछन् ।
आशा गराँै, फोहोरी राजनीति अन्त भई पवित्र कञ्चन असल राजनीतिसँगै दास जनता नागरिक बन्ने छन् ।
यही आत्मबलले कोरोना परास्त गरौँ र राजनीतिमा पनि राष्ट्रघाती छ्याके जन्मिनै नदिऊँ !
२०७७ वैशाख १०, धरान, लकडाउन
१०१.
युगको अप्रिय हार

जनमत बुझ्न क्रिएटिभ संस्थाले एउटा अचम्मको कार्यक्रमको आयोजना ग¥यो । सबैभन्दा बढि श्रद्धा र सम्मान गरिने एउटा जिउँदो मानिसको तस्वीरमा फूल चढाउने र सबैभन्दा बढि घृणा गरेको एउटा जिउँदो मानिसको तस्वीरमा थुक्ने ।
यो नयाँ प्रकारको कार्यक्रममा हजारौं सर्वसाधारण आम मान्छेहरूले स्वस्फूर्त रूपमा सहभागिता जनाए ।
नाम चलेका सयौं मानिसहरूको तस्वीर गोप्य स्थानमा राखिएको थियो । पालैपालो त्यहाँ गएर फूल राख्ने र थुक्ने कार्य गर्नु पथ्र्यो । त्यो काम सम्पन्न भयो ।
सर्वसाधारण आम मान्छेहरू त्यहाँ गएर थुकेर त आउथे तर फूल भने कसैको तस्वीरमा नराखि फर्काएर मैला ढ्वाङमा फाल्थे ।
अन्तमा ‘को सबैभन्दा घृणित रहेछ ?’ भन्ने परिणाम बुझ्न तस्वीरहरू हेरियो । दुई वटा तस्वीरमा यति धैरै थुकिएको थियो कि ती तस्वीरहरू चिन्नै नसकिने गरि धुजा धुजा भएका थिए । तसर्थ सबैभन्दा घृणित जिवीत मानिसको पहिचान हुन सकेन ।
सबैभन्दा बढि लज्जाको विषय— श्रध्दा र सम्मान गरिने एउटा जिउँदो मानिस जसको तस्वीरमा हजारौं सर्वसाधारण आम मान्छेहरू फूल चढाउन सक्थे, एउटै त्यस्तो जिउँदो मानिस नहुनु— वर्तमान युगकै अप्रिय हार देखियो !
२०७६ भदौ १, धरान




१०२
सबैलाई समान छहारी 


(‘विश्व रङ्गमञ्चमा आफु मात्र नाचौँ र अरूलाई नासौ !’ यस्तो उल्टो सोचबाट सञ्चालित वर्तमान विश्वको उल्टो यात्रालाई सुल्टाउने सानो प्रयत्नस्वरूप लेखिएको लघुकथा)
‘प्रमुख अतिथीको रूपमा उपश्थितिको लागि अनुरोध छ  ।’ निम्तो पढेर मन, तन र मस्तिष्क आल्हादित भएर आयो । 
ढिलो भए पनि कदर भएको सम्झेँ । तोकिएको समयमै दौरासुरूवाल लगाएर टुप्लुक्क कार्यक्रम स्थल पुगेँ । थुप्रै मान्छेहरू  मजस्तै  ठाँटिएर आईसकेका थिए ।
धेरैको उपश्थितिमा प्रमुख अतिथी हुने भइयो भनेर फुरुङ्ग परेँ । प्रसन्नतासाथ खालि कुर्सितिर बस्न जाँदै थिएँ,  नमस्कार बर्सियो । सबै मजस्तै प्रसन्न थिए ।
उद्घोषकले उद्घोषण गर्न थाले । प्रमुख अतिथी फलानालाई आसण ग्रहण गर्न अनुरोध छ । सभापति घोषणा नगरी प्रमुख अथितीको आसण ग्रहण ! मञ्च  नै छैन । बसेकै ठाउँमा उभिएर नमस्कार गरेर फलाना बसे । प्रमुख अतिथी चिलानालाई आसणग्रहण गर्न अनुरोध छ । चिलाना पनि फलाना जस्तै नमस्कार गरेर यथास्थानमा बसे । मलगायत त्यहाँ भएका सबै मानिसहरूलाई प्रमुख अतिथीको आसनग्रहण गराइन थालिएपछि तालीले हल थर्काउँदै सबै गलल्ल हाँसे । सबै प्रमुख अतिथी !
नयाँ तौरतरिकास नयाँ प्रयोग । सबैले जित्ने नयाँ अभियान  !
अन्तमा उद्घोषकले आफैलाई पनि प्रमुख अतिथी घोषणा गरे । हल ताली र हाँसोले गुञ्जायमान भयो ।
एकजना प्रमुख अतिथी (जो दार्शनिक जस्ता देखिन्थे) ले सबैको ध्यान आकर्षित गर्दै भने— “आजसम्म गरिएका सबै कार्यक्रमहरू एक जनालाई प्रमुख अतिथी बनाएर  अरूहरूलाई होच्याउने हियाउने र मानमर्दन गर्ने खाल्का हुन्छन् । चुनावमा पनि एकजना जित्ने र  अरूले हार्ने पध्दत्ति छ । नेताले जित्ने र सर्वसाधारण आममान्छेहरूले नेताको हैकम खप्नुपर्ने  !  न्यायसंगत छैन । हरेक खेलहरूमा पनि यही नियम छ । युध्दको नियम पनि यस्तै छ । शान्तिमा भने यो नियम लागु हुँदैन र सबैले जित्छन् । युध्दमा जस्तै नेताले जित्ने... सर्वसाधारण आम मान्छेले हारिरहने वर्तमान तौर तरिका मान्छेले नै बनाएका हुन्— जो उल्टो छ । यो  उल्टो तरिकालाई सुल्टाउँने अभियान अहिलेदेखि सुरु भईरहेको छ ।
अब  हुने कार्यक्रममा सबै प्रमुख अतिथी । अब चुनावमा एक दुई नेताले होइन, शान्तिमा सबैले जितेझै सर्वसाधारण आममान्छे भुईँमान्छे सबैले जित्ने छन् । सबैको जितका लागि माथिबाट लादिने, टुप्पाबाट पलाउने पध्दतिको सट्टा  माटो भुईँ तलबाट उम्रिएर सबैलाई समान छहारी दिने तौरतरिका विकसित हुने छ... सुल्टो सोचको प्रभावसँगै उल्टो बाटोमा हिँडिरहेका् विश्व सुल्टो बाटोमा हिँड्न थाल्ने छ । विश्व— युध्दउन्मादीहरूको नेतृत्वमा होइन मानव जातिलाई शान्तिको छहारी दिने शान्तिवादि सोचले  अगाडि बढ्ने छ ।  विश्वको सोच— बम बारूद क्षेप्यास्रले देश जोगाउँछ भन्ने होइन, विश्वबन्धुत्व,  भाइचारा र शान्तिले देशहरू जोगिन्छन् भन्ने सुल्टो विश्वसोच हुने छ । त्यसका लागि हरेक गतिविधि कार्यक्रमहरू पनि सुल्टो हुनु पर्दछ ...र सुल्टो सोचले सबैलाई समान सुख उन्नति र सुखी जीवन दिने छ । उल्टो विश्वको गति सुल्टो हुने छ । सुल्टो सोच...”
सबै प्रमुखअतिथीहरू जीवनमा पहिलो पल्ट बेजोडले ताली बजाउँदै उत्साह,आनन्द र खुसीको हाँसोभित्र डुबिरहेका थिए । हिनता, हेयपन, घृणा हिंसाजस्ता युद्धका उत्पतिकारकहरू उनीहरूको मनबाट सदाकालागि अलप । पहिलोपल्ट  मनमा शान्तिले बास मस्नासाथ सामुहिकसामुदायिक प्रेममय भईसकेका उनीहरू सब प्रसन्न...
 सबैलाई समान छहारी दिने सुल्टो सोच, सुल्टो कार्यहरू... सुल्टो पध्दत्ति ! युद्धको उल्टो बाटो छोडेर विश्व शान्ति सुख समृद्धिको सुल्टो गतिमा ! सब प्रसन्न...

२०७९कार्तिक २८,२९







बिसौनीमा

सम्बोधन
(लक्ष्मी राईको सम्झनामा ..)

तिमीले जन्माएका साश्वत माया प्रेम— स्याहार्नु छ
तिमीले रोपेका सुन्दर पूmल बिरुवा विचार— गोडमेल गर्नु छ
तिमीले स्याहारी सम्भालीरहेको मायालु ‘म’....स्याहार्नु सम्भाल्नु छ
सबैभन्दा मुस्किल... तिमी सम्झि रुने मन बुझाउनु छ !

सुन्दर सप्तरङ्गी रङहरूले सजाएथ्यो मलाई
प्रेम गगनमा साथ साथ उडाएथ्यो मलाई
अझै मुटुमा  छौ बस्छौ  
नौरङ्गी जीवनमा  पनि साथ दिन्छौ  साथ साथ छौँ 
असीम मायाले भिजाउने तिमी अजर अमर अजम्बरी छौ !!

तिमी निर्मित प्रेम सागरमा पौडिरहन सकूँ
पखेटा काटिए पनि तिमी निर्मित प्रेम गगनमा उड्न सकूँ
तिमीले छाडेका थालेका अधुरा सपना पूरा गर्न सकूँ 
(तिम्रै साथ पाएर तिम्रो लागि मुस्कुराउथे, हाँस्थेँ)
तिमी सम्झि (तिमी नभएपछि हाँस्ने कसरी ?) अझै धेरै  रुन सकूँ 
नौरङ्गी जीवन जे जसरी नि भोग्दै बेहोर्दै जीवनको बिट मार्न  सकूँ !!!
                    




लेखकिय भनाइ


जीवनको अन्तिम कालखण्डमा प्रायजसो सबै भोगियो कि भनेझैँ लागेपनि कति भोगिएकै हुँदोरहेनछ । फेरि भोगेपछि सुनाउन मन लाग्दो रहेछ । यो लधुकथासङ्ग्रह पनि जीवनको बिट मार्ने क्रममा बाँचेको मैले अनुभूत गरेका कुराहरू नै हुन् ।
जीवनको अन्तिम कालखण्डमा जीवनको बिट मार्ने क्रममा बाँचेको मैले यति धेरै असंख्य मानिसहरूसँग सहकार्य गरेँ, साथसाथ बिताएँ । मलाई सुखदुःखमा साथ दिने ती  सबैप्रति धन्यवाद, आभार र कृतज्ञता प्रकट  गर्दछु । दिवङ्गतहरूप्रति हार्दिक भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दछु ।
अझै मेरा केही कृतिहरू अधुरा अवस्थामा नै छन् । पूरा गर्न कोसिस गर्ने छु नै  । सकिनँ भने पनि सन्तोषै मान्ने छु  यसकारण कि मेरा प्रकाशित कृतिहरूमार्फत मैले भन्नुपर्ने धेरै कुराहरू प्रायजसो भनिसकेको छु । जय जीवन ! जय साहित्य !

 




सरण राईको परिचय 


 



नाम ः सरण राई   पुरा नाम ः सरण कुमार राई बान्तावा रूपाबुङ, (सामेत–छाङछावा), सेवा निवृत सह प्राध्यापक (त्रि. वि.) एवं साहित्यकार
जन्म स्थान ः छिनामखु, भोजपुर, (हाल–टेम्केमैयु गाउँपालिका)
जन्म मिती ः २००४ चैत २४, सोमबार (इश्वी सन १९४८अप्रिल ५) तिथी ११
शिक्षा  ः एम.ए. (अर्थशास्र)
ठेगाना ः १९÷१३९, धनकुटेरोड, धरान, प्रदेश नं. १,  नेपाल
पत्नी ः स्व.लक्ष्मी राई चामलिङ हमराछा, जन्म–२०१० असार २९, आइतबार (इश्वी सन          १९५३ जुलाई १२) तिथी १, जन्मस्थान– खार्ताम्छा, दिक्तेल, विवाह–२०३४ फागुण २२, स्वार्गरोहण– २०७५ मङ्सिर २५, मङ्गलबार, (सुमेरु अस्पताल, धापाखेल,ललितपुर) सामेत–सिवीली, पितामाता–स्व.कटकबहादुर राई र स्व. रानीमाया राई बाजे–         स्व.गजुरमान राई भाईबुहारी– स्व.लोकराज राई र सप्तलछी राई, मुलुकराज राई र कुमारी राई, कमलराज राई र सञ्जिता राई बहिनी— दुर्गा राई
माता पिता ः शिवमाया राई बान्तावा रुछेनबुङ र स्व.मछिन्द्रबहादुर राई (जन्म ः बि.सं. १९८१–३–१६–७ , छिनामखु, भोजपुर, मृत्यु ः २०५७–३–३–७, सिलगुढी, दार्जिलिङ ÷ पल्टनको नाम र नम्बर — तिलकबिक्रम राई, ९०४८२, इश्वी सन १९४१ डिसेम्बर २५ देखि १९४७)
बाजे बोजु ः स्व. ह. कुलमर्दन राई र स्व.कृष्णकुमारी राई
परिवार ः
छोरा बुहारी– शैलेश राई र  अन्जना राई चामलिङ मुल्याछा, सायन राई र कौशीला राई गुरुङ, सृजनसरण राई र चन्द्रकला राई 
नातिनातिनी– सामना राई, साञ्जिना राई, सच्चेन्द्र राई, शुभेन्द्र राई, सेलिन राई,   
बहिनी ज्वाई– शुदेशा राई बोहोरा र देबेन्द्र बोहोरा, बिजयालक्ष्मी राई गुरुङ र शिवकुमार गुरुङ, 
भान्जाभान्जी र ज्वाई– अनु बोहोरा डि.सी. र बीरेन्द्र डि.सी, इन्दिरा बोहोरा, डा.दिवशराज बोहोरा र अस्मिता बोहोरा, अमृत गुरुङ र सम्झना राई गुरुङ, सुबिधा गुरुङ.
नोकरीः 
(१)प्रधानाध्यापक–त्रिभुवन धर्मोदय नि.मा.विद्यालय, छिनामखु, भोजपुर(२०२६) 
(२) प्रधानाध्यापक–अरनिको नि.मा.विद्यालय, राजघाट, मोरङ(२०२७) 
(३)अनुसन्धान सहायक–आर्थिक विकास तथा प्रशासन केन्द्र, कीर्तिपुर (२०३०–२०३१)
(४)सह प्रध्यापक– त्रिभुवन विश्वविद्यालय (२०३१–२०६४)
राजनैतिक संलग्नताः 
(१) केन्द्रीय सदस्य–अ.ने.रा.स्व.वि.यु.(२०२६–२०२८) 
(२) सभापति– नेपाल प्राध्यापक संघ, महेन्द्र वहुमुखी क्याम्पस एकाइ समिति, धरान (२०४२–२०४३) 
(३) केन्द्रीय सदस्य– नेपाल प्राध्यापक संघ, (२०४४–२०४५)
(४) जिल्ला समिति सदस्य–ने.क.पा.(माक्र्सवादी) सुनसरी जिल्ला समिति (२०४७)
(५) राष्ट्रिय पार्षद– ने.क.पा.(माले) (२०५६–२०५९)
(६) सचिव– ने.क.पा.(माले) जिल्ला समिति (२०५८)
(७) सदस्य– ने.क.पा.(एमाले) जिल्ला समिति (२०५८–२०६२) 
(८) सदस्य– ने.क.पा.(एमाले) अञ्चल सल्लाकार समिति, कोशी(२०६३–२०६९)
(९)  सदस्य– केन्द्रीय सल्लाकार समिति, संघिय समाजवादी फोरम (२०७०– २०७५ ), जनता समाजवादी पार्टी (२०७८—२०७९) 
(१०) सदस्य– केन्द्रीय सल्लाकार समिति, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) (२०७९देखि हालसम्म )

सामाजिक संघ सस्थामा संलग्नताः
(१)सचिव– प्रगतिशील लेखक संघ सुनसरी जिल्ला समिति, (२०२४–२०२६)
(२)सदस्य–नेपाल चेस्ट क्लिनिक (२०३४)
(३)अध्यक्ष– जनहित युवा वमात (२०३७–२०३९)
(४)सचिव– नेपाल जनजाति उत्थान मञ्च (२०४६–२०४८)
(५ अध्यक्ष – नेपाल जनजाति उत्थान मञ्च (२०४८–२०६०)
(६) केन्द्रीय सदस्य– किरात राई यायोक्खा (२०४९–२०५२)
(७) केन्द्रीय सदस्य–नेपाल आदिवासी जनजाति महासंघ (२०५०–२०५२) 
(८)उपाध्यक्ष–सुनसरी जिल्ला समिति, नेपाल बुद्धिजिवी परिषद (२०५४–२०५४)
(९)सदस्य– साहित्य अनुसन्धान परिषल–नेपाल (२०५८–  २०७९,हाल– सल्लाहकार)
(१०)सदस्य–छनोट समिति, बि.पी.स्वास्थ विज्ञान प्रतिस्ठान (२०६१–२०६३)
(११) केन्द्रीय उपाध्यक्ष–नेपाल लोकतान्त्रिक किरात राई संघ (२०६४–२०६६)
(१२) अध्यक्ष –कञ्चनजङ्घा इन्स्टीच्युट अफ हेल्थ साइन्सेज (२०६५–२०६९)
(१३) अध्यक्ष –बिहानी प्रकाशन सहकारी संस्था लि.(२०६४–२०६९)
(१४) केन्द्रीय अध्यक्ष– किरात बान्तावा (राई) भाषा तथा संस्कृति उत्थान प्रतिस्ठान ( किरात राई बान्तावा खिम)(२०६९–२०७४)

प्रकाशित  पुस्तकहरू –
१.केही कथा केही कविता (सहलेखनं)२०३९  
२.साथी  (निबन्ध सङ्ग्रह)२०६४ 
३.मानव संसार (उपन्यास) २०६५ 
४.अन्तिम स्वीकारोक्ति (कथा सङ्ग्रह ) २०६६, (साझा प्रकाशनबाट प्रकाशित) 
५.ओइलिने फूल (कविता  सङ्ग्रह )  २०७०
६.उडान युवा मनको  (इन्टरनेटमा मात्र प्रकाशित पहिलो नेपाली उपन्यास– इन्टरनेटमा  नै एक लाखभन्दा बढि मानिसहरूले हेरिसकेको ) 
जततउस्ररकबचबल(चबष्।दयिनकउयत।अयmर  
७.अन्तिम आयाम (कथा सङ्ग्रह), २०७४, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
८. नौरङ्गी (लघुकथा सङ्ग्रह) २०७६, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
९.फुली (कथा सङ्ग्रह), २०७७, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
१०. ऋयलतझउयचबचथ ल्भउबभिकभ क्जयचत क्तयचष्भक द्यथ क्बचबल च्बष् (सरण राईका अङ्ग्रेजीमा अनुदित कथाहरू)
जततउकस्ररलभतष्ति।िदयिनकउयत।अयmर

११.बाटाभरि ओइलिरहने पूmल (उच्छ्वास कविता सहितका कवितासङ्ग्रह),२०७८, प्रकाशक शैलेश राई, सायन राई र सृजन सरण राई,(०२५ ५२०७४२) प्रमुख वितरक, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
१२.नौरङ्गी फुली  (१०२ लघुकथा सङ्ग्रह) २०७९ (हातमा)


पुरस्कारः—
१.राष्ट्रिय शिक्षा पुरस्कार (२०४७)
२. त्रि.वि. दिर्घ सेवा पदक (२०५८) 
३. भानु रचना पुरस्कार—२०७१ (भानु वर्ष ५१, अङ्क १७८  मा प्रकाशित कथा ‘आमाको मन’ का लागि)
४.बबरसिंह थापा स्मृति सम्मान (२०७७)
 
सम्मान अभिनन्दन
१ं नेपाल प्राध्यापक संघ, महेन्द्र ब। क्याम्पस एकाइ समिति, धरान (२०६३ं) अभिनन्दन
२. त्रि.वि. प्राध्यापक संघ, महेन्द्र ब. क्याम्पस, एकाइ समिति, धरान (२०६४) अभिनन्दन
३.कवि बिमल गुरुङ स्मृति पुस्तकालय (२०६६) अभिनन्दन 
४. नेपाल बुद्धिजीवी परिषद, सुनसरी (२०६६) अभिनन्दन
५.नेपाल प्रगतिशील प्राध्यापक संघ, पूर्वाञ्चल  (२०६६) अभिनन्दन
६.सुनसरी साहित्य परिषद (२०६७) अभिनन्दन
७. लक्ष्मी वाचनालय, धरान (२०६८) अभिनन्दन
८.जनसाहित्यिक मञ्च, नेपाल (२०६८) अभिनन्दन
९.किरात राई पत्रकार संघ, सुनसरी जिल्ला समिति (२०६८) अभिनन्दन
१०.प्रबोध, मासिक पत्रिका (२०६८) अभिनन्दन
११.प्रगतिशील लेखक संघ नेपाल, सुनसरी शाखा (२०६९) अभिनन्दन
१२.पीण्डेश्वर बिद्यापीठ, धरान (२०६९) अभिनन्दन
१३. श्यामराज दुब्देङहाङ्ग राई स्मृति प्रतिष्ठान, किरात व्याक्तित्व सम्मान (२०६९) 
१४. समिट उच्च मा. वि., धरान (२०७०) अभिनन्दन
१५.धरान साहित्य महोत्सव समारोह समिति ( २०७१)  
१६. कवि शिरोमणि साहित्य–साधना समाज, धरान (२०७१) अभिनन्दन
१७.धरान प्रज्ञा प्रतिस्ठान—अभिनन्दन (२०७८)

Email: rai,saran50@gmail.com
मोबाइल–ं९७७  ९८४२०५५२६२







 








Comments